तनहुँमा बालबालिका मार्ने चितुवा मृत फेला

तनहुँमा बालबालिका मार्ने चितुवा मृत फेला

FB_IMG_1547447355764

तनहुँ । भानु नगरपालिकाको विभिन्न वडाबाट बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा आइतबार मृत अवस्थामा फेला परेको छ ।

भानु नगरपालिका–२ स्थित देउराली सामुदायिक वनमा नरभक्षी भाले चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।  दमाैलीबाट कृष्ण न्याैपानेले समाधान दैनिकमा लेखेका छन् ।

चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ३ बालबालिकाको मृत्यु भएको थियो । चितुवा नियन्त्रणका लागि मंसिर १५ गतेदेखि टोली परिचालन भए पनि चितुवा नियन्त्रणमा लिन सकिएको थिएन ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले मृत अवस्थामा फेला परेको चितुवा सोही नरभक्षी चितुवा रहेको पुष्टि गरे । उनले भने, ‘सिसी क्यामरामा कैद भएका तस्बिरका आधारबाट बालबालिकालाई आक्रमण गर्ने चितुवा सोही रहेको पुष्टि भएको छ ।’

चितुवा नियन्त्रणका लागि वन क्षेत्रमा सिसि क्यामरा जडान गरी जंगलको विभिन्न स्थानमा पासो समेत थापिएको थियो । साथै चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले जंगलमा फुट ट्रयाप समेत राखेको थियो । चितुवा नियन्त्रणका लागि दैनिक रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालयको कर्मचारी र स्थानीय मानिसहरु वन क्षेत्रमा परिचालित थिए ।

चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ