किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा ! अनुमतिबिना आफूलाई जन्माएको भन्दै आमाबुबासँग रुष्ट

किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा ! अनुमतिबिना आफूलाई जन्माएको भन्दै आमाबुबासँग रुष्ट

mudha

नयाँ दिल्ली — भारतको एक २७ वर्षीय युवाले आफूलाई किन जन्माएको भन्दै आफ्ना आमा बुबा विरुद्ध मुद्दा दायर गर्ने तयारी थालेका छन् । मुम्बईका व्यवसायी राफेल सामुयलले जीवनभरका लागि विभिन्न दु:ख कष्ट झेल्नुपर्ने भएकाले बच्चा जन्माउनु गलत भएको बताए । उनले कुनै पनि ‘व्यक्ति जन्मिनुअघि उसको सहमति लिन नसकिने स्वीकार गर्छन् ।

सामुयल ‘आफू जन्मनका लागि कसैलेपनि निर्णय नलिने’ दाबी गर्छन् । उनी अनुमतिबिना आफूलाई जन्माएको भन्दै आमाबुबासँग रुष्ट छन् । ‘हामीले आफूलाई जन्माउनका लागि कसैसँग आग्रह नगरेकाले बाँकी जीवन बाँच्नका लागि क्षतिपूर्तिस्वरुप केही रकम दिनैपर्छ,’ उनले भने ।

सामुयलले आफ्ना आमाबुवालाई निकै माया गर्ने तर उनीहरूले आफ्नो स्वार्थको लागि आफूलाई जन्म दिएको उनको दाबी छ । उनले भने, ‘मेरा आफ्ना आमाबुवासँग निकै राम्रो सम्बन्ध छ । म उनीहरूलाई निकै माया गर्छु । तर उनीहरूले आफ्नो स्वार्थका लागि मलाई जन्माए ।’ उनका आमाबुबा दुवै वकिल हुन् ।

उनले आफू व्यवसायमा संलग्न भएको र जीवनयापन सहजरुपमा चलिरहेको बताए । ‘तर बच्चा जन्माउनु भनेको एक प्रकारको दासता हो,’ उनले भने, ‘म एक जीवनलाई किन विद्यालय, अध्ययन, व्यापार, काम, करियर, आदिको झमेलामा फसाऊँ ?, उनी भन्छन् ।

उनकी आमा कभिता कर्नाड सामुयलले विज्ञप्तिमार्फत छोरा असहमतिप्रति प्रतिक्रिया जनाएकी छन् । उनले भनेकी छन्, ‘आफ्ना वकिल आमाबुबालाई अदालतमा लैजाने मेरो छोराको निर्णयको म प्रशंसा गर्छु । यदि उसलाई जन्माउनुपुर्व सहमति लिन सम्भव थियो भन्ने तर्कसंगत व्याख्यासहित आए म गल्ती स्विकार्न तयार छु ।’ सामुयल ‘एन्टी नटालिजम’ दर्शनमा विश्वास गर्छन् । उक्त दर्शनका अनुयायीहरू जीवन पूर्णरुपमा पीडामय हुने भएकाले जन्मको विपक्षमा हुन्छन् ।

एन्टी नटालिजम’ अनुसार कसैलाई जन्माउनु भनेको उसको इच्छा विपरीत दुखद जिन्दगी उसको टाउकोमा थोपर्नु हो । उक्त दर्शनमा संलग्न मानिसहरू आफ्ना आमाबुबासँग ‘मलाई किन जन्माएको ?’ भनेर सोध्नुपर्ने बताउँछन् । उनले आफू ५ वर्षको हुँदा ‘एन्टी नटालिजम’ दर्शन दिमागमा आएको बताउँछन् ।

उनले करिब एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा खोलेको ‘निहीलानन्द’ नामको खातामा विभिन्न प्रश्न सहितका तस्बिर समेत सार्वजनिक गरेका छन् । उनले पोस्ट गरेका तस्बिरहरूमा ‘मैले पीडा किन बेहोर्ने?, मैले किन काम गर्ने?, म किन ट्राफिक जाममा फस्ने?, मैले किन युद्धको सामना गर्ने?, मैले किन पीडा वा डिप्रेसनको सामना गर्नुपर्ने?, मैले किन मेरो इच्छाविपरित विभिन्न कार्य गर्नुपर्ने?’ लगायतका प्रश्न लेखिएका छन् ।

ती तस्बिरहरूमा निकै धेरै मानिसहरूले प्रतिक्रिया दिएका छन् । त्यसमध्ये अधिकांश नकारात्मक छन् । कतिपयले उनलाई ‘आत्महत्या गर’ भन्ने सुझाव समेत दिएका छन् । तर उनीभने आफूले सस्तो प्रचारका लागि नभई यस्तो विचार आम मानिसहरूमा पैदा होस भन्नका लागि उक्त निर्णय लिएको बताउँछन् । ‘मानिसहरूलाई बच्चा नजन्माउनुहोस भन्नका लागि यो सबैभन्दा सजिलो उपाय हो,’ उनले भने ।

-कान्तिपुर डेलीबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds