‘लुट्न सके लुट् कान्छा..’ गीत युट्युबबाट हटाइयो, के भन्छन् पशुपति शर्मा?

‘लुट्न सके लुट् कान्छा..’ गीत युट्युबबाट हटाइयो, के भन्छन् पशुपति शर्मा?

Pashupati Lutna sake

गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको नयाँ च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत एक दिनमै ९ औं ट्रेण्डिङमा थियो, साढे ३ लाखले बढी पटक हेरिएको थियो ।

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए ।

उनले हटाएको विषयमा फेसबुकमा स्टाटस लेखेका छन् ।

https://www.facebook.com/pashupati.sharma.577/posts/2178594845539748

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरूमा सादर नमस्कार !

हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरूले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। तर सोही गीतमा प्रयोग भएका केही शब्दहरूलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु।

सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिनँ। तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु। मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनीतिक दल या संस्था संग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।

सुझाव दिनुहुने राजनीतिक व्यक्तित्वहरू, मेरा अग्रज एवं समकालिन साथीहरूलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तरहृदयदेखि माफी चाहन्छु। मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो। यसमा म पुन: प्रष्ट पार्न चाहन्छु। अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु।

र, अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु।

धन्यवाद।
पशुपति शर्मा

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट, नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको समाचार सार्वजनिक भएको थियो ।

गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले तरङ्ग ल्यायो । गीतमा प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ । काम केही नगरेको, ठूला–ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे छलफल चलेको कुरा सार्वजनिक भइसेको थियो । यो गीतका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समेत छलफल भएको स्रोतले बतायो ।

गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ । प्रधानमन्त्री ओलीले सरकारको जिम्मेवारी सम्हालेको १ बर्ष पुगेकै आसपासमा गायक शर्माले ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गर्दा सरकारले गम्भिर भएर हेरेको बताईन्छ ।

गीतको सुरुमै गायक शर्माले भनेका छन् –‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही।।।। त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’

उनले अन्तिममा लुट्ने विरुद्ध व्यंग्य गरिएको भनेर बिट समेत मारेका थिए । यसले गर्दा युट्युबाट हटाइहाल्न नहुने बारेमा सामाजिक सञ्जालमा प्रतिक्रियाको ओहिरो लागेको छ । कलाकारहरु सरकारप्रति खनिएका छन् ।

शर्माको गीतमा यसअघि भ्रष्टाचारको आशंका गरिएको वाइडवडी काण्ड, ३३ किलो सुन काण्ड लगायतका विषयलाई समेत व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा राजधानी सहित देशभर विकासका आयोजना अलपत्र परेको, जता–ततै लुटतन्त्रले राज गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने हेलिकप्टरको प्रसंग पनि जोडिएको छ ।

‘जनताको मुटुभित्र काँडा कति–कति, डेढ अर्बको हेलिकप्टर चड्छिन् राष्ट्रपति । लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ गीतमा भनिएको छ । उक्त गीतले वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार काण्डदेखि विकास निर्माणमा हुने बदमासीलाई चित्रण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ