तनहुँको डुम्रे बजार अबदेखि सीसीटीभी क्यामेराको निगरानीमा

तनहुँको डुम्रे बजार अबदेखि सीसीटीभी क्यामेराको निगरानीमा

CCTV Dumre1

तनहुँ । तनहुँको डुम्रे बजारमा सीसीटीभी क्यामेराबाट निगरानी थालिएको छ । पृथ्वी राजमार्गमा पर्ने लमजुङ, मनाङ र गोरखाका अधिकांश भागको प्रवेशबिन्दु बजारको सुरक्षा बढाउनका लागि भन्दै तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाईले सीसीटीभी जडान गरेको हो ।

क्यामेराको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले डुम्रे बजार मात्र नभएर समग्र राजमार्ग र आसपासका क्षेत्रको सुरक्षाका लागि सीसीटीभीले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाको प्रवेशबिन्दूका अलावा मनाङ, लमजुङ, गोरखा र पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने केन्द्र भएका कारण डुम्रेमा रहेका क्यामेराले समग्र सुरक्षा निगरानीका लागि सघाउने उनले बताए ।

प्रहरी उपरीक्षक विनोद शिलवालले क्यामेरा जडानपछि प्रहरीलाई सुुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सीसीटीभीको स्थापनाका लागि बजार एकाईप्रति आभार प्रकट गर्दै सुरक्षा व्यवस्थापनमा यसको उपयोग गरिने बताए ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले व्यवसायिक सुरक्षाको कर्तव्य सम्झेर बजारका व्यवसायीले सीसीटीभी स्थापना गरेको भन्दै प्रशंसा गरे । उनले क्यामेराको निगरानी नहुँदा विगतमा ठूला घटना हुँदा समस्या परेकामा अब हट्ने अपेक्षा गरे ।


तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले दमौलीमा आफ्नो नेतृत्वमा बजार एकाईले सीसीटीभी स्थापना गरिएको स्मरण गर्दै त्यसयता ठूला घटना दुर्घटनामा प्रहरीलाई अनुसन्धानमा मद्दत पुगेको बताए । उनले सीसीटीभीको सुरक्षा र सञ्चालनमा व्यवसायीको साथ निरन्तर आवश्यक पर्ने बताए ।

बजार एकाईका सभापति नेकमहमद मियाँले सवारी साधन र यात्रुको धेरै चहलपहल हुने भएकाले डुम्रे बजारमा सुरक्षा र निगरानीका लागि क्यामेरा जडान गरिएको बताए ।

बजारमा १५ वटा क्यामेरा जडान गरिएको छ । क्यामेराको नियन्त्रण कक्ष प्रहरी चौकी डुम्रेमा राखिएको छ । क्यामेरा जडान भए पनि ब्याकअप भने नभएका कारण विद्युत जाँदा रेकर्ड गर्न नसकिने देखिएको छ ।

एकाईका सचिव राम जोशीले थप श्रोत खोजेर विद्युत जाँदा पनि रेकर्ड हुने व्यवस्था मिलाउने बताए । एकाईले बन्दीपुर गाउँपालिकासहित व्यवसायीबाट संकलित चन्दा गरी ७ लाख २३ हजार रुपैयाँमा क्यामेरा स्थापना गरिएको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ