‘रोजगारीले खोस्यो, बुढेशकालको सहारा’

‘रोजगारीले खोस्यो, बुढेशकालको सहारा’

Keshav 1

अश्विन दानी, गोरखा । ‘घरमा बुबा—आमा बुढा हुनुहुन्छ । म घरको एक्लो छोरो, काम गरेर केही पैसा कमाउँछु र बा—आमालाई पाल्छु भनेर भारत गएको तीन महिनामै एउटा खुट्टा गुमाएँ’ आफ्नो काटिएको खुट्टा देखाउँदै भिमसेनथापा गाउँपालिका वडा नं. २ तान्द्राङका केशव लामिछानेले भने– ‘पैसा कमाएर बुढेशकाल लागेका बाउआमाको साहारा बन्छु भनेको अहिले आफैँलाई साहारा आबश्यक पर्ने भएको छ ।’

गोरखाको भिमसेनथापा गाउँपालीका घर भएका लामिछाने परीवारको आर्थिक स्थीती कमजोर भएकै कारण गोरखा सदरमुकाममा रहेका भिनाजुको घरमा बसेर कक्षा ११ मा अध्ययन गरीरहेका थिए । तर, घरको आयस्रोत अत्यन्तै न्यून भएपछि रोजगारी खोज्दै लामछिाने २०७५ सालको असार महिनामा भारतको पन्जाबमा पुगे ।

‘बुबा ७२ बर्ष अनि आमा ६७ बर्षको हुनु भयो । घरमा पैसा आउने ठाउँ अन्त कतै छैन’ लामिछानेले आँखाभरी आँसु पार्दै भने, ‘म ११ मा पढ्दा पढ्दै पैसा कमाउनका लागि भारतमा गत असारमा पुगे । त्यहाँ गएर काम सुरु गरेको तीन महिना मात्रै भएको थियो दुर्घटनामा परेर अहिले यो अबस्थामा छु ।’ रोजगारीको शिलशिलामा गत असारमा भारतमा पुगेका उनी कार्तिकमा दुर्घटनामा परी खुट्टा गुमाएपछि हाल गोरखा सदरमुकाममा रहेका आफन्तकै घरमा छन् ।

[bs-quote quote=”बुबाको पनि एउटा खुट्टा चल्दैन, आमा पनि दमको रोगी । घरमा उनी, उनका बृद्ध बा—आमा मात्रै छन् । बा—आमाले कमाउन नसक्ने भएपछि आफ्नो पढाई कक्षा ११ मा नै चटक्क छाडेर गएका उनी नै दुर्घटनामा परेपछि उनका सम्पूर्ण परिवार नै सहाराबिहिन बनेका छन् । ” style=”style-7″ align=”right”][/bs-quote]

दुर्घटनामा परेपछि घर परीवारले क्रृण खोजेर पठाएको पैसाले उपचार गरी नेपाल फर्कीएको बताउने उनलाई थप उपचारका लागि समस्या परेको लामिछानेको जेठा भिनाजु गंगा भट्ट बताउँछन् । ‘केशव दुर्घटनामा परेपछि हामीले नै यताबाट क्रृण खोजर पठाएको पैसाले भारतमा नै सामान्य उपचार गराएछि पुषको अन्तिम हप्ता तीर गोरखा ल्याएका हौँ’ उनले भने, ‘अहिलेसम्म उस्को उपचार खर्च करीब ६ लाख रुपैँया क्रृण लागि सकेको छ । अझै उपचार गराउनु पर्छ, बाँकी पैसा कताबाट जोहो गर्ने हो पत्तो छैन ।’

उनको बुबाको पनि एउटा खुट्टा नशाको रोगका कारण चल्दैन्, आमा पनि दमको रोगी । घरमा उनी, उनका बृद्ध बा—आमा मात्रै छन् । बा—आमाले कमाउन नसक्ने भएपछि आफ्नो पढाई कक्षा ११ मा नै चटक्क छाडेर पैसा कमाएर परीवारको साहारा बन्न गएका उनी नै दुर्घटनामा परेपछि उनका सम्पूर्ण परीवार नै सहाराबिहिन बनेका छन् । ‘बा—आमालाई कमाएर पाल्नुपर्ने छोरा म, आफु नै यो अबस्थामा छु’ उनले भने, ‘अब बा—आमालाई कस्ले पाल्ने ?’ रोजगारीका लागि भारत पुगेका उनलाई कम्पनीले पनि कुनै सहयोग नगरेको भन्दै उनले गुनासो गरे । ‘उपचारका लागि कम्पनीले पनि कुनै सहयोग गरेन’ उनले भने, ‘यदी मैले आफ्नो देशमा नै रोजगारी पाएको भएँ आज यस्तो अबस्थामा पुग्ने थिईन् होला ।’

‘छोराको खुट्टासँगै घरको साहारा गुम्यो’

‘म छोराकै लागि भनेर पोहोरसम्म त्यही भारतमा नै मजदुरी गरेँ’ लामिछानेको ७२ बुबाले आँखाको आँसु पुछ्दै भने, ‘बा— अब म ठूलो भएँ, तँपाईहरु कति दुख गर्नुहुन्छ ? अब म कमाउँछु तँपाई घरमा बसीबसी खानु भनेर भारत गएको छोरो डुडो भयो रे ! अब हामी कस्को साहारामा बाँच्ने ?’

केशव दुर्घटनामा परी अपाङ्ग भएको कुरा परीवारलाई थाहा भएपनि बा—आमा कसैले पनि उस्लाई देख्न समेत पाएका छैनन् । ‘छोराको खुट्टा काटिएको छ रे, देख्न समेत पाएको छैन्’ उनको आमाले भनिन्, ‘अब त छोरो कमाउन गाको छ । हाम्ले दुख गर्नु पर्दैन्, हाम्रो सुखको दिन आयो भनेर सोचेको थिएँ । तर, भगवानले हाम्रो खुसी धेरै समय देख्नै भाहेन । छोराको त्यो अबस्था भयो !’ आर्थिक अबस्था कमजोर भएका उनलाई खुट्टाको थप उपचारका लागि समस्या परेको उनी बताउँछन् ।

‘बा—आमाको बुढेशकालको साहारा भन्ने म नै थिएँ’ लामिछाने भाबुक हुँदै भने, ‘उहाँहरुकै लागि केही गर्छु भनेर पढ्ने मन हुँदाहुँदै काम खोज्दै गएँ । तर, खुट्टा गुमाएर फर्कनु पर्याे ।’ लामिछानेलाई सहयोग गर्न चाहनेले उनको NIC ASIA बैङ्कमा रहेको खाता नम्बर E787012085552401 मा सम्पर्क गर्न सक्ने छन् । तथा ९८१८०८७८५३ वा ९८६३३९२०१७ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ