लमजुङ : पहिरोमा ज्यान गुमाएकाको परिवारलाई घरमै पुगी राहत रकम प्रदान

लमजुङ : पहिरोमा ज्यान गुमाएकाको परिवारलाई घरमै पुगी राहत रकम प्रदान

rahat rakam marsyangdi gaupalika

श्यामशितल परियार, लमजुङ । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराईएको छ । बुधबार देखी परेको वर्षासंगै आएको पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई मस्र्याङ्दी गाउँपालिकाले राहत रकम उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडा नं ३ का वडाअध्यक्ष प्रेम बस्नेत र वडा नं ४ का वडाअध्यक्ष सुमन गुरुङ लगायतको एक टोलीले मृतकका परिवारलाई घरमै पुगेर विपद् व्यवस्थापन कोषबाट ५०/५० हजार रुपैयाँ प्रदान गरेको हो ।

पहिरोमा परी ज्यान गुमाएकी मस्र्याङ्दी गाउँपालिका–३, पल्लोटारकी ६५ वर्षे अतिरुपा थापाको छोरा महेन्द्र थापालाई ५० हजार रुपैयाँ, पहिरोमै ज्यान गुमाएकी ८ वर्षे शरिषा थापाको आमा कृष्णकुमारी थापालाई ५० हजार रुपैयाँ, पहिरोमै ज्यान गुमाएकी अर्खलेबेसीकी ७१ वर्षे ललितमाया गुरुङको छोरा ज्ञानेन्द्र गुरुङलाई ५० हजार र पहिरामै ज्यान गुमाएकी अर्की मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी विष्णुकली गुरुङकी छोरी शर्मिला गुरुङलाई ५० हजार रुपैयाँ पहिलो चरणको राहतस्वरुप रकम उपलब्ध गराईएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परी बेपत्ता भएका मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सीप्रसाद तामाङको खोजी कार्य भईरहेको छ । ‘बाढिपहिरोका कारण घाईते भएका, घर क्षतिग्रस्त भएका प्रभावित परिवारलाई पनि गाउँपालिकाले सहयोग गर्नेछ,’ उपाध्यक्ष विकले भने । यसैगरी, पहिरोमै ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले पनि एक/एक लाख रुपैयाँ राहतस्वरुप रकम उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार बाढीपहिरोबाट पूर्ण क्षति भएका ५ घरपरिवारलाई ५० हजार रुपैयाँ सहयोग गरिने छ । घाइतेको निशुल्क उपचारको व्यवस्था गरिएको छ । मस्र्याङ्दीमा बगेर हराएका २ जना अझै भेटिएका छैनन् । ‘बेपत्ता भएकाहरुको पनि खोजी कार्य जारी छ,’ उनले भने । प्रजिअ ढकालका अनुसार विपद्बाट घर क्षतिग्रस्त भएका बाहुनडाँडा, अर्खलेबेशी र रामबजारका प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र लमजुङबाट ४ थान टेन्ट, ८ थान त्रिपाल प्रहरी चौकी खुदी पुर्याइएको छ । बाढिपहिरोबाट प्रभावित घरपरिवारलाई तत्काल राहत वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ