स्याङ्जामा बाँदर आतङ्क, गाउँ नै छाडेर बसाइँ सर्दै स्थानीय

स्याङ्जामा बाँदर आतङ्क, गाउँ नै छाडेर बसाइँ सर्दै स्थानीय

monkey

पोखरा । पछिल्लो समय देशमा मानिसको जनसंङ्ख्या बृद्धि भएसँगै वन अतिक्रमण बढ्दै गएको छ । जसको प्रत्यक्ष प्रभाव जंगली जनावरहरुमा पर्न थालेपछि मानव बस्तीमा बिभिन्न समस्याहरु देखा पर्न थालेका छन् ।

समस्या हो स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडा गाउँमा देखिएको बाँदर आतङ्क । उक्त गाउँमा बिगत केहि समयदेखि बाँदरले दुख दिन थालेकाले त्यहाँको स्थानीयहरु हाल गाउँ नै छाडेर धमाधम अन्यत्रै बसाइँ सर्न थालेका छन् ।  बाँदरको आतङ्कको कारण स्याङ्जाको डुबिण्डाँडा लगायत अन्य ठाउँका कतिपय बासिन्दाहरु घरबार छोडेर बसाइसराइ गर्न तथा खेतबारी बाँझै राख्न बाध्य भएका छन् ।

गण्डकी प्रदेश सरकारले जमीन बाँझो राख्न नपाउने नीति तथा कार्यक्रम ल्याएपनि बाँदर नियन्त्रण गर्न नसक्दा स्याङ्जाका स्थानीयहरु उर्वर जमीन बाँझो राख्न थालेका छन् ।  ‘खेतबारीमा लगाए के फल्दैन ? हाम्रो गाउँको जमीन अत्यन्तै राम्रो छ । लगायो भने खेतिपाति राम्रो हुन्छ । तर के गर्ने ? जे लाएपनि बाँदरले बाँकि राख्दैन’ स्थानीयले भने ।

बाँदरको आतङ्कले वडावासीलाई खेती गर्न समस्या भएको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले बताए । ‘वडाले बाँदर नियन्त्रणका लागि केही विकल्प अगाडि सारे पनि त्यो प्रभावकारी हुनसकेन’ वडाध्यक्ष पङ्गेनीले भने, ‘यो समस्या समाधान वडा र नगरपालिकाले मात्रै गर्न नसक्ने केन्द्रबाट नै विशेष पहल हुनुपर्छ ।’ वडा नं १० खेतीपातीका दृष्टिले जग्गा उपयुक्त भएर पनि जमीन बाँझै राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘अन्य सम्भावना हुँदाहुँदै पनि बाँदरको समस्याका कारण वडावासी गाउँमा बस्न नसक्ने अवस्था भयोे’ वडाध्यक्ष पगेनीले भने, ‘वडावासी बसाइँसराइको सिफारिस लिन वडामा आउँछन् यो बढ्दो क्रममा छ चाहेर नि रोक्न सकिएको छैन बाध्यताले सिफारिस दिनुपर्ने अवस्था छ ।’ बाँदर एक ठाउँबाट लेखेटेर अर्को ठाउँमा पुर्याउँदा पनि समस्याको दीर्घकालीन समाधान नभएकाले सङ्घ र प्रदेशले नीति बनाएर नियन्त्रण नगर्दासम्म यो समस्या समाधान नहुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ