दसैँ भुलेर अलैँची टिप्न र सुकाउनमै व्यस्त लमजुङका किसान : ‘दसैँभन्दा अलैँची महत्वपूर्ण’

दसैँ भुलेर अलैँची टिप्न र सुकाउनमै व्यस्त लमजुङका किसान : ‘दसैँभन्दा अलैँची महत्वपूर्ण’

alainchi tiipdai

श्यामशितल परियार, लमजुङ । अहिले गाउँठाउँमा दसैँको रौनक छ । तर लमजुङका अलैँची उत्पादक किसानहरुलाई भने अलैँची टिप्ने, सुकाउने चटारो छ । लमजुङमा सबैभन्दा बढि अलैँची उत्पादन हुने ठाउँ हो, छिनखोला ।

यत्तिबेला यहाँका अलैँची उत्पादक किसानहरु दसैँको रमझमलाई चटक्कै भुलेर अलैँची टिप्न र सुकाउन जुटेका छन् । मस्र्याङ्दी गाउँपालिका–७, मा पर्ने छिनखोलामा दसैँको कुनै चहलपहल छैन । अलैँची लगाएको खेतबारी र जंगलमा अलैँची टिप्ने र अलैँची भट्टीमा अलैँची सुकाउनेको भीड देख्न सकिन्छ ।

अलैँची सुकाउनका लागि गाउँमा सुधारिएका अलैँची भट्टी समेत निर्माण गरिएको छ । दसैँको रमझममा भुल्नुभन्दा पनि समयमै अलैँची टिप्न र सुकाउन नसकिए ठूलो नोक्सान ब्यहोर्नुपर्ला भन्ने चिन्ता छ, यहाँका अलैँची उत्पादक किसानहरुलाई ।

‘रोगकिरा र वन्यजन्तलुे अलैँची सखाप पार्न सक्छन्’

‘दसैँभन्दा महत्वपूर्ण हाम्रा लागि अलैँची बनेको छ, एकदिनमात्रै अलैँची टिप्न ढिलाई भए किसानलाई ठूलो नोक्सान हुनसक्छ । विभिन्न रोगकिरा र वन्यजन्तलुे अलैँची सखाप पार्न सक्छन् । त्यसैले सबै गाउँलेहरु दसैँ भुलेर अलैँची टिप्न र सुकाउनमै व्यस्त छन्,’ अलैँची उत्पादक किसान अजय तामाङले बताए ।

उनका अनुसार १६ सय २२ सय मिटर उचाईसम्म लगाईएका अलैँची टिप्न किसान जुटेका हुन् । जिल्लाका कतिपय ठाउँका किसानहरुले दसैँ अघि नै अलैँची टिपिसकेका छन् । सुकाईसकेका छन् । ‘१६ सय देखी २२ सय मिटर उचाईसम्म रहेका जमिनमा लगाईएको अलैँची पोकेको छ ।

पाकेको अलैँची टिप्न हामी व्यस्त छौँ,’ खर्कखोलामा रहेको आफ्नो अलैँची बगानमा अलैँची टिप्नमा व्यस्त रहेका अजयले भने ।

२० हेक्टर क्षेत्रफल जमिनमा अलैँची

उनका अनुसार छिनखोलामा मात्रै २० हेक्टर क्षेत्रफल जमिनमा अलैँची लगाईएको छ । यहाँ गोलशाही र रामशाही जातका अलैँची लगाईएको छ । स्थानीयका अनुसार गाउँमा अलैँची खेतीको विस्तार र विकाससंगै दसैँ मनाउने चलन हराउँदै गएको छ ।

यो समयमा छिट्टै अलैँची टिपी सुकाउन सके गुणस्तर कायम हुन सक्ने किसानहरु बताउँछन् । ‘टिपेको एक दुई दिनमै अलैँची सुकाउन सके गुणस्तर कायम हुन्छ । मूल्य राम्रो पाईन्छ । त्यसैले पनि किसानहरु अलैँची टिप्न र सुकाउनमै व्यस्त छन्,’ नेपाल अलैँची व्यावसायी महासंघ लमजुङ शाखाका अध्यक्ष समेत रहनुभएका अजयले बताए ।

उनका अनुसार कार्तिक मसान्तभित्रै अलैँची बिक्रीका लागि तयार हुन्छ । अलैँची टिप्ने र सुकाउने काममै सबै व्यस्त रहेको छिनखोलाकै अर्का व्यावसायिक अलैँची उत्पादक कृषक शुलबहादुर तामाङले बताए ।

‘दिनमा सबै अलैँची थन्क्याउनमै व्यस्त हुन्छन् । दसैँको बेला हो रातमा भने केही रमाईलो गरिन्छ । अरु बेला अलैँची टिप्न सुकाउनमै व्यस्त हुन्छौँ’ उनले बताए ।

कुल ५२ घरधुरी रहेको छिनखोलाका सबै घरधुरीले अलैँची रोपेका छन् । अलैँची खेतीमा युवाहरुको समेत आकर्षण बढ्दै गएको छ । दसैँमा पनि अलैँची टिप्न र सुकाउनमा व्यस्त हुन पाउँदा स्थानीय खुशी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ