तनहुँसुरको शिद्विडाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान सफल, पोखराको विकल्प तनहुँ उपयुक्त

तनहुँसुरको शिद्विडाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान सफल, पोखराको विकल्प तनहुँ उपयुक्त

Paragliding Tanahunsur1

किरण श्रेष्ठ, दमौली । तनहुँको व्यास ११, अर्चलचौर स्थित शिद्विडाँडा तनहुँसुरमा व्यवसायिक प्याराग्लाडिङको सम्भाव्यता बारे गरिएको परिक्षण उडान सफल भएको छ ।

३ जना पाइलटद्धारा ५ टेण्डम फ्लाइट सिद्धिडाँडाबाट टेकअफ गरी फराकचौरमा ल्याण्ड गरिएको हो । पहिलो फ्लाइटमा वडा अध्यक्ष निर बहादुर खड्काले उँडेर उद्घाटन गरेका थिए ।

प्याराग्लाइडिङको शनिबार परिक्षण उडान तथा सम्भाव्यता अध्ययन सफलताका साथ गरिएको छ । उक्त स्थानबाट गरिएको परिक्षण उडान वडा नं. ११ स्थित फराकचौरमा अवतरण गरिएको थियो ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसँगै प्याराग्लाइडिङ उडानमा अवरोद्ध हुने भएपछि साहसिक खेलको रुपमा अत्यन्त रुचाइएको प्याराग्लाइडिङ गर्नका लागी वैकल्पिक स्थानको पहिचान गर्न विभिन्न स्थानहरुमा परिक्षण उडानहरु भइरहेका छन् ।

यस क्रममा प्याराग्लाइडिङको सम्भावना मानिएको तनहुँसुरको अर्चलचौर स्थित शिद्विडाँडाबाट पनि परीक्षण गरिएको हो ।

तनहुँसुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देशले व्यास नगरपालिका र व्यास ११ को वडा कार्यालयको संयुक्त सक्रियतामा शिद्विडाँडा तनहुँसुरमा प्याराग्लाइडिङको परिक्षण उडान तथा सम्भाव्यता अध्ययन गरिएको हो ।

व्यास नगरपालिका वडा नम्बर ३ का वडासदस्य रबिन पौडेलले अर्चलचौर स्थित शिद्विडाँडाबाट ३ वटा प्याराग्लाइडिङले उडान गरी अवतरण गरेको जानकारी दिए । उनले अर्चलचौर स्थित शिद्विडाँडाबाट व्यवसायिक रुपमा प्याराग्लाइडिङ गर्न सकिने बताए ।

टिम फाइभका प्याराग्लाइडर(पाइलट) शंकर पराजुली, नारायण पराजुली र राजु आचार्यले सफलताका साथ
प्याराग्लाइडिङ गरेका हुन । ल्याण्ड गर्दा विषेश ध्यान दिनुपर्ने प्याराग्लाइडर(पाइलट)हरु बताए । ल्याण्डिङ गर्दा दक्षिण तर्फ ल्याण्ड गर्नुपर्ने प्याराग्लाइडर(पाइलट) राजु आचार्यले बताए ।

परिक्षण उडान पछि परिक्षण सफल भएको बताउँदै पाइलट तथा विज्ञ शंकर पराजुलिले उक्त स्थान हावाको चाप र अन्य भौगोलिक हिसावले प्याराग्लाडिडका लागि उपयुक्त भएको बताए । पराजुलिका अनुसार यस स्थान प्याराग्लाडिड उडान तथा प्रशिक्षण दुवैका लागि उपयुक्त भएको बताए ।

सफल उडानपछि उनीहरुले दृश्यवलोकनको लागि महत्वपूर्ण स्थान रहेकाले व्यवसायिक रुपमा अगाडी बढाउन सुझाव दिएका थिए ।

प्याराग्लाडिडको परिक्षण उडानका लागि सहजिकरण गरेका हरि सिग्देलले टेक अफ गर्ने स्थान रहेको र नगरपालिका वा वडाले ल्याण्ड गर्ने जमिनको व्यवस्थापन गर्न सके व्यास ११ मा व्यवसायिक उडान सम्भव रहेको बताए ।

उडानको व्यवस्था टिम फाइभ प्याराग्लाडिड नेपालले पोखराले गरेको थियो ।

वडा नं. ११ का वडा अध्यक्ष निर बहादुर खड्काले उडान सफल भएकोमा खुसी व्यक्त गर्दै साहसिक खेलको व्यवसायिक विकास तथा प्रवद्र्धनको लागि अगाडी बढ्ने बताए । उनले भने “हामीले प्याराग्लाइडिङसगै होम स्टेलाई व्यवस्थित र विकास गर्दै पर्यटकलाई आकर्षित गर्न सक्छौँ ।” उनले यसबाट रोजगारको सिर्जना गरी आर्थिक रुपमा वडालाई सबल बनाउन सकिने बताए ।

समुन्द्री सतह देखि करिब १ हजार २० उचाईमा रहेको अर्चलचौर स्थित शिद्विडाँडाबाट दमौली, फराकचौर, मनोरम हिमश्रृखंला प्रष्ट रुपमा देख्न सकिन्छ ।

प्याराग्लाइडिङको सफल अवतरण पश्चात् वडा नं ११ का स्थानीयहरुले फराकचौरमा अबिर र खादा लगाएर पाइलटहरु र वडाअध्यक्षलाई भव्य स्वागत गरेका थिए । यस अघि पनि उक्त स्थानबाट ४ जना सोलो पाइलटले प्याराग्लाईडिङको सफल परीक्षण गरेका थिए ।

टिम फाइभ पोखराबाट आएका प्याराग्लाइडर(पाइलट) हरुले शिद्दडाडा प्याराग्लाइडिङको परिक्षण उडान तथा सम्भाव्यता अध्ययन गरेका हुन । प्याराग्लाइडर(पाइलट) हरुले शनिबार २ फ्लाइट गराएका हुन ।

पहिलो फ्लाइट व्यास ११ का वडा अध्यक्ष निर बहादुर खड्का लाई प्याराग्लाइडर(पाइलट) हरुले गराएका थिए । खड्का शिद्विडाँडाबाट प्याराग्लाइडिङ गरेर व्यास ११ कै फराकचौरमा ल्याण्ड गरेका हुन् ।

त्यस्तै शुक्रबार उक्त परिक्षण उडान तथा सम्भाव्यता अध्ययन कार्यक्रमको अवसरमा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पोखरामा प्याराग्लाइडिङको सम्भावना कम हुँदै गएकोले अब पोखरा नजिक तनहुँका विभिन्न स्थानमा प्याराग्लाइडिङको संभावना तथा परिक्षण गर्नुपर्ने बताए ।

“व्यास नगरपालिकाले कृषि, पर्यटन, उद्योग र शिक्षामा अहिले महत्त्व दिइरहेको छ ।”, उनले भने । तनहुँसुर सम्म आउने बाटो पिच गर्न अहिले डिपिआर भईरहेको उनले बताए । ऐतिहासिक स्थान संगै मनोरम दृश्य हेर्नुका साथै प्याराग्लाइडिङका लागी उपयुुक्त स्थान रहेको प्रमुख न्यौपाने बताए ।

प्याराग्लाइडिङ सफल भए संगै पर्यटकहरु भित्रिने र स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने उनले बताए । त्यसैले विकासको काममा सबै एकजुट हुनुपर्ने न्यौपानेले बताए ।

त्यस्तै, छलफलमा बोल्दै वडा नं ३ का सदस्य रबिन पौडेलले व्यास नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेकाले त्यस्को सुरुवात स्वरुप प्याराग्लाडिडको अध्ययन गरिएको बताए । नागरिक उड्डयनले उडान अनुमति दिएको खण्डमा नीजि कम्पनी व्यवसायिक उडानका लागि तयार भएको पौडेलको भनाई थियो ।

प्याराग्लाइडिङको माध्यमबाट आफ्नो वडामा पर्यटक भित्र्याउन आतुर रहेको व्यास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष निर बहादुर खड्काले बताए । पर्यटन प्रवर्द्धनका लागी वडाका तर्फबाट गर्न सक्ने सहयोग गर्न वडा तयार रहेको वडाअध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ