‘चिया खाएर छुट्टिन सकिन्थ्यो, हतार र अप्रत्याशित किसिमले छापामार शैलीमा पार्टी विभाजन’: विवेकशील साझा

‘चिया खाएर छुट्टिन सकिन्थ्यो, हतार र अप्रत्याशित किसिमले छापामार शैलीमा पार्टी विभाजन’: विवेकशील साझा

50003286_740476559667000_171864477854072832_n

काठमाण्डौ, १ माघ । विवेकशील साझा पार्टीले उज्ज्वल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको छ । दुई दिनसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सूर्यराज आचार्यले थापा समूहले हतार र अप्रत्याशित किसिमले छापामार शैलीमा पार्टी विभाजन गरेको बताए ।

साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल भएको बताइएको छ ।

१६, १७ महिनासम्म सँगै यात्रा गर्दा पनि आफूहरु सबैसँग घुलनशील हुन नसकेको रहेछ भनेर यस घटनाले देखाएको उनको भनाई छ । पार्टीका एक संयोजकसहित १६ जना केन्द्रीय सदस्य छापामार शैलीमा पार्टी छाडेर गएको भन्दै उनले थपे ‘पार्टी एकतादेखि नै हामी एकअर्कामा घुलमिल हुन सकेनौं, तेल र पानी घुलनशील नभएजस्तै ।’

विश्वासको संकटले गर्दा पार्टी फुटसम्म पुगेको निष्कर्ष विवेकशील साझाको छ। निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि मात्रै आफूहरुले पार्टी विभाजन भएको जानकारी पाउनु निकै दुखद रहेको उनको भनाई छ ।

पार्टी फुटले आफूहरुलाई धेरै पाठ सिकाएको भन्दै उनले अब कुनै पनि केन्द्रीय समिति विस्तार गर्दा वा कुनै समूहसँग एकता गर्दा विचार, राजनीति, राजनीतिक चरित्र लगायतका बारेमा गम्भीर भएर अगाडि बढ्नु पर्ने रहेछ भन्ने बुझाएको बताए ।

‘पार्टीमा विश्वासको संकटको संकेत पहिलेदेखि नै थियो,’ उनले भने, ‘हामीले व्यवस्थापकीय रुपमा सम्बोधन गर्ने प्रयास पनि गर्यौ तर राजनीतिक रुपमा सम्बोधन गर्न नसक्दा यो नियति भोग्नुपर्यो ।’

पार्टी फुटले आफूहरुलाई हतास नभई अझ बढी दृढ बनाएको भन्दै उहाँले यो यात्रालाई दोब्बर उर्जा र आकांक्षाका साथ अघि बढाउने प्रतिबद्धता जनाए । ‘यो सेलेब्रेसन गर्ने समय होइन । यो अप्रिय घटना नै हो । पीडा त पक्कै हुन्छ । तर हतास छैनौँ । बरु दृढ बनेका छौँ । पाठ सिकेर अघि बढ्छौँ ।’

अंकगणितीय राजनीति जानेनौं

प्रदेश ३ मा रहेका तीन सांसदमध्ये विवेकशील साझामा एक जना छन्। केन्द्रीय समिति विस्तार गरेर अंकगणितीय खेल नखेलेको दाबी उनले गरे।

केन्द्रिय समितिको बैठक कुरेमा नयाँ सदस्य थप हुँदा आफू अल्पमतमा पर्ने ठानेर बैठक अघि नै पार्टीबाट अलग्गिएको भन्ने कुरा आयो नि भन्ने प्रश्नमा उनले आफूहरुले कहिल्यै पनि बहुमत र अल्पमतको कुरा नगरेको भन्दै अल्पमत र बहुमतको खेल नसिक्ने र सिक्न पनि नखोज्ने बताए ।

आफूहरुले राजनीतिक रुपमा दुष्ट्याइँ गर्न नसकेकाले उनीहरुलाई कारबाही नगरेको पनि प्रवक्ता आचार्यले प्रष्ट पारे । ‘बहुमत र अल्पमतको खेल खेल्नु थियो भने एक साता अघि नै एक संयोजक रहेका उज्ज्वल थापालाई हामीले कारबाही र्गथ्यौँ होला, उहाँले पार्टीको विधि मिच्नुभएको थियो, हामी प्रदेश सांसद र १६ जनालाई कारबाही गरिदिने थियौं’, आचार्यले भने । आफूहरुले वैकल्पिक अराजनीति गर्न पार्टी खोलेको नभई वैकल्पिक बन्न नै पार्टी खोलेको बताए ।

एजेन्डा मिल्ने अन्य दलसँग पार्टी एकताः

विवेकशील साझा पार्टीले एजेन्डा मिल्ने अन्य दलसँग पार्टी एकता गर्ने बाटो खुला रहेको बताएको छ । प्रवक्ता सूर्यराज आचार्यले एजेन्डा मिल्ने दलसँग पार्टी एकता र विभिन्न आन्दोलनमा सहकार्य हुने बताए। ‘पार्टी एकता गर्न उदार र खुला छौं,’ आचार्यले भने, ‘पार्टी ठूलो बनाउनेतर्फ मात्रै हाम्रो ध्यान छैन, वैकल्पिक राजनीतितर्फ प्रतिवद्ध छौं।’

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा आचार्यले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीसँग एक हुने भन्ने टुङोमा आफूहरु अहिले नै नपुगेको बताए । तर वैकल्पिक राजनीतिक अभ्यास गर्ने जो कसैसँग एकताका लागि ढोका खुल्लै रहेको पनि उनले बताए । तर एकता हुने दलको ऐतिहासिक पृष्ठभूमिबारे विवेकशील साझा सतर्क रहेको उनको भनाइ छ।

‘हामी वैकल्पिक राजनीतिको संवाहक बन्ने सवालमा कोही कसैसँग पनि एकता गर्न तयार छौँ, तर पुरानो पार्टीसँग मिसिएर वा पुरानो सोच भएकाहरुसँग मिसिएर उनीहरु जस्तै बन्न होइन ।’

विभिन्न विभागका संयोजक तोकिए

यूवा र महिला संगठन निर्माण विवेकशील साझाले अब्दुस मियाँको संयोजकत्वमा विवेकशील साझा युवा संगठन र सोभिता परियारको संयोजकत्वमा विवेकशील साझा महिला संगठन गठन गरेको छ। संयोजक मिश्रलाई विदेश विभाग र पार्टीका केन्द्रीय विभागको पुनर्गठन गर्दै नयाँ जिम्मेवारी तोकेको छ।

उमेद पुनलाई कोष संकलन, मुमाराम खनाललाई संगठन, किशोर थापालाई अभियान, सूर्यराज आचार्यलाई नीति तथा कार्यक्रम, केशव दाहाललाई प्रशिक्षण, किरणकृष्ण श्रेष्ठलाई सञ्चार, सामाजिक न्याय तथा समावेशीता प्रकाशचन्द्र परियारलाई, कानून निरुपमा यादव, उद्यमशीलता रमेश महर्जन, तथ्यांक राम साह, केन्द्रीय कार्यालयको प्रमुखमा मानवी पौडेललाई जिम्मेवारी तोकिएको हो।

प्रदेश संयोजक चयन पार्टीले केन्द्रीय समिति सदस्य समेत रहने गरी प्रदेश १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। महिला केन्द्रीय समितिमा सुदुर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई चयन गरेको छ।

महाधिवेशनको मिति तोकियो

बैठकले पार्टी फुटको समीक्षात्मक रिपोर्ट बनाउने जिम्मा पार्टी संयोजक रविन्द्र मिश्रलाई दिएको छ । साथै माघ १२ गते देशभरका प्रतिनिधिको राष्ट्रिय भेला बोलाइएको छ भने माघ तेस्रो साताबाट विशेष मधेस मिसन सञ्चालन गर्ने निर्णय भएको छ ।

केन्द्रीय समितिको बैठकले १५–१९ फागुन २०७६ मा महाधिवेशन गर्ने निर्णय समेत भएको छ ।

डा. गोविन्द केसीको मुद्धामा पूर्ण समर्थन

डा.गोविन्द केसीले उठाएका मुद्धा आम नेपाली नागरिकको हितमा रहेकाले उहाँको मुद्धा आफ्नो पार्टीको पनि मुद्धा रहेको बताए ।

पत्रकार सम्मेलनमा संयोजक नै पत्रकार दीर्घामा

पार्टी संयोजक रविन्द्र मिश्र दर्शक दीर्घामा बसे । पूर्व पत्रकार समेत रहेका उनीसँगै नेताहरु केशव दाहाल, मुमाराम खनाल लगायत पत्रकार दीर्घामै थिए । प्रवक्ता सहित प्रदेश संयोजकहरु, प्रदेश सांसद, केन्द्रिय महिला सदस्यहरु मंचमा थिए ।

के हुन्छ प्रदेशसभामा प्रतिनिधित्व ?

३ नम्बर प्रदेशसभामा विवेकशील साझा पार्टीका ३ जना सांसद छन् । पार्टी विभाजनपछि रमेश पौडेल र विराजभक्त श्रेष्ठ नवगठित विवेकशील नेपाली दलमा लागेका छन् भने शोभा शाक्य विवेकशील साझामै छिन् । यसबारेमा केन्द्रीय समितिले कुनै निर्णय नगरेको आचार्यले बताए ।

‘यसबारेमा हामी धेरै कुरा गर्न चाहँदैनौँ, निर्वाचन आयोगले जे भन्छ, त्यही हुन्छ’ उनको भनाइ थियो ।

विवेकशील साझा पार्टीले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ

प्रेस विज्ञप्ति

विवेकशील साझा पार्टीकेन्द्रीय समितिका निर्णयहरू

विवेकशील साझा पार्टीको पूर्व निर्धारित केन्द्रिय समितिको बैठक यही पौष ३० र माघ १ गते पार्टीको मुख्यालय बखुण्डोलमा बस्यो। हालै पार्टीमा देखा परेका समस्या तथा त्यसको राजनीतिक र सांगठनिक समाधानको लागि केन्द्रीय समितिको बैठकले कैयौं महत्वपूर्ण तथा दुरगामी निर्णयहरु गरेको छ। पार्टीभित्र देखिएका असामान्य गतिविधिले पुर्याएको निरन्तरको गत्यावरोध र अराजकतालाई चिरेर पार्टीलाई आजको अवस्थामा ल्याइ पुर्याउने नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण शुभेच्छुक, सदस्य तथा नेतृत्वदायी अभियानकर्ताहरुप्रति पार्टी हार्दिक आभार प्रकट गर्दछ।

हालै पार्टीको केन्द्रिय समितिबाट बाहिरिएका केही सदस्यहरुले उत्पन्न गरेको अन्योल र सिर्जना गरेको भ्रमबारे केन्द्रिय समितिले संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको छ। पार्टीका तात्कालिक एकजना संयोजकले नियोजितरुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रिय समितिको बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रकृया शुरू गरेको देखिन्छ। यो केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल गर्ने एजेण्डा पूर्वनिर्धारित थियो।

केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। साथै हाम्रा सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरको मूल्यांकन पनि गरियो। तर पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा भने केही अन्यौल उत्पन्न भएकोले त्यसलाई यथासिघ्र चिर्नको लागि पार्टीका विभिन्न तहमा विविध कार्यक्रमहरु सम्पन्न गर्ने निर्णय गरिएको छ।

१. आगामी २०७६ साल फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा विवेकशील साझा पार्टीले  भव्यताका साथ पहिलो महाधिवेशन गर्नेछ।

२. विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी संगठनमा भूमिका र मताधिकारलाई सुनिश्चित गर्न स्पष्ट व्यवस्था गरिनेछ। साथै, विदेशमा रहेका सबै नेपालीहरूलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने छ।

३. पार्टीले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। र, अनिल भेटवाल पार्टीको विधान अनुसार पदेन केन्द्रिय सदस्य समेत हुनुभएको छ। (संक्षिप्त परिचय तल दिइएको छ)

४. पार्टीले केही महिनाअघि देशका सातै प्रदेशबाट प्रदेशको सिफारिशमा एकरएकजना महिला केन्द्रीय समितिमा चयन गर्न लिएको निर्णय अनुसार सुदूर पश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ। (संक्षिप्त परिचय तल दिइएको छ)

५. पार्टीमा युवा तथा महिला सहभागितालाई प्रबर्धन गर्न र तिव्रता दिन ’विवेकशील साझा युवा संगठन’ र’विवेकशील साझा महिला संगठन’ गठन गर्ने र तिनको संयोजकमा क्रमश: पार्टीको केन्द्रीय सदस्य अब्दुस मियाँ तथा पार्टीकी केन्द्रीय सदस्य सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरेको छ। पार्टीले पेशागत र व्यावसायीक भातृ संगठन भने निर्माण नगर्ने प्रतिबद्धतामा पुन जोड दिएको छ।

६. पार्टीमा देखापरेका पछिल्ला चुनौतिहरु र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ ११  गते काठमाडौंमा देशभरीका पार्टी प्रतिनिधि सदस्यहरु सहित “विवेकशील साझा राष्ट्रिय सन्देश भेला”को आयोजना गर्ने निर्णय गरेको छ। साथै माघ १२ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझा: अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गरिने छ।

७. पार्टीका केन्द्रिय विभागहरुको पुर्नगठन र जिम्मेवारीको वाँडफाँड गरिएको छ, जसअनुसार कोष संकलन (डा उमेद पुन), संगठन (मुमाराम खनाल), अभियान (किशोर थापा), नीति तथा कार्यक्रम (डा सूर्यराज आचार्य),प्रशिक्षण (केशव दाहाल), सञ्चार (किरणकृष्ण श्रेष्ठ), सामाजिक न्याय तथा समावेशिता (प्रकाशचन्द्र परियार), कानून (निरूपमा यादव), उद्यमशीलता (रमेश महर्जन), तथ्यांक (राम साह), केन्द्रीय कार्यालय (मानवी पौडेल)  तथा विदेश विभाग (रवीन्द्र मिश्र) ले सम्हाल्ने छन्।

८. पार्टीले केही महिनाअघि शुरू गरेर बीचमा अवरूद्ध भएको संगठन विस्तार तथा प्रशिक्षण अभियानलाई पुन जिल्ला स्तरबाट क्रमशः स्थानीय तहसम्म पुर्याउने छ।

९. पार्टीले मधेशको भावना, चाहाना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेश्रो हप्तादेखि विशेष ‘मधेस मिसन’ सञ्चालन गर्नेछ।

केन्द्रीय नेतृत्वमा जोडिएका नयाँ साथी तथा आंगिक संगठनका नेतृत्वकर्ताहरूको संक्षिप्त परिचय:

अनिल भेटवालसंयोजकप्रदेश नं १:

सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम उमेर (२९ वर्ष) मा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बन्नुभएको थियो। हाल पनि उहाँ जेसिसको देशव्यापी प्रशिक्षक भएका कारण प्रदेश १ का सबै जिल्लाहरूमा उहाँको परिचयको राम्रो सञ्जाल छ। झण्डै ६ वर्ष सपरिवार अमेरिका बसेर सन् २००८ मा सधैंको लागि नेपाल फिर्ता आउनुभएका भेटवाल झापाका एकजना उद्यमी पनि हुनुहुन्छ।

सुशिला केसी अधिकारी (गण्डकी प्रदेश)केन्द्रीय सदस्य

अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएकी अधिकारी पोखराको पिनाकीन होटलको संचालक तथा निर्देशक,एउटा बोर्डिङ्ग स्कुलको संस्थापक निर्देशक, पौलिनी कृषी फार्म (चितवन) को संचालक, लायन्स क्लब अफ सेती गण्डकी, पोखरा, तथा सामिप्य समाज नेपालकी पूर्व अध्यक्ष हुनुहुन्छ।

सरस्वती पन्थी भुसाल (प्रदेश ५)केन्द्रीय सदस्य

भुसाल बुटवलस्थित गुरास अस्पतालकी अध्यक्ष, मलिका होमियोप्याथिक अस्पतालकी व्यवस्थापक निर्देशक तथा मनिउजेस बुटवल लायन्स क्लबको उपाध्यक्ष हुनुहुन्छ। उहाँ प्रदेश ५ बाट विवेकशील साझाकी समानुपातिक उमेदवार पनि हुनुहुन्थ्यो। उहाँको खासगरी स्वास्थ्य सेवासँग सम्वन्धित परोपकारी गतिविधिमा विशेष रूची छ।

शैलु श्रेष्ठ (सुदूर पश्चीम प्रदेश)केन्द्रीय सदस्य

एयर राइफल शुटिङ्गमा नेपालको अन्तराष्ट्रि प्रतिनिधित्व गर्नुभएकी पूर्व राष्ट्रिय खेलाडी, कैलाली उद्योग वाणिज्य संघकी पहिलो महिला सदस्य, पूर्व शिक्षिका, नेवास् देय् दबुको जिल्ला कोषाध्यक्ष तथा महिला उद्यम प्रशिक्षक श्रेष्ठ विवेकशील साझा पार्टी, कैलालीकी एकजना नेता पनि हुनुहुन्छ।

सोभिता परियारसंयोजकविवेकशील साझा महिला संगठन:

पार्टीकी केन्द्रीय सदस्य तथा देशभरी महिला सशक्तिकरण, सुशासन र जवाफदेहिताका क्षेत्रमा प्रशिक्षकका रूपमा काम गर्नुभएकी सोभिता परियारले देशको लगभग सबै जिल्लामा समुदायमैं बसेर काम गर्नुभएको छ। बन तथा बातावरण विज्ञानमा स्नातकोत्तर परियारले विपन्न समुदायमा पुर्याएको योगदानका लागि डाक्टर अब्बेदकर सेवाश्री पुरस्कार प्राप्त गर्नुभएको छ।

अब्दुस मियासंयोजकविवेकशील साझा युवा संगठन:

पार्टीका केन्द्रीय सदस्य, युवा उद्यमी, परचित उत्प्रेरक २५ वर्षीय अब्दुस मिया राजनीति शुरू गर्नुअघि युवाहरूको संगठन युथ इनिशिएटिभका निर्वा्चित अध्यक्ष हुनुहुन्थ्यो। उहाँले शुरू गर्नुभएको लिडरशिप कर्नर तथा ओरेटर्स हाउस युवाहरुमाझ लोकप्रिय छ। नेपाल तथा विदेशका कयौं युवा सम्मेलनमा प्रमुख वक्ता बनिसकेका मियालाई धेरै युवाहरू प्रेरणाका रूपमा हेर्ने गर्दछन्।

प्रवक्ता

डा सूर्यराज आचार्य

विवेकशील साझा पार्टी

०१ माघ २०७५

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ