मुक्तिनाथ पुग्ने भारतीय तीर्थयात्रीको संख्यामा वृद्धि

मुक्तिनाथ पुग्ने भारतीय तीर्थयात्रीको संख्यामा वृद्धि

muktinath

File Photo

मुस्ताङ। पछिल्ला वर्षमा मुक्तिनाथ जाने भारतीय तीर्थयात्रीको संख्या बढेको पाइएको छ । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष अर्थात २०१८ मा उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । त्यस्तै सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महिनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ गएका थिए ।

दोस्रो पर्यटकीय यामसम्ममा भारतीय तीर्थयात्रीको सङ्ख्या गत वर्षभन्दा धेरैले बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मोक्ष प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ र हिन्दू धर्म मान्ने भारतीयले मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।

पछिल्ला आठ वर्षमा डेढ लाख बढी भारतीय तीर्थयात्रीले मुक्तिनाथ क्षेत्र घुमेको आँकडा छ । भूकम्प गएको वर्ष सन् २०१५ मा सबैभन्दा कम आठ हजार ४५९ ले मुक्तिनाथ भ्रमण गरेका थिए । मुक्तिनाथ क्षेत्रको एकीकृत विकासका लागि गुरुयोजना बनाउने काम पनि अघि बढाइएको छ । पोखरादेखि हवाई र सडकमार्ग हुँदै मुक्तिनाथ पुग्न सकिन्छ । मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा अवस्थित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ