‘कोहिसँग नडराई, नबिराई जनता सम्झेर काम गर्छु’: लालबाबु पण्डित, वातावरण मन्त्री (अन्तर्वार्ता)

‘कोहिसँग नडराई, नबिराई जनता सम्झेर काम गर्छु’: लालबाबु पण्डित, वातावरण मन्त्री (अन्तर्वार्ता)

sapath lalbabu

तीन वर्ष अघि शुशिल कोइरालाको मन्त्री मण्डलमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेर पनि विशिष्ट काम गरेर वाहवाही कमाएका नेता हुन् लालबाबु पण्डित । उनी डिभिपीआर लिने सरकारी कर्मचारीलाई अयोग्य ठहर गर्ने गरी ऐन ल्याउन सफल भए ।

कडा स्वभाव तथा स्वच्छ छवि, सादगी नेता लालबाबु पण्डित नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत हुन् । हालै मोरङ ६ बाट प्रतिनिधिसभामा काँग्रेसका शीर्ष नेता डा. शेखर कोइरालालाई उनकै क्षेत्रमा हराएपछि उनको चर्चा झनै चुलियो ।

पछिल्लो पटक मन्त्री भएर पनि पहिलो दुई मन्त्रीमै लालबाबुलाई रोजियो । तर, उनले गृह वा अर्थमन्त्रालयमा बढी चाहना गरेका थिए । उनले नसोचेको मन्त्रालय जनसंख्या तथा वातावरण मन्त्रालय परेको छ । यद्यपी, यसमा स्वास्थ्य मन्त्रालय समेत पहिले एउटै मन्त्रालय भएको र अब कानुनतः मन्त्रीमण्डल समेत सानो बनाउनुपर्ने बाध्यता भएकाले मर्ज हुन सक्छ ।

नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केशी शर्मा ओली नियुक्त भएका छन् र उनले तीन सदस्य मन्त्रीमण्डलमा वातावरण मन्त्रालयको जिम्मेवारी पण्डितलाई दिएका छन् । पण्डितले आफ्नो जिम्मेवारी नबिराई, नडराई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डक न्युजका लागि रञ्जन अधिकारीले मन्त्री पण्डितसँग गरेको कुराकानी ।

जनताले मन्त्रीका रुपमा यहाँलाई देख्न चाहेका थिए । पहिलो रोजाई त्यो पनि तीन सदस्यीय मन्त्रीमण्डलमै पर्नुभयो । कस्तो लागिरहेको छ ?

देश र जनताको सेवा गर्ने जिम्मेवारी हो । मैले पाएको छु । पार्टीले मलाई विश्वास ग¥यो । म सन्तुष्ट छु । संघीय सरंचना अनुरुप संविधान कार्यान्वयनको पहिलो मन्त्री मण्डलमा समाविष्ट भएको छु । जनताको काम गर्ने जिम्मेवारी पाउँदा खुशी लागेको छ ।

सपथको केहि समय अघिसम्म पनि मन्त्री हुने छनक थिएन । चर्चा अरु नामकै थियो । तपाईंलाई कहिले थाहा भयो ?

मलाई जानकारी थिएन । अकस्मात आयो । दौरा सुरुवाल लगाएर आउनु भनियो । पूर्व मन्त्री भएकाले ठानेँ । हतारमै पुगेको हुँ ।

अघिल्लो कार्यकालमा पनि मन्त्री हुने बखत यस्तै भयो । उत्तिकै चर्चा भयो । यसपटक पनि अकस्मात मन्त्री बन्नुभयो । मन्त्री हुन्छु भन्ने लागेको थिएन ?

जनताले मन्त्री बनाउनकै लागि जिताएका हुन् । अघिल्लो कार्यकाल छोटो थियो तर पनि त्यति समयभित्र मैले गर्न सक्ने गरेँ जस्तो लाग्छ । ज्यानको परवाह नगरी दिनरात देश र जनताकै हितमा सोच्दथेँ । चुनावमा समेत जनताले कति माया गर्नुभयो । देश विदेशबाट मजदुरले समेत पैसा पठाएर सहयोग गरे । सबैको माया पाएको छु । काम गर्नकै लागि पठाएकाले जिम्मेवारी पाउनु आश्चर्यको कुरा होईन ।

तपाईंले विभिन्न अन्तर्वार्तामा गृहमन्त्री, अर्थमन्त्रीका कुरा गर्नुभयो । यस्तो जिम्मेवारी मिलेन नि ?

काम नै गर्ने हो । जुन मन्त्रालय भएपनि आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने हो । त्यो क्षेत्रमा कस्तो काम गरेको छ भनेर जनताले मूल्यांकन गर्ने हुन् । यसअघि पनि मैले कुनै अनुभव नै नभएको मन्त्रालयको जिम्मेवारी परेको थियो । मैले परिणाममुखी काम गर्न सक्छु भन्ने लागेको छ ।

तपाईं स्वच्छ छवि, सादगी जीवनयापन गर्ने नेता तर पनि कामको सवालमा कडा मानिन्छ भन्छन् नि ?

तोकिएको जिम्मेवारी पूरा गर्नुपर्दछ । म आफू जस्तै ईमान्दार मान्छे चाहिन्छ । ईमान्दारितापूर्वक काम गर्छु । नबिराई नडराई काम गर्छु । जनताको काम गर्ने भन्नेले, राष्ट्रसेवक भन्नेले सोहि अनुसार काम गर्नुपर्दछ ।

अब तपाईंको काम कसरी अघि बढ्छ ?

अब विश्वको चासो वातावरण हो । स्वच्छ र स्वस्थ वातावरण भए नागरिक स्वस्थ हुन्छन् । स्वस्थ नागरिक भए देश समृद्ध हुन्छ । स्वच्छ शहरको लागि काम सुरु हुन्छ । यस क्षेत्रका विज्ञहरुसँग परामर्श साथ लिँदै जिम्मेवारी पूरा गर्छु ।

वातावरणका क्षेत्रमा काम गर्नेहरुसँग निकट रहेर काम गर्नेछु । यस मन्त्रालयमा रहेपछि पक्कै पनि धुलोबाट सास्ती खेपेका राजधानीबासीको अपेक्षा हुन्छ । काठमाण्डौको धुलो र प्रदुषण कम गर्दै स्वच्छ शहरका रुपमा स्थापित गर्ने ध्येयले अघि बढ्नेछु ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ