लमजुङमा खानेपानीको नमूना परिक्षण गरिदैँ

लमजुङमा खानेपानीको नमूना परिक्षण गरिदैँ

kahnepani aayojana lamjung (3)

श्यामशितल परियार, लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिकाभित्र रहेका पाँच ठूला खानेपानी आयोजनाका खानेपानीको नमूना परिक्षण गरिने भएको छ । खानेपानी आयोजनाले उपभोक्तालाई वितरण गरिरहेको पानीमा ‘कोलीफर्म’ छ÷छैन भन्नेबारे जानकारी लिन खानेपानीको नमूना परिक्षण गरिने भएको हो ।

सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाभित्र पर्ने सुन्दरबजार नगरपालिका १ कुन्छामा रहेको भाँगु खानेपानी आयोजना, वडा नं २ परेवाडाँडामा रहेको दारेगौँडा खानेपानी आयोजना, वडा नं ६ र ७ का नागरिकले उपयोग गर्दै आएको सुन्दरबजार खानेपानी आयोजना र वडा नं ६, खत्रीठाँटीमा रहेको ढोडेसिंह खानेपानी आयोजनाबाट वितरण भइरहेको खानेपानीको नमूना परिक्षण गरिने सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक निर्मल अधिकारीले जानकारी दिए ।

यस कार्यक्रमका लागि सुन्दरबजार नगरपालिका, स्वास्थ्य शाखालाई नेपाल सरकारबाट ५० हजार रुपैयाँ प्राप्त भएको छ । अधिकारीका अनुसार धेरै उपभोक्ताले पिउँदै आएको यी ठूला पाँच खानेपानीका आयोजनाका मुहान र ट्यांकीबाट वितरण भएको पहिलो धाराको पानी संकलन गरी परिक्षणका लागि स्वास्थ्य कार्यालय लमजुङमा पठाइनेछ ।

‘ल्यावमा पानी परिक्षण भएपछि प्राप्त रिपोर्ट सम्वन्धित खानेपानी आयोजनामा पठाइनेछ । पानीमा ‘कोलीफर्म’ लगायतका ‘ब्याक्टेरिया’ देखिए, यसको निराकरणका लागि खानेपानी आयोजनाले पहल गर्नेछन्,’ उनले भने, ‘शनिबार–आइतबारसम्म पानी सकंलन गरी स्वास्थ्य कार्यालय पठाउनेछौँ । एक दुई–हप्ताभित्र रिपोर्ट आउन सक्छ ।’

विभिन्न ‘ब्याक्टेरिया’ भएको पानी पिएमा विभिन्न रोगहरु लाग्न सक्ने शाखाका हेल्थ असिस्टेण्ट उमाकान्त न्यौपानेले बताए । उपभोक्ताले उमालेर, छानेर, सोडिस प्रविधि अपनाएर, क्लोरिनेसन गरेर पानी शुद्धीकरण गरि पिउन सक्नेछन् ।

खानेपानी आयोजनाको मुहान सफा राख्नुका साथै मापदण्ड पुर्याइ पानी प्रशोधन गरी खानेपानी आयोजनाले उपभोक्तालाई सफा ट्यांकीबाट पानी वितरण गर्नु आवश्यक रहेको पनि उनले बताए । उपभोक्ताले पनि धारा, पानी राख्ने भाँडो र पानी पिउने भाँडा सफा राख्नुपर्छ ।

सुन्दरबजार नगरपालिकामा हाल भाँगु खानेपानी आयोजना, दारेगौँडा खानेपानी आयोजना, सुन्दरबजार खानेपानी आयोजना र भोटेओडार–तार्दी खोला खानेपानी आयोजनाले प्रशोधिन पानी वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ