फेवा नवबर्ष महोत्सव महिलाले गरे बहिष्कार, पुरुष मात्रै स्टेजमा ! आयोजकको ढंग पुगेनः मुख्यमन्त्री

फेवा नवबर्ष महोत्सव महिलाले गरे बहिष्कार, पुरुष मात्रै स्टेजमा ! आयोजकको ढंग पुगेनः मुख्यमन्त्री

Fewa Nawabarsa

पोखरा । नयाँ वर्षको छेकोमा पोखरामा दुई महोत्सव हुन्छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराले सडक महोत्सव आयोजना गर्छ । जुन महोत्सव सन् २०१९ को आगमनसँगै २० औं संस्करण सम्पन्न भइसकेको छ । अहिले नेपाली नयाँ वर्षका अवसरमा पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सव आयोजना गरेको छ । यो १६ औं संस्करण हो । महोत्सव शुक्रबारदेखि लेकसाइडको कोमागाने पार्कमा सुरु भएको छ ।

आयोजकले दुई दर्जन बढी अट्ने मञ्चमा सबै पुरुषलाई मात्र आसन ग्रहण गराएपछि महिलाहरु आक्रोशित बने । नबनुन् पनि किन ? हरेक महोत्सव अघि विविध झाँकी सहितका र्याली निकालिन्छ । जहाँ ९० प्रतिशत बढी महिलाकै सहभागिता रहन्छ । महिलाहरु र्यालीमा हिँडाएर महोत्सव स्थल पुगेपछि पलेटी कसाउँदै बसाएर दर्शकको संख्या बृद्धि गर्न मात्र होइन भन्ने आयोजकलाई ख्याल हुनुपर्ने हो ।

फेवा महोत्सवको उद्घाटन समारोह नै महिलाहरुले बहिष्कार गरिदिए । मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा उनकै अगाडि मञ्चबाटै महिलाहरुले बहिष्कार गर्ने उद्घोष गर्दै असन्तुष्टि जनाए । दुई दर्जन सिटमा सबै पुरुष अनुहार थिए, स्टेजमा महिला उपस्थिति शुन्य थियो ।

आयोजकले मञ्चमा आसन ग्रहणको त कुरै छाडौं, समूहको नाम समेत नलिएकोमा उनीहरुको चर्को गुनासो रह्यो । एक्कासी सांस्कृतिक प्रस्तुतिका लागि बोलाइएपछि मञ्चमा पुग्ने मौका मिल्नासाथ प्रगतिशिल आमा समूहकी अध्यक्ष विष्णु केसीले मुख्यमन्त्रीकै अगाडि भनिहालिन् – ‘हामी माथि यत्रो अपमान ? आधा आकाश भन्ने अनि यस्तो ? हामी कठपुतली होइनम्, आयोजकले प्रयोग मात्र गरे । हामीलाई आयोजकले सम्मान दिएन । अन्त कति सम्मान गर्छन्, घरदैलोमै यस्तो अपमान ? अपमान सहेर कार्यक्रममा बस्नुपर्छ भन्ने छैन, सबै दिदीबहिनीलाई यस कार्यक्रम बहिष्कारका लागि अनुरोध गर्दछु ।’

स्टेज अगाडि भरिएर बसेका महिलाहरु त्यसपछि पालैसँग बाहिरिन थाले । स्थानीय क्षेत्रको प्रतिधित्व गर्ने सांसद राजिव पहारीले मञ्चबाटै अनुनय विनय गरे । ‘म तपाईंहरुकै भाइ, तपाईंहरुकै छोरो, आफ्नै कार्यक्रम हो । सँगै सुत्दा खुट्टा लाग्छ । कमजोरी भयो, सरसल्लाह गरौंला । आवेगमा नआइदिनुहोला ।’

आधा घण्टा जति कार्यक्रम बिथोलियो । आयोजकले माफी मागेपछि महिलाहरु फर्किए र मुख्यमन्त्रीको भाषणसम्म पर्खिए ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई यस कुराले निकै छोएको उनको अभिव्यक्तिबाट बुझिन्थ्यो । उनले भनिहाले – म यसलाई आयोजकको ढंग नपुगेको भन्छु । अरु कार्यक्रममा सधैं महिला, दलित, अपांगता भएका व्यक्तिहरुको सहभागिताबारे बुझ्थेँ । आफ्नै ठाउँको भनेर वास्ता गरिनँ, मेरो दुर्भाग्य …

पर्यटकीय क्षेत्र भएकाले पनि नेपाली नयाँ वर्ष महोत्सव भन्दा अंग्रेजी वर्षमा आयोजना हुने सडक महोत्सवमा पोखरेली ओइरिन्छन् । नेपाली नयाँ वर्षभन्दा अंग्रेजी नयाँ वर्षमा महोत्सव धुमधाम हुने कारण अब फेवा नववर्ष महोत्सवलाई नै विशेष बनाउनुपर्ने जनस्तरमा आवाज पनि नउठेको होइन । सडक महोत्सवमा ४–५ दिनसम्म लेकसाइडको सडकमा सवारी चल्न नै बन्द गरेर नागरिकको अधिकार हनन गरिएको, रक्सीको विज्ञापन भएको भन्दै आलोचना हुँदै आएको छ । आयोजकले बल्ल आतशवाजी रोकेको छ, अरु समस्या ज्यूँका त्यूँ छन् । सबैले साथ दिनुपर्ने फेवा नव वर्ष महोत्सव पनि आयोजककै कारण यसरी विवादित बन्न पुगेको छ।

महोत्सव सुरु, तीन दिनमात्रै चल्ने

पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ सुरु भएको छ । महोत्सव आइतबारसम्म चल्ने छ । संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

मुख्यमन्त्री गुरुङले प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी रहेको बताए । पोखरामा एक हजार भन्दा बढी जना अट्न सक्ने ठूलो क्षमताको सभाकक्ष आबश्यकता भएको भन्दै उनले पोखरा क्षेत्रमा धेरै शैया भएको ठूलो अस्पतालको समेत जरुरत परेको भनाई राखे ।

लेखनाथको पचभैयामा चिडियाखाना निर्माण, पोखरामा दुई आधुनिक बसपार्कको विकास, दुई बर्ष भित्रमा पोखरा–कोरला मार्ग कालोपत्रे गर्ने र प्रदेशस्तरीय बहुसांस्कृतिक ग्रामको निर्माण गर्ने जस्ता शोच र कामहरु समेत प्रदेश सरकारले अगाडि बढाउन लागेको सो अवसरमा मुख्यमन्त्रीले सुनाए । फेवा तालको संरक्षणको लागि १० करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको भन्दै उनले दुई बर्ष भित्र पोखरामा नयाँ विमानस्थल निर्माण कार्य सकिने र त्यसले प्रदेशको समृद्धिमा बल पुर्याउने भनाई राखे ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले फेवा ताल लगायतका तालको संरक्षणप्रति आफ्नो विशेष चासो रहेको स्मरण गराउँदै लेकसाइडलाई २४ घण्टा नै खुलाउने विषयमा छलफल आबश्यक रहेको भनाई राखे । लेकसाइड मात्र पर्यटकीय क्षेत्र होइन भन्दै उनले समग्र गण्डकी प्रदेश नै पर्यटकीय क्षेत्र भएको भनाई राखे । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा काठमाडौं जोड्ने पृथ्वीराजमार्गलाई ४ लेनको बनाउन जरुरी रहेको भनाई राखे ।

सो अवसरमा पोखरा महानगर वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारी, प्रगतिशिल आमा समूहकी अध्यक्ष विष्णु केसी र नेपाल पत्रकार महासंघ कास्कीका सभापति दिपेन्द्र श्रेष्ठले पनि भनाई राखेका थिए । कार्यक्रमका अवसरमा होटल संघद्वारा प्रकाशित टेवल क्यालेण्डर विमोचन गरिएको थियो ।

संघका अध्यक्ष विकल तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक लक्ष्मण सुबेदीले धन्यवाद ज्ञापन र संघका महासचिव गणेशराज पहारीले सञ्चालन गरेका थिए । उद्घाटनका अवसरमा आयोजित झाँकी प्रतियोगितामा कूल ३६ समूहले प्रतिस्पर्धा गरेका थिए । महोत्सवकै अवसरमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ