पोखराको लेकसाइड: ‘बोत्तल हानाहान, केटी तानातान’

पोखराको लेकसाइड: ‘बोत्तल हानाहान, केटी तानातान’

Pokhara Lakeside Night View

पोखरा । ‘रातभर सुत्न सकिँदैन । एक प्रहर निँदाउन खोज्यो, हरेक रात कोलाहल छ । बोत्तल हानाहान र केटी तानतान हुन्छ,’ लेकसाइडवासी महिला उद्यमी पम्फा पहारीले आक्रोश पोखिन्, ‘यस्तो कहिलेसम्म ? चैनसँग सुत्न कहिले पाइन्छ ?’

पोखरा नेपालकै प्रमुख पर्यटकीय क्षेत्र हो । पोखराको पनि लेकसाइड पर्यटकीय केन्द्र मानिन्छ । तर यहाँ सञ्चालित डिस्कोथेक, डान्सबार र पवका कारण पछिल्लो समय वातावरण अराजक बन्दै गएकोमा लेकसाइडवासीको गुनासो बरोबर आउने गरेको छ । फेवाताल किनारमा शनिबार आयोजित एक कार्यक्रममा पहारीले अहिलेको युवापुस्ता बिग्रिँदै गएकोमा गुनासो समेत गर्दै शुक्रवार रातिकै यथार्थ घटना पस्कदै थिइन् ।

‘अरु दिनभन्दा शुक्रबार अझ सम्हालिनसक्नु हुन्छ, युवाजमात रक्सीले मात्तिएको हुन्छ’ उनले अगाडि भनिन्, ‘म गएराति २ बजेतिर त्यस्तै खालको भिडियो समेत खिचेकी छु । ३ बजे आएर सुत्न खोजें सकिनँ । मनमा कुरा खेलिरह्यो । ४ बजे निँदाएर २ घण्टापछि ६ बजे घरको कामले उठ्न परिहाल्यो । यसरी दैनिकजसो मात्र २ घण्टा सुतेर कसरी दिनभरको काम गर्न सकिन्छ ? हाम्रो शान्तिसुरक्षा खै ?’

यो समस्या आफ्नोमात्र नभई सबै प्रतिनिधि आवाज हो भन्दै उनले सो नियन्त्रणको माग गरिन् । सो विषयमा अन्य वक्ताको भनाइ पनि त्यसमै केन्द्रित भयो ।

पर्यटन व्यवसायी अग्नि कँडेलले पर्यटनका लागि पोखराको लेकसाइड ‘इपिसेन्टर’ हो भन्दै यहाँ आवश्यक शान्तिसुरक्षा र अमनचयनको वातावरण आवश्यक रहेको बताए । नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश संयोजक समेत रहेका कँडेलले यहाँ घुम्न आउने पर्यटकको हितको लागि पनि सरोकारवाला पक्षको बेलैमा ध्यानाकर्षण हुनुपर्र्ने बताए । उनले भने, ‘दशबीस करोडमात्र लगानी रहेको डान्सबार तथा डिस्कोकै कारण दशौं खर्ब लगानी रहेको यहाँको पर्यटन व्यवसाय धरापमा पार्न मिल्दैन ।’

पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले लेकसाइडमा हाल करिब १२ यस्ता डिस्कोथेक, डान्सबार र पव संचालन रहेकोमा आवश्यक मापदण्ड नपुगेको बताए । उनले ‘साउण्ड प्रुफ’ नभएको, अवान्छित गतिविधि हुने गरेको, रातिको समय सीमा पालना नगरेको टिप्पणी गरे । यसबारेमा आफूहरुले धेरै पटक प्रशासन गुहारे पनि समाधान नभएको बताए । आचारसंहिता पालना गर्नुपर्ने वडाध्यक्ष पहारीको भनाइ छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की अध्यक्ष सोमनाथ बास्तोलाले लेकसाइड नेपाल प्रमुख पर्यटकीय क्षेत्र रहेकोले यहाँको भविष्यबारे पनि बेलैमा सोच्नुपर्ने सुझाव दिए ।

सुरक्षा निकायतर्फबाट जवाफ दिँदै प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद शर्मा घिमिरेले प्रहरीले विभिन्नखाले विकृति विसंगति न्यूनीकरण गर्दै समुदायसँग मिलेर शान्तिसुरक्षा कायम गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालन गरेको बताए । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको १८ औं साधारणसभाका प्रमुख अतिथि समेत रहेका डीआईजी घिमिरेले समाजलाई सुसंस्कृत बनाउन सबैको हातेमालो गर्नुपर्ने बताए ।

एसएसपी पूजा सिंहले सुरक्षा दिने जिम्मेवारी प्रहरीको भए पनि यसप्रकारका डान्सवार तथा डिस्को नियमन आफूहरुले गर्न नसक्ने बताइन् । कार्यक्रममा सामुदायिक वैदाम अध्यक्ष मीना भट्टराई, नेकपा पोखरा ६ अध्यक्ष नर्मदा कँडेल, जगदम्बा आमा समूह अध्यक्ष दुर्गा पहारी, सामुदायिक बैदामका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, सामुदायिक बैदाम सचिव नेत्रलाल भण्डारी, कोषाध्यक्ष उमा रेग्मी भण्डारी लगायतले पर्यटकीय क्षेत्र लेकसाइडको भविष्य बचाइराख्न र पर्यटन क्षेत्रको पहिलो शर्त शान्तिसुरक्षामा ध्यान दिनुपर्ने बताए ।

लेकसाइडलाई चौबीसै घण्टा खेल्ने विषयमा यतिखेर बहस जारी छ । तर जिल्ला प्रशासन कार्यालय कास्कीले लेकसाइडलाई चौबीसै घण्टा खोल्नका लागि निर्दे्शिका बनाएर केन्द्रमा पठाइसकेको छ । गृह मन्त्रालयको निर्देशनमा शहीदचोकदेखि हल्लनचोकहुँदै जिरो किमीसम्मको क्षेत्रलाई चौबीसै घण्टा खोल्ने गरी निर्दे्शिका तयार गरिएको हो । कास्कीका प्रजिअ चक्रबहादुर बुढाले निर्दे्शिका केन्द्रमा पठाइएको भन्दै निर्दे्शिका कार्यान्वयनमा आएपछि सो अनुरुप सबैले पालना गर्नुपर्छ, पालना गर्दिनँ भन्न नपाइने बताए ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोमबहादुर थापा पनि व्यवसायलाई मर्या्दित बनाउँदै परिस्कृत गरेर पर्यटनमैत्री बनाउनुपर्नेमा जोड दिन्छन् । ‘९ बजे अरु ब्यापार बन्द गरेर होटल मात्रै खोल्न पाउनुपर्छ भन्नु राम्रो हैन । सबैले ब्यापार गरेर खान पाउनुपर्छ,’ उनले भने, ‘सबै ब्यापार चल्यो भनेमात्रै चहलपहल बढ्छ । पर्यटकले बढी खर्च गर्छन् ।’

पश्चिमाञ्चल होटल संघ सहित केही आमा समूह र व्यवसायी मिलेर ४२ जनाले अदालतमा रिट दायर गरेका छन् । व्यवसायीले रात्रिकालीन व्यवसायमा प्रयोग हुने संगीतको ध्वनि र बाजाको आवाज नियन्त्रण गर्नुपर्ने, रातमा सेवाग्राहीले प्रयोग गर्ने गाडीको व्यवस्था र आवतजावत सम्बन्धित व्यवसायीले मिलाउनुपर्ने, सेवाग्राहीलाई सम्बन्धित व्यवसायीले नै गन्तव्यसम्म पु¥याइदिनुपर्ने, रंगीबिरंगी बत्ती व्यावसायिक प्रतिष्ठान बाहिर जान रोक्नुपर्ने, उत्तेजक वा यौन उत्तेजक संगीत रोक लगाउनुपर्ने, अवान्छित गतिविधि अनुगमनका लागि स्थायी समिति व्यवस्था गर्नुपर्ने लगायत माग गरिएको छ । आजको आदर्श समाज दैनिकमा समाचार छापिएको छ ।

  • विजय नेपाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds