पोखरामा मापदण्ड विपरित बनेका र बन्दै गरेका सबै संरचना भत्किने

पोखरामा मापदण्ड विपरित बनेका र बन्दै गरेका सबै संरचना भत्किने

Dozar (2)

पोखरा, २६ पुस । पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोकस्थित चार तल्ले घर मापदण्डविपरित हुँदाहुँदै पनि त्यसका धनी शालिकराम घिमिरेले कसैलाई नटेरेर बनाईछाडे । वडा कार्यालय र महानगरपालिका कार्यालयले पत्र काटेर घर निर्माण कार्यलाई अगाडि नबढाउन निर्देशन दिएपनि घरधनी घिमिरेले टेरपुच्छर लाएनन् । उनले आफ्नै मर्जीले घर बनाउने कामलाई अगाडि बढाए । अहिलेसम्म त उनले घरको निर्माण सकेर भाडामा पनि लगाईसकेका छन् ।

आफ्नै मर्जीले घर बनाएपछि न त वडा कार्यालयले नै कुनै त्यस्तो कदम चाल्न सक्यो । न त महानगरपालिकाले नै केहि गर्न सक्यो । पोखरामा मापदण्ड मिचेर भवन निर्माण गर्ने यो शैली नयाँ होईन । यो निकै पुरानो शैली हो । पहिला कसैको नसुनेर संरचना निर्माण गर्ने अनि बल्ल त्यसपछि पैसाको चलखेल गरेरै भएपनि कागजपत्र मिलाउने ।

मापदण्ड विपरित बनिरहेको संरचनाको निर्माण रोक्न वडा नक्बर ४ बाट पठाईएको पत्र

यस्तै शैली अपनाएर लेकसाइड क्षेत्रमा थुप्रै संरचनाहरु बनिसकेका छन् । र, केहि बन्ने क्रममै छन् । आखिर यति हुँदा पनि महानगर किन मुकदर्शक बनिरहेको छ ? त्यतिमात्र कहाँ हो र ? केहि पैसा पाएपछि महानगर नै उनीहरुको बद्मासीलाई छोप्न तयार हुने आरोप लाग्दै आएको छ । महानगरले न अनुगमन गर्छ । न त त्यस्ता भवन निर्माण भएपनि कुनै अप्रिय खालको निर्णय नै लिन्छ । त्यसैले त घरधनीहरु एक तलाको नक्शा पास गराउँछन् । पानी, बिजुलीको सुविधा लिईहाल्छन् अनि घर चाँहि ७ तल्लासम्म बनाउन पछि पर्र्दैनन् ।

यद्यपी पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने अबका दिनमा यस्तो शैलीले संरचना निर्माण हुन नदिनेमा महानगर दृढ भएको बताउँछन् । ‘मापदण्ड विपरित बन्ने र निर्माण भैसकेको कुनै पनि संरचना अब महानगरले छाड्नेवाला छैन । ती सबै भत्काईन्छन् । कसको, कहाँको र कुन पार्टीको भन्ने कुरा महानगरले वास्ता गर्नेछैन ।’ प्रवक्ता नेपालीले भने–‘कानुनअनुसार नभएका सबै भत्कन्छन् । यो कुनै हालतमा रोकिनेवाला छैन ।’

महानगरले प्रत्येक वडालाई मापदण्ड विपरित बनेका संरचनाहरुको तथ्याङ्क संकलन गर्नका लागि निर्देशन दिएको छ । केहि दिनभित्रै महानगरभित्रको यकिन तथ्याङ्क आउने र त्यसपछि ती संरचना भत्काउनतर्फ महानगर लाग्ने प्रवक्ता नेपालीले बताए । ‘हामीले महाअभियानकै रुपमा यसलाई अगाडि बढाउने छौँ ।’ प्रवक्ता नेपालीले ठोकुवाका साथ भने–‘नियमसंगत रुपमा हामीले यो अभियानलाई अगाडि बढाउने हो । मापदण्ड मिचिएको भेटिएमा संरचना जसको पनि भत्किन्छ, भत्किन्छ ।’

मापदण्डमा राजनीतिक पूर्वाग्रह :

केहि दिन अगाडि मात्रै फिर्के खोलाको मापदण्ड मिचेको आरोपमा वडा नम्बर ४ कै जननिर्वाचित वडा सदस्य विष्णुमाया परियारको सहित ३ वटा घरमा वडाले डोजर चलायो । डोजर चलेसँगै पोखरामा मापदण्डको तरंग राम्रैसँग परेको छ ।

यद्यपी घर भत्काउँदा राजनीतिक पूर्वाग्रह राखिएको आरोप लगाउँछिन्, वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियार । ‘न कुनै जानकारी । न त कुनै अल्टिमेटम । एक्कासी आएर घर भत्काउन मिल्छ कि मिल्दैन ?’ विष्णुमाया प्रश्न गर्छिन् ।

उनले आफूलाई ‘कन्भिन्स’ नगरि जबरजस्ती तरिकाले कुनै जानकारीबिना संरचना भत्काउँनुले महानगरका प्रतिनीधिहरुले राजनीतिक पूर्वाग्रह साँधेको हुन सक्ने बताउँछिन् । ‘म आफै पनि जनप्रतिनीधि हुँ । मलाई एकचोटी जानकारी गराएको भए म आफ्नै राजीखुशीले संरचना भत्काउँथे । र, यो अभियानलाई आफैले नेतृत्व गरेर हिँड्थे । तर यहाँ त अर्कै नियत देखियो ।’

महानगरले मापदण्डको महाअभियान बताईरहँदा विष्णुमायाले भने एकदिन डोजर चलाएर महाअभियान नहुने बताउँछिन् । ‘अब यसलाई महाअभियान नै बनाउने हो भने हरेक मापदण्ड विपरित संरचना भत्किनुपर्छ । तर मेरो घर भत्काएको दिनदेखि महानगरको डोजर कहाँ गयो ?’ विष्णुमायाले प्रश्न गरिन् ।

त्यस्तै वडा नम्बर ४ कै अर्का सदस्य सुवर्ण केसीले पनि महानगरले अब यो अभियानलाई सबैतिर उस्तै तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । वडा सदस्य परियारले भनेजस्तै महानगरका प्रतिनीधिले राजनीतिक पूर्वाग्रह साँधेको हो भने यो राम्रो नभएको बताए । यद्यपी उनले महानगरले मापदण्डविपरित बनेका संरचना हटाउने अभियान थालेको कुरा सकारात्मक भएको र यो अभियानले सफलता पाउनुपर्नेमा जोड दिन्छन् ।

रेम बिक / बिग खबर डटकम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ