पोखरामा लाश सड्न नदिने फर्मालिन प्रयोग भएको तीन क्विन्टल माछा जफत

पोखरामा लाश सड्न नदिने फर्मालिन प्रयोग भएको तीन क्विन्टल माछा जफत

fish sale

पोखराका पसलबाट अनुगमन टोलीले फर्मालिन प्रयोग भएका तीन क्विन्टल माछा जफत गरेको छ । मानव शवलाई सड्न नदिनका लागि प्रयोग गरिने फर्मालिन माछामा पाइएकाले जिल्ला अनुगमन समिति कास्कीले जफत गरी नष्ट गरेको हो ।

अनुगमनमा सहभागी उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाका अनुसार सोमबार र मंगलबार गरिएको अनुगमनका क्रममा ८ वटा पसलबाट तीन क्विन्टल माछा जफत गरेको हो । पृथ्वीचोकमा रहेका ८ वटा माछा पसल अनुगमनका क्रममा केहीमा यस्तो पाइएपछि व्यवसायीलाई तीन दिनभित्र जिल्ला प्रशासनमा उपस्थित हुन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले बताए । नयाँ पत्रिका दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ ।

फर्मालिन प्रयोग भएको माछाबाट स्वास्थ्यमा असर

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा. केदार पाण्डेका अनुसार फर्मालिन भनेको शवलाई सड्न नदिन प्रयोग गरिने ‘केमिकल’ हो । यसबाट ‘मानोडिहाड’ भन्ने ग्यास उत्पन्न हुन्छ । यो ग्यास मानव शरीरका लागि अत्यन्तै घातक हुन्छ । ‘फर्मालिनमा राखिएको माछा खाँदा लिभरमा बस्ने र त्यसले क्यान्सरको सिकार बनाउँछ,’ उनले भने, ‘किड्नी ड्यामेज, जडिन्स आदि पनि हुन्छ, यसले जिनेटिक शक्तिलाई समेत नष्ट गराउँछ ।’ उनका अनुसार फर्मालिनकोे मात्रा बढी प्रयोग भएमा मानिसको ज्यानै जान सक्छ ।

छिटो कुहिने भएकैले माछा संक्रमण फैलाउने वस्तुका रूपमा लिइन्छ । पोखरामा बेच्न राखेका माछामा झिँगासमेत लाग्दैन । पोखराका बासिन्दा झिँगाले पनि बस्न आँट नगर्ने केमिकलयुक्त माछा खाइरहेका छन् । यहाँका कतिपय पसललेले फेवा, बेगनास वा सेती, मर्दीबाट ल्याइएको भन्दै जनकपुर र अझ भारतका विभिन्न भागबाट ल्याएको भन्दै बिक्री गरिरहेका छन् ।

समुन्द्रपार गरेरसमेत आउने माछा ल्याउन प्रयोग गरिने आइसका कारणभन्दा पनि फर्मालिनकै प्रयोगका कारण ताजा रहने गरेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला प्रमुख डा. पाण्डे दाबी गर्छन् । उनले पोखरामा तराईका जिल्लाबाट क्यानमा दूध ल्याएर बेच्नेहरूले समेत फर्मालिन प्रयोग गरेको पाइएको बताए । एक क्यान दूधमा एक थोपा फर्मालिन मिसायो भने दूध नफाट्ने उनले बताए ।

के के भेटियो अनुगमनमा

गण्डकी प्रदेशको राजधानी पोखरामा चाडपर्वका अवसरमा उपभोक्ता ठगिन नदिन जिल्ला अनुगमन समितिले अनुगमनलाई तीव्रता दिएको छ । यहाँका खाद्यान्न पसल, मासु, माछा, तरकारी तथा फलफूल र अन्य उपभोग्य सामग्री बिक्री हुने स्थलमा अनुगमनलाई तीव्रता दिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले आवश्यकताअनुरूप अनुगमन जहिले पनि हुनेमा चाडबाडमा उपभोक्ता ठगिन नदिन झनै तीव्रता दिएको बताए ।

अनुगमनका क्रममा कतिपय फ्रेस हाउसमा फ्रिज नै नरहेको पाइएको छ । मरेका माछा फ्रिजबाहिर यत्तिकै राख्दा डेढ दुई घन्टाबाट गनाउन सुरु हुने अनुगमनमा सहभागी पशुविज्ञ ठगेन्द्र अर्यालले बताए । कतिपय पसलले नापतौलको इकाइ नवीकरण नगरेको, फोहोर व्यवस्थापन नगरेको, सेतीमा सीधै फोहोर मिसाइएको र मरेका माछा र जिउँदा माछा एकै स्थलमा राखेको पाइएको छ । कतिपयले दर्तासमेत नगरी पसल चलाएको पाइएको अनुगमनमा सहभागी जिल्ला खाद्य निरीक्षण इकाइ कास्कीका खाद्य निरीक्षक भूमिका प्रधानले बताइन् ।

यस्तो भेटिएका पसलमध्ये केहीलाई सचेत गराइएको, सडेगलेको, कुहिएको, फर्मालिन प्रयोग भएका माछा नष्ट गरिएको, सरसफाई कायम राख्न सचेत गराइएको र ३ दिनभित्र प्रशासनमा जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ । खाद्यान्न पसलमा लेबलिङ नगरिएका र लेबलमा उल्लेखित म्याद नाघेकालाई जफत गरी नष्ट गरिएको छ । मूल्यसूची नराखेकालाई राख्न भनिएको उपभोक्ता मञ्चका अध्यक्ष कोइरालाले बताए ।

को को छन् अनुगमनमा

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृतको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, नापतौल तथा गुणस्तर कार्यालय, पोखरा महानगर, पशुविज्ञ केन्द्र, खाद्य निरीक्षण कार्यालय, पोखरा उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च र प्रहरी प्रतिनिधिको सहभागिता रहने गरेको छ ।

सर्वोच्चको आदेश कार्यान्वयन भएन

सर्वोच्च अदालतले गत फागुनमा नै फर्मालिनको प्रयोग रोक्न परमादेश जारी गरेको थियो । अधिवक्ता राजकुमार राना र चक्रलाल श्रेष्ठले फर्मालिन प्रयोगका कारण आमउपभोक्ता विषादी हालेको माछा खान बाध्य भएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले परमादेश जारी गरेको थियो ।

आमउपभोक्ताको स्वस्थ माछा खान पाउने हक भएकाले माछालाई ताजा बनाउने नाममा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने विषादी प्रयोग नगर्न सर्वोच्चले परमादेश जारी गरेको हो । तर, अहिले पनि फर्मालिन प्रयोग गरिएका माछा खुलेआम बिक्री हुने गरेको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds