पर्वतमा १८ वर्षमुनिकाले मदिरा किन्न नपाउने

पर्वतमा १८ वर्षमुनिकाले मदिरा किन्न नपाउने

madira raksi

पर्वत । मदिरा सेवन तथा बिक्री वितरणका कारण जिल्लामा आपराधिक र गैरकानूनी क्रियाकलाप बढ्दै गएकाले जिल्लामा मदिरालाई व्यवस्थित गरिने भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी निकायका पदाधिकारीको बैठकले मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

सर्वपक्षीय बैठकले कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म राति ९ बजेसम्म र माघ १६ गतेदेखि कात्तिक १४ गतेसम्म राति १० बजेसम्म होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । उनका अनुसार लामो दिनमा अबेरसम्म र छोटो दिनमा एक घण्टा पहिला होटल बन्द गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी १८ वर्ष उमेर नपुगेका बालबालिकालाई मदिरा बिक्री वितरण नगरिने र खुद्रारुपमा मदिरा बिक्री गर्नेले साँझ ५ बजेदेखि राति १० बजेसम्म बिक्री गर्न पाउने तर दिउँसोको समयमा बिक्री वितरण नगरिने निर्णय पनि भएको प्रजिअ नेपालले बताइन् ।

अन्तःशुल्कको स्टिकर नलगाइएका मदिरा बिक्री वितरणमा रोक लगाइने र यसलाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ । त्यस्तै बजार अनुगमन समितिमा होटल व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका एक/एक सदस्यलाई मनोनित गरिने भएको छ ।

बैठकमा प्रत्येक होटल व्यवसायीले अनिवार्यरुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने तथा होटलमा बास बस्न आउने पाहुनाको यथार्थ विवरण राख्ने निर्णय पनि गरिएको छ । बैठकले गरेका निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने र निर्णय कार्यान्वयन नगर्नेलाई नियमानुसार कारवाही गरिने पनि प्रजिअ नेपालले जानकारी दिइन् ।

व्यवसायीलाई मर्यादितरुपमा आफ्नो व्यवसाय गर्न र आपराधिक तथा गैरकानूनी क्रियाकलाप अन्त्य गर्नाका लागि मदिरालाई व्यवस्थित गर्न थालिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विष्णु न्यौपाने र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नवराज सापकोटाले मदिरा बेचबिखन गर्ने व्यवसायीले अवलम्बन गर्नुपर्ने कानूनी दायरा र अन्तःशुल्कका बारेमा जानकारी गराएका थिए ।

यो निर्णय सदरमुकामका साथै ग्रामीण क्षेत्रका बजार तथा पसलमा पनि लागू गर्दै जाने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । कुश्माबजारमा मात्रै झण्डै १०० को हाराहारीमा होटल तथा मदिरा व्यवसायी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds