लमजुङमा भुकम्प प्रभावित: कोहि घर, कोहि बेघर

लमजुङमा भुकम्प प्रभावित: कोहि घर, कोहि बेघर

lamjung punanirman (1)

श्यामशितल परियार । लमजुङ सुन्दरबजार नगरपालिका शिख्राका रेशम बहादुर नेपालीले नीजि आवास पुनर्निर्माणका लागि पहिलो किस्ता लिईसकेका छन् । किस्ता लिएतापनि उनले डीपीसी सम्मको काम पनि पुरा गरेका छैनन् । पहिलो किस्ता वापत पाएको ५० हजारले डिपिसि गर्न नपुगेपछि उनको घर निर्माणको काम अघि बढ्न सकेको छैन ।

‘पहिलो किस्ता ५० हजार त लिएँ । किस्ता लिएसंगै रड र टिन किनेँ । खेताला लगाएर जग पनि खनेको छु । ५० हजारले मात्रै डिपिसिसम्म गर्न पनि पुगेन । पैसा अपुग भएका कारण बाँकी काम अघि बढेको छैन,’ उनले भने । अब छिट्टै पैसा खोजखन्तार गरेर भएपनि डिपिसिसम्मको काम पूरा गरी दोश्रो किस्ताको लागि फर्म भर्ने उनको सोँच छ ।

यस्तै, सुन्दरबजार नगरपालिका बलिथुमका बुद्धबहादुर परियारले पहिलो किस्ता लिएर डिपिसिसम्मको काम पुरा गरेका छन् । त्यसैले उनले दोश्रो किस्तावापतको डेढ लाख पनि बुझिसकेका छन् । दोश्रो किस्तामा थपथाप गरेर घर निर्माणको काम पुरा गरी तेश्रो किस्ता दावी गर्ने उनको भनाई छ ।

‘पहिलो किस्ता लिएँ । ५० हजारले मात्र डिपिसि गर्न पुगेन । त्यसैले ऋणधन गरी २५ हजार थपेर ७५ हजार खर्चेर डिपिसिको काम पुरा गरेँ । पहिलो चरणको काम सकेँसंगै दोश्रो किस्ता पनि पाएको छु,’ उनले भने, ‘दोश्रो किस्तावापतको डेढ लाख अब घर निर्माणमै खर्च गर्नेछु ।’

लमजुङकै बलबहादुर दुलालले घर निर्माण गरिसकेका छन् । नयाँ घरमा उनी बसिसकेका छन् । ‘ऋणधन गरेरै भएपनि घर त बनाएँ । पहिलो र दोश्रो किस्ता त पाएँ । प्राविधिकहरु घर हेर्न आएका छैनन् । तेश्रो किस्ताको फाराम नै भरेको छैन । तेश्रो किस्ता पाउन पाएँ घर निर्माणमा लागेको खर्च तिर्न सजिलो हुन्थ्यो,’ उनले भने ।

जिल्ला समन्वय लमजुङका फोकल पर्सन शिव रेग्मीका अनुसार लमजुङमा कुल लाभग्राही संख्या १३ हजार ९ सय ५९ रहेका छन् । तीमध्ये १३ हजार १ सय ३१ जनाले पहिलो किस्ता, ४ हजार २४ जनाले दोश्रो किस्ता र २ सय २० जनाले तेश्रो किस्ताको करम बुझिसकेका छन् । ‘१ सय जनालाई तेश्रो किस्ता, २ सय जनालाई दोश्रो किस्ता पठाउने तयारी भईरहेको छ,’ उनले भने ।

उनका अनुसार जिल्लामा साँढे ६ हजार घर निर्माणाधीन अवस्थामा रहेको छ । प्राविधिकहरुले घर निरीक्षण गरिरहेका छन्।। जिल्लामा भुकम्पपछिको पुनर्निर्माणमा आफुहरु पूर्ण रुपमा सन्तुष्ट रहेको रेग्मीको भनाई छ ।

‘हामी कम प्रभावित जिल्लामा पर्यौँ । अन्य जिल्लाको तुलनामा यहाँ कार्यक्रम नै डेढ वर्ष ढिला भयो । जुन रुपमा पुनर्निर्माण भएको छ । त्यसमा हामी सन्तुष्ट छौँ । असार मसान्तसम्ममा ४ हजार जना लाभग्राहीलाई दोश्रो किस्ता पठाईसक्ने हाम्रो टार्गेट थियो । हामीले टार्गेट मिट गरेका छौँ । यही अनुपातमा काम हुन सके चालु आर्थिक वर्षमा नै नीजि आवास पुनर्निर्माण कार्य सक्ने हाम्रो लक्ष्य छ । सायद हाम्रो लक्ष्य पुरा हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ