लमजुङका किसानलाई ६ महिने आईपिएम पाठशाला: किसान भन्छन्, ‘आईपिएम विधिबाट खेती गर्दा उत्पादन बढ्छ’

लमजुङका किसानलाई ६ महिने आईपिएम पाठशाला: किसान भन्छन्, ‘आईपिएम विधिबाट खेती गर्दा उत्पादन बढ्छ’

IPM programme (2)

श्यामशितल परियार, लमजुङ । लमजुङमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) पाठशाला सञ्चालन गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीमा ६ महिने आईपिएम पाठशाला सञ्चालन गरिएको हो ।

मस्र्याङ्दी आईपिएम कृषक पाठशालाको आयोजना, कारितास नेपालको सहयोग, वातावरण कृषि तथा सामुदायिक अनुसन्धान केन्द्र (ईकोडिआरसी)को सञ्चालनमा पाउँदीमा पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा स्थानीय १५ महिला र १२ पुरुष गरी २७ जना कृषकले सहभागिता जनाएका थिए ।

आईपिएम पाठशालाकी प्रशिक्षक पुष्पा मिश्रका अनुसार स्थानीय श्रोत–साधनको उपयोग गरी आईपिएम विधिबाट खेती गर्न सकिन्छ । यस विधिबाट खेती गर्दा किसानलाई आर्थिक भार पर्दैन । थोरै जग्गामा धेरै उत्पान गर्न सकिन्छ । उत्पादनमा वृद्धि भई खाद्य सुरक्षा बढ्छ । ‘त्यसैले हामीले किसानहरुका माझ आईपिएम पाठशाला सञ्चालन गरेका हौँ,’ उनले बताए ।

तालिममा सिकेको ज्ञान, सीपलाई किसानले व्यवहारमा उतारी खेतीपाती गरेको खण्डमा रासायनिक मलको प्रयोग घट्छ । स्थानीय श्रोत–साधनको उपयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ । मिश्रका अनुसार ६ महिनाको अवधिमा पाठशालामा सहभागी भएकाहरुलाई खेती गर्दा नर्सरी, रोपाईँ, सरा, दूरी, जातीय, पात काट्ने, गाँझ काट्ने परीक्षण लगायतका विषयमा जानकारी गराईएको छ । किसानलाई झोल मल, बोकासी मल बनाउने तरिका समेत सिकाईएको छ ।

‘झोल मल तयार गर्न ३ महिना लाग्छ । बोकासी मल १५ दिनमै तयार हुन्छ । बिरुवामा लाग्ने रोग किरालाई झोल मलले नियन्त्रण गर्छ । बोकासी मलले खाद्य वृद्धिमा सघाउ पुर्याउँछ,’ प्रशिक्षक मिश्रले भने । स्वस्थबाली उत्पादन, शत्रुजीवको व्यवस्थापन, मित्रुजीवको संरक्षण, बालीको नियमति अवलोकन, बजारमुखी उत्पादन, किसानलाई दक्ष बनाईनु आईपिएमको सिद्धान्त रहेको मस्र्याङ्दी आईपिएम कृषक पाठशालाका अध्यक्ष शिवकुमार पोखरेलले बताए । ‘यसै अनुसार किसानलाई आईपिएम विधिबारे जानकारी गराएका छौँ,’ उनले भने ।

माकुरा, गाईनेकिरा, आँखाफोर, भ्यागुता, स्त्रीभावका खपटे, मौरी, सिम्ले, बागे, खपटे टिके, खपटे गड्यौँला, लामो सिंगे फट्यांग्रा र सर्प बालीनालीका लागि मित्रुजीव रहेको पाठशालामा किसानलाई जानकारी गराईएको छ । बालीनालीका लागि रातो खपटे, छोटो सिंगे फट्यांग्रा, झुसिलकिरा, फड्के किरा, पतेरो, गवारो, लाही, काँडे खपटे, पुतली, मुसा शत्रुजीव रहेकोबारे जानकारी गराईएको छ ।

शत्रुजीवको व्यवस्थापन तथा मित्रुजीवको संरक्षण गरी खेती गर्नुपर्ने ज्ञान पाठशालामा सिकेको र त्यसै अनरुप कृषि कर्म गर्ने तालिममा सहभागी किसान राजु पोखरेलले बताए । पाउँदीमा सञ्चालित आईपिएम पाठशाला सोमबार समापन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ