लमजुङमा प्याराग्लाईडिङको उच्च सम्भावना तर व्यावसायिक बन्न सकेन

लमजुङमा प्याराग्लाईडिङको उच्च सम्भावना तर व्यावसायिक बन्न सकेन

paragliding lamjung (1)

श्याम शितल परियार, लमजुङ । यस जिल्ला मौलिक कला, धर्म, सँस्कृति र साहित्यसंगै प्राकृतिक दृष्टिकोणले पनि निकै सुन्दर छ । धनी छ, लमजुङ । यसका साथै जलविद्युत, कृषि र पर्यटन विकासको प्रचुर सम्भावना बोकेको जिल्ला पनि हो, पहाडी जिल्ला लमजुङ ।

पछिल्लो समय पर्यटन प्रवद्र्धनमा अघि बढिरहेको छ, लमजुङ । जिल्लाका विभिन्न ठाउँमा गरी दर्जनौँ होमस्टे अर्थात् घरबास सञ्चालनमा छन् । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईँमा छन्, ती होमस्टे । पर्यटकले खचाखच छन्, यहाँ सञ्चालित दर्जनौँ होमस्टे । सरोकारवालाहरु दाबी गर्छन् ‘नेपालमा सबैभन्दा धेरै होमस्टे सञ्चालनमा रहेको जिल्ला लमजुङ नै हो ।’

घलेगाउँ, पसगाउँ, काउलेपानी, राईनासकोट, तुर्लुङकोट, सिउरुङ लगायतका जिल्लाका थुप्रै गाउँमा होमस्टे सञ्चालनमा छन् । कतिपय गाउँ होमस्टे सञ्चालनमा अघि बढिरहेका छन् ।

अन्नपूर्ण पदमार्गमा पर्छ, लमजुङ । प्राय ः सबैको ‘ड्रिम प्लेस’ मानिने मनाङ जिल्ला पुग्न (सवारी यात्राबाट) पनि यहीँको बाटो भएर जानुपर्छ । विदेशी तथा स्वदेशी दुवै पर्यटक ओहोरदोहोर भईरहने ठाउँ भएकाले पनि लमजुङमा पर्यटनको विकास गरी जिल्लाको मुहार फेर्न सकिने सम्भावना छ ।

जिल्लामा पर्यटक लोभ्याउन, पर्यटकको आगमन संख्यामा वृद्धि गर्न व्यावसायिक ढंगले साहसिक प्याराग्लाईडिङ सञ्चालन गर्न सक्ने सम्भावना पनि रहेको छ ।

जिल्लामा हुने विभिन्न मेला, पर्व उत्सवका अवसरमा प्याराग्लाईडिङ उडान हुँदै आएको छ । मौसमी उडान हुँदै आएतापनि हालसम्म व्यावसायिक ढंगले प्याराग्लाईडिङ सञ्चालनमा आउन सकेको छैन, लमजुङमा ।

लमजुङको बेसीशहर नगपालिका–३, गाउँशहरमा समेत प्याराग्लाईडिङको परीक्षण उडान सफल भएको छ । लमजुङ गाउँशहर दरबारस्थित गाउँशहर डाँडाबाट गरिएको प्याराग्लाईडिङ उडान बेसीशहरको शेरा दनाइँफाँटमा अवतरण गरिएको हो । स्काइ बर्ड प्याराग्लाइडिङ पोखराको नेतृत्वमा शनिबार परीक्षण उडान गरिएको हो । स्लो पाइलट सुनिल थापा, कुमार श्रेष्ठ, भुवन गाहा, राजेश गिरी र सुनिल रावलले प्याराग्लाईडिङको उडान परीक्षण गरेका हुन् ।
आयोजक अन्नपूर्ण ब्रदर्श ट्राभल एण्ड टुर लमजुङका सञ्चालक तथा पर्यटन व्यवसायी अमिर गुरुङका अनुसार गाउँशहरमा प्याराग्लाइडिङको उडान सफल भएको छ ।

‘गाउँशहर डाँडामा प्याराग्लाईडिङ उडान उपयुक्त छ,’ उनले भने । पहाडी जिल्ला लमजुङको गाउँशहर डाँडा, पुमा डाँडा, भाचोक डाँडा, राईनासकोट लगायतका स्थानमा प्याराग्लाईडिङको उच्च सम्भावना रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।ती क्षेत्रमा प्याराग्लाईडिङ उडानको सफल परीक्षण भईसकेका छन् ।

राइनासकोटमा प्याराग्लाइडिङ सञ्चालनको ठूलो सम्भावना

पूर्वी लमजुङको राईनास नगरपालिकामा रहेको राइनासकोटबाट प्याराग्लाइडिङ सञ्चालनको झनै ठूलो सम्भावना रहेको जानकारहरु बताउँछन् । समुद्री सतहबाट १७ सय ५० मिटर उचाईमा रहेको छ, राईनासकोट ।

राइनासकोटबाट गरिएको प्याराग्लाइडिङ उडान सुरक्षित रहेको र प्याराग्लाईडिङ उडानको सम्भावना उच्च रहेको परीक्षणका क्रममा पाईलटले बताएको पर्यटनका साथै सामाजिक क्षेत्रमा लामो समयदेखी काम गर्दै आउनुभएका कृष्णराज ओलिया बताउँछन् ।

पाईलटहरुले बताएअनुसार राईनासकोटबाट उडान गरिएका प्याराग्लाईडिङ गोर्खाको पालुङ्टार, सुन्दरबजार, राईनासटारमा अवतरण गर्न सकिन्छ । राईनासकोटबाट गरिएको प्याराग्लाईडिङबाट लमजुङ, गोरखा र तनहुँका मनोरम दृश्यको समेत अवलोकन गर्न सकिन्छ ।

‘यहाँको प्याराग्लाईडिङबाट चेपे, मस्र्याङ्दी, दरौँदी नदीका साथै थुप्रै मनमोहक हिमाली दृश्य अवलोकन गर्न सकिन्छ,’ ओलियाले भने ।

जिल्लामा प्याराग्लाईडिङ सञ्चालनको सम्भावना छ । लमजुङ पोखराको विकल्प बन्न सक्छ । ‘सम्भावना छ । तर प्याराग्लाईडिङको विकासमा राज्यस्तरबाट खासै पहल हुन सकेको छैन,’ उहाँले अघि थप्नुभयो, ‘यहाँ प्याराग्लाईडिङ सञ्चालन गर्न सकिए लमजुङ पोखराको विकल्प बन्न सक्छ ।’

निजी क्षेत्र ईच्छुक

जिल्लामा प्याराग्लाईडिङ सञ्चालनका लागि निजी क्षेत्र ईच्छुक छ । राज्यस्तरबाट प्याराग्लाईडिङको सम्भाव्यता अध्ययन गरी उचित ठाउँमा प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति दिन सके जिल्लामा प्याराग्लाईडिङ सञ्चालन गरी पर्यटक तान्न सकिने उतिक्कै सम्भावना रहेको लमजुङ उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापा बताउँछन् ।

‘जिल्लाका केही ठाउँमा प्याराग्लाईडिङ सञ्चालनको सम्भावना छ । व्यावसायिक रुपमा सञ्चालन गर्नको लागि नीजि क्षेत्र ईच्छुक छ,’ उनले भने, ‘सरकारी तवरबाट थप सम्भाव्यता अध्ययन गरी उचित ठाउँमा व्यावसायिक ढंगले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति दिन सके, यसको सञ्चालन हुन सके जिल्लामा पर्यटक तान्न सकिन्छ । यसैको माध्यमबाट जिल्लाले आर्थिक फड्को मार्न सक्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ