छाब्दीबाराही मोटरमार्गको कालोपत्रे बर्खाअघि नै सकिने, एउटै सडकमा ३ तहका सरकारको लगानी

छाब्दीबाराही मोटरमार्गको कालोपत्रे बर्खाअघि नै सकिने, एउटै सडकमा ३ तहका सरकारको लगानी

Chhabdi Marga Baikalpik

छाब्दी मार्ग पिच गर्ने कार्यको सुरुवात हुदै गर्दा छाब्दी मन्दिर दर्शन गर्न आउने तिर्थयात्रीहरुलाई सहज यातायातको व्यवस्थापनका लागि वैकल्पिक सडक निर्माण कार्यको निरिक्षण गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडा नं १३ का वडाअध्यक्ष लेख बहादुर राना ।

किरण श्रेष्ठ, तनहुँ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्गको बुधबार देखि ग्राभेल सुरु गरिएको छ । उक्त मार्ग कालोपत्रेका लागि संघीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका छन ।

पहिलो चरणमा संघीय सरकारले बिनियोजन गरेको बजेटबाट काम तिब्र गतिमा भईरहेको छ । उक्त सडकखण्डमा दैनिक ४० जना कामदारले काम गरिरहेका छन ।

संघ र प्रदेश बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमन्ड कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ भने ब्यास नगरपालिकाको ठेक्का जिएस कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ ।

दमौलीदेखि छाब्दीसम्मको कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले १ करोड ८४ लाख रुपैयाँ, संघीय र प्रदेश सरकारले १–१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

३ वटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको ३ किलोमिटर खण्डमा कालोपत्रे गर्न काम शुरू भएको छ । कालोपत्र गर्नु अघि सडकमा अहिले ग्राभेलको काम भईरहेको छ ।

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले छाब्दीमार्गलाई उच्च प्राथमिकतामा राखेर बर्खा शुरू हुनु अगाडि नै कालोपत्रे सकिने गरी काम गरिने बताए ।

पहिलो चरणको काम शुरु

दमौलीबाट छाब्दीतर्फ जाने पहिलो खण्डमा संघीय सरकारले विनियोजन गरेको १ करोड रुपैयाँबाट पक्की कटिङ, ड्रेन, नाला निर्माण र ७९० मिटर सडक कालोपत्रे गर्ने कामको शुरूवात स्वरूप ग्राभेल सुरु भएको डायमन्ड कन्स्ट्रक्सन प्रालि दमौलीका आरसी पौडेलले बताए ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १ करोडबाट छाब्दीबाट दमौलीतर्फ आउने ७६० मिटर सडकमा पक्की नाला निर्माणसहित सडक चौडा र कालोपत्रेको काम शुरू गर्ने तयारी गरिएको छ ।

यसैगरी ब्यास नगरपालिकाले विनियोजन गरेको १ करोड ८४ रुपैयाँ बजेटबाट भड्खलादेखि गौंडाको पहराको पूर्वतर्फको उकालोसम्म १ हजार ३२० मिटर सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ ।

व्यास नगरपालिकाले यो मार्गलाई नगरस्तरीय मार्गको रुपमा छनोट गरी कालोपत्रेका लागि बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।

एउटै सडकमा ३ तहका सरकारको लगानी

तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि संघीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका छन ।

सडकलाई ३ खण्डमा विभाजन गरेर ३ तहको सरकारले विनियोजन गरेको रकमले कालोपत्रेको काम शुरू भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटै आयोजनालाई तीन सरकारले बाँडेर आ–आफ्नो तरिकाले काम गर्ने लागेकोले अब छिटै कालोपत्रेको काम सकिने बताए ।

वडाले बनायो छाब्दी जाने वैकल्पिक बाटो

त्यस्तै व्यास नगरपालिका वडा नम्बर १३ ले प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्गको वैकल्पिक बाटो बनाएको छ । वडाले व्यास नगरपालिका संग समन्वय गरेर वैकल्पिक बाटो निर्माण गरेको हो ।

सर्वसाधारण र स्थानिय लाई सजिलो होस् भनेर वैकल्पिक बाटो बनाइएको व्यास-१३ का वडा अध्यक्ष लेख बहादुर रानाले बताए । भड्खलाको बिमलेचौतारा देखि सैसतीसम्म २.४ किलोमिटर वैकल्पिक बाटो खोलिएको वडाअध्यक्ष रानाले बताए ।

सडक निर्माण कार्यमा बाधा नपुगोस भनेर वैकल्पिक बाटो बनाइएको वडाअध्यक्ष रानाले बताए । ४ दिन देखि वैकल्पिक बाटो संचालनमा आएको छ ।

गत वैशाख ४ गते देखि ६ दिनका लागि छाब्दी वाराही जाने सडक अवरुद्ध भएको थियो । सडक कालोपत्रे गर्ने काम जारी राख्न छाब्दि मार्ग अवरुद्ध भएको थियो । भड्खला देखि गौंडाको पहराको पूर्वतर्फको उकालोको काम भईरहेको र वैकल्पिक मार्गको व्यवस्था नगरपालिकाले गर्न नसकेकोले छाब्दी मार्ग अवरुद्ध पारेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds