तनहुँको भानुमा नरभक्षी चितुवाको आतंक : चितुवा नियन्त्रणमा लिन जंगलमा फलामे खोर

तनहुँको भानुमा नरभक्षी चितुवाको आतंक : चितुवा नियन्त्रणमा लिन जंगलमा फलामे खोर

Bhanu Chituwa ra Khor

किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्र आसपासमा आतंक मच्चाइरहेको नरभक्षी चितुवालाई अझै नियन्त्रणमा लिन सकेको छैन । गत शुक्रबार एक हप्ताअघि बस्तीमा पसेर आतंक मच्चाएको चितुवा लाई नियन्त्रणमा लिन अझै सकेको छैन ।

चितुवा रुखमा पनि चढ्ने गरेकाले नियन्त्रणमा लिन अप्ठेयारो परेकाले अब खोर थापेर नियन्त्रणमा लिनुपर्ने अवस्था आएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए । चितुवाको आतंक फैलिँदा स्थानीय भने त्रसित भएका छन् ।

स्थानीयका अनुसार अहिले चितुवाका कारण स-साना बालबालिका बाहिर निस्कन समेत डराइरहेको अवस्था छ । साधारण जातका यस्ता चितुवा नेपालमा संरक्षित वन्यजन्तुमा भने पर्दैनन् ।

भानु नगरपालिका क्षेत्रभित्र विशेष गरी २, ३, ४, ५, ९, ११ लगायतका सबै वडामा चितुवाले पटक/पटक आक्रमण गरी मानिसहरुको ज्यान लिने, घाइते बनाउने र गाउँवस्तिमा प्रवेश गरी पशुपन्क्षी खाएर जनमानसमा त्रास फैल्याउने गर्दै आएको छ ।

उक्त गतिविधी नियन्त्रणका लागि भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नरभक्षी चतुवालाई नियन्त्रण वा मार्न जिल्ला प्रशासन कार्यालय तनहुँ लाई अनुरोध समेत गरेको उनले बताए ।

‘जिल्ला प्रशासन कार्यालयमा कि त तपाईहरु नियन्त्रण लिनुस वा मार्नुस नभए हामि आफ्नै तरिकाले गर्छु भरुवा बन्दुक फिर्ता गर्नुस भनेर अनुरोध गरेको छु ।’ नगरप्रमुख गौलीले भने,’नगरबासि सचेत भएर बस्नुहोला।’ बिहिबार प्रमुख जीला अधिकारि संग छलफल संगै पत्र समेत बुझाएको नगरप्रमुख गौलीले बताए ।

जिल्ला प्रहरी कार्यालयले उक्त क्षेत्रमा प्रहरीको बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले बताए । ‘अहिले बर्खाको समय भएको कारण झाडी बढ्ने भएको हुँदा घर नजिकै चितुवा आउँदा समेत देख्न गाह्रो हुन्छ’, एसपी सिलवालले भने ‘जंगलमा आहारा नभेटेपछि घर तिर घर पालुवा जनावर खोज्दै आउँदा साना बालबालिका लाई समेत चितुवाले आक्रमण गरेको हो ।’

अहिले मुख्य भानुको २,३ र ४ नम्बर वडामा सुरक्षा गस्ती गरिरहेको उनले बताए । हतियार सहित प्रहरी परिचालन रहेको र चितुवा लाई गोलि हान्ने आदेश प्रमुख जिल्ला अधिकारि बाट प्राप्त भईसकेको उनले बताए ।


भानुमा चितुवाको त्रास बढ्यो

भानु नगरपालिकामा चितुवाको त्रास बढेको छ । चितुवाको आक्रमणबाट गत शुक्रबार १ जना बालिकाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएको स्थानीय बताउछन ।

गत २०७५ कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । उक्त घटना भएको १७औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

त्यस्तै २०७५ मङ्सिर १ गते नै भानु नगरपालिका–२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए । गत कात्तिक देखि हालसम्म ४ जनाले ज्यान चितुवाले लिईसकेको छ ।


चितुवाको आहारा मानिसले मारेर खाईदिदा

चितुवाको आहारा मानिसले मारेर खाईदिने गरेकोले आहाराको खोजीमा मानव वस्तिमा चितुवा पसेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । अन्य वन्यजन्तु जंगलमा नभएपछि आहारको खोजिमा चितुवा गाउँ तर्फ आउने गरेको उनले बताए ।

अहिले उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी , जनपथ र डिभिजन वनका कर्मचारी गरि ३० जनाको टोलिले सर्च अप्रेसन गरिरहेको बरालले बताए ।


दुई वटा बाख्रा सहितको फलामे खोर र फुट ट्रयाप

फरक-फरक स्थानमा दुई वटा फलामे खोर राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । दुइवटा खोर बनाइ बाख्रा सहितको पासो थाप्ने काम गरिए गरिएको छ ।

पासोको रुपमा उक्त फलामे खोर राखिएको बरालले बताए । अहिले सम्म खोरमा चितुवा नपरेको कारण दैनिक रुपमा स्थान परिवर्तन गरिएको बरालले बताए ।

त्यस्तै जंगलको विभिन्न ठाउँमा फुट ट्रयाप समेत राखिएको बरालले जानकरी दिए । फुट ट्रयापको मदतले चितुवाको खुट्टा अल्झिने र चितुवा नियन्त्रणमा लिन सहज हुने उनले बताए । दिनरात चितुवा नियन्त्रणमा लागेको बराल बताउछन ।

९ वर्षिया बालिकाको मृत्यु

गत जेष्ठ २४ गते शुक्रबार साझ ७:१५ बजेको समयमा तनहुँको भानु नगरपालिका वडा नम्बर २ भकुण्डोथोककी वर्ष ९ की पुष्पा अधिकारीको चितुवा आक्रमणबाट मृत्यु भएको थियो ।

घर देखि अन्दाजी ५ सय मिटर घरमाथिको खरबारीमा अधिकारी मृत अबस्थामा फेला परेको थियो । अधिकारी विश्वज्योति प्राविको कक्षा २ मा अध्ययनरत थिइन ।


नरभक्षी चितुवा लाई गोलि हानि मार्ने आदेश

स्थानिय प्रशासन ऐन २०२८ अनुसार दफा ९ को उपदफा ४ अनुसार प्रमुख जिल्ला अधिकारीले बाघ, चितुवा वा अन्य हिंस्रक जनवारले आफ्ना जिल्लाभित्रका कुनै ठाउँमा दुःख दिएको कुरा नगरपालिका वा गाउँपालिकाले प्रतिवेदन गरेमा सो जनावरलाई मार्न लगाई छाला एवं शरीरका अन्य भाग सम्बन्धित वन कार्यालयमा बुझाइदिन वा “नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले” निर्देशन दिए बमोजिम गर्नु पर्दछ ।

सोहि ऐन अनुरुप र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नरभक्षी चितुवामा गोलि हानि मार्ने आदेश प्रहरी लाई दिएको प्रमुख जिल्ला अधिकारि रुद्र प्रसाद पण्डितले बताए ।


बालिकाको परिवारलाई १० लाख राहत दिइने, तत्काल ५० हजार दिईयो

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी ९ बर्षिया बालिका पुष्पा अधिकारीको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत रकम प्रदान गरेको छ । डिभिजन वन कार्यालय तनहुँले तत्काल ५० हजार राहत प्रदान गरेको हो ।

मृतककी आमा दुर्गा अधिकारीलाई तत्काल ५० हजार प्रदान गरेको बताउँदै डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्ने बताएका छन् । उनका अनुसार पीडित परिवारलाई १० लाख रुपैँया क्षतिपूर्ति उपलब्ध गराइनेछ ।

टोलवासीको आर्थिक सहयोग

चितुवाको आक्रमणमा परि ज्यान गुमाएकि पुष्पा अधिकारीको परिवारलाई मनकामना टोल विकास संस्था र मनकामना आमा समुह भानु नपा २ को संयुक्त पहलमा नगद १० हजार ७ सय रुपैयाँ सहयोग गरिएको स्थानिय नेकपा नेत्रि ओमकुमारी पौडेलले बताइन ।

अधिकारिको परिवारको अवस्था आर्थिक रूपमा असाध्यै नाजुक रहेका छन् । दिवङ्गत पुष्पा अधिकारीकी आमा दुर्गा अधिकारीलाई उक्त रकम बुधबार हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ