पोखरा जिरो किमिमा पानी नपर्दा पनि जमिन भासियो

पोखरा जिरो किमिमा पानी नपर्दा पनि जमिन भासियो

Bhwang

पोखरा, ६ पुस । पोखराको जिरो किलोमिटरमा जमिन भासिएको छ । बिहीबार बिहान जिरो किमि नजिकै फिर्केमा नयाँ पिच गरिएको मुख्य सडकमै यसरी ठूलो खाडल परेको हो । ठूला भुवान परेपछि यस्तो अवस्था भएको छ । हेर्नुहोस् तस्विरहरु:

चार वर्ष अघि पोखराको अर्मलास्थित ठुलीबेसीफाँटमा एकाएक जमिन भासियो । त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो । पोखरा शहरको मध्यभागमै जमिन भासिन्थे । तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो । अर्मलामा भने निकै ठूला भ्वाङ परे ।

पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका जमिन कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी पोखराका नदीपुर, नयाँबजार, न्युरोड क्षेत्र, लेकसाइड, छोरेपाटन, चाउथे, विन्ध्यावासिनी, हेम्जा, अर्मला, फुलबारीलगायत क्षेत्र कमजोर रहेको बताइएको छ । ती स्थानमा बेला–बेला जमिन भासिने गरेका छन् । चिप्लेढुंगा, न्युरोडमा समेत भासिए ।

पोखराको जमिनमुनि कमेरो माटो छ । बर्षामा कमेरो माटो बगेर जाने गर्छ । आकाशको पानीले निकास नपाउनु तथा घरको छतको पानीको उचित व्यवस्थापन नहुनु पनि जमिन भासिनुको कारण भएको विज्ञ बताउँछन् । भू–बनावटको ख्यालै नगरी निर्माण गरिएका भौतिक संरचनाका कारण जमिन भासिएको उनीहरुको भनाइ छ ।

पोखरा छोरेपाटन स्थित गुप्तेश्वर महादेव गुफा माथिका बस्ती झनै खतरानक रहेको छ । डेभिडफल्स नजिकै बाटोमा गाडी गुड्दा समेत जमिन थर्किन्छ ।

विशेषगरी वर्षा लागेपछि जमिन भासिने गरेको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष पोखरा आसपास अझ बढी जमिन भासिएका छन् । तर जिरो किमिमा विहीबार भने पानी नपर्दै भासियो ।

कास्की अर्मलामा भ्वाङ परेपछि इन्जिनियरिङ भूगर्भविद् डा सुबोध ढकालले नागरिक दैनिकका लागि लेखेका यो लेख यहाँ साभार गरेका छौं ।

पोखरेली भ्वाङका रहस्य

किन बेलाबेलामा पोखरामा यस्ता भ्वाङहरू परिरहन्छन् भन्ने प्रश्नको उत्तर धेरैले खोजिरहेका छन्। कुनै पनि स्थान भासिने र भ्वाङ पर्ने कुरा मूलतःउक्त स्थानको भौगर्भिक बनोटसँग सम्बन्धित हुन्छ । यसमा जमिनमुनिको पानीको मात्रा, बहाव र पानीको माथिल्लो तह अर्थात् ‘वाटर टेबल’ ले पनि महŒवपुर्ण भूमिका खेल्ने गर्छ । गत वर्ष पोखरानजिक अर्मला भन्ने ठाउँमा बनेका अनगिन्ती भ्वाङ (सिन्कहोल) ले पोखराआसपासको कमजोर भौगर्भिक बनोटको संकेत गरिसकेको थियो । अहिले फेरि पोखराको मध्यभाग र आसपासका क्षेत्रमा भासिएका जमिनले यो कुरालाई प्रष्ट्याउन थालेका छन् ।

कुनै समयमा अन्नपूर्ण चौथो हिमालबाट उत्पत्ति भएको भयंकर ठूलो हिमताल फुट्न गइ त्यसको तल्लो तटतिर मडारिँदै बगेको पानीले आफ्नो बाटोको छेउछाउमा रहेका ठूल्ठूला बोल्डर, पहाडका चट्टान, रुखपातका साथै नजिकका जोखिमयुक्त पहाडहरूमा पहिरोलाई उक्साई त्यसबाट निस्केको चट्टान र गेग्रानलाई पनि सँगै बगाएर ल्याउने क्रममा पोखराको समतल भूभागमा कम ग्रेडिएन्टका कारण बगाउन नसकी सबै समिसृत गेग्रान पोखरा उपत्यकामा थुपारेको तथ्य अनुसन्धानले देखाएको छ । यो उपत्यकामा यसरी थुप्रिएको माटोको मोटाइ कतै अलि पातलो भए पनि धेरै स्थानमा बाक्लो नै छ ।

खासगरी पोखराको मध्यभागमा यसको मोटाइ सय मिटरको हाराहारीमा भएको बताइन्छ । यो कुरालाई अहिले पोखरामा परिरहेका भ्वाङहरूमा देखिएको माटोको संरचना र गत वर्ष अर्मलामा परेका भ्वाङमा देखिएको माटोको संरचनाले पनि पुष्टि गर्छ । पोखरा उपत्यका र खासगरी पोखराको केन्द्र भागको बनोटमा माथिल्लो तहमा धेरै ठाउँमा अघि भनिएजस्तै डेब्रिससहितको ग्राबेल र त्योभन्दामुनि यस्तै ग्राबेलबाट बन्ने कमजोर कङ्लोमेरेट चट्टानहरू छन् । यस्ता ग्राबेलको बीचबीचमा रहेका छिद्रहरू साना बालुवा र त्योभन्दा साना माटाका कण (सिल्ट, क्ले आदि) ले भरिएका छन् । यसले कङ्लोमेरेट भन्ने चट्टानमा सिमेन्टको काम गर्छ र बलियो पार्छ ।

अध्ययनले के देखाउँछ भने, कङ्लोमेरेट र विभिन्न स्थानको ग्राबेलमा रहेका चट्टानका टुक्रा चुनढुंगा र त्यससँग मिल्दोजुल्दो कार्बोनेट कम्पोजिसनका छन् । यो अलिकति अम्लीय पानीमा सजिलै घुल्छ र कुहिनसक्छ भने यसलाई जमिनमुनिको पानीले सजिलै खियाउन र बगाउन सक्छ । यसलाई मार्बल काट्दा निस्कने सेतो पदार्थ र यो पदार्थ पानीमा घुल्दा देखिने सेतो लेदोले पनि प्रमाणित गर्छ ।

मार्बल पनि चुनढुंगा वा त्यस्तै कार्बोनेट रकबाट नै बनेको हुन्छ । साथै, कङ्लोमेरेटमा सिमेन्टको काम गर्ने चट्टानको धुलो (क्ले) पनि चुनढुंगाकै सम्मिश्रणको भएकोले यस्तो पदार्थलाई पनि अम्लीय पानीले सजिलै घुलाइ जमिनभित्रको पानीले सजिलै बगाउन सक्छ । ग्राबेलको छिद्रमा भरिएको माटो पनि यस्तै प्रकृतिको भएकोले यसलाई पनि अम्लीय पानीले खियाइ बगाउन सक्छ । यही प्रक्रिया पोखराको मध्यभाग र वरिपरिको भूभागमा चलेको हो ।

पोखराका विभिन्न गुफाभित्र गएर अवलोकन गर्ने हो भने यहाँको भूबनोटको प्रकृति झल्किन्छ, जहाँ कङ्लोमेरेट चट्टानको बीचमा रहेको माटो पानीसँग मिसिइ सेतो पानी गुफाभित्र तपतप झरिरहेको देखिन्छ । यहाँ अवस्थित चुनढुंगाको ग्राबेल र बीचबीचको सेतो माटोलाई पानीले खियाइ सम्मिश्रणमा लिने प्रक्रियाले यस्तो हुन गएको हो ।

त्यसो त कैयौँ वर्ष अघिदेखिको यस्तै प्रक्रियाले नै यहाँ धेरै गुफा पनि बनेकाहुन्, जसमा पानीले ग्राबेल र छिद्रमा रहेको माटोलाई बिस्तारै रासायनिक प्रक्रियाबाट खियाउने, बगाउने अनि भित्रभित्रै प्वाल पर्दै जाने र यसरी बनेका प्वाल ठूल्ठूलो हुँदै गुफा बन्ने प्रक्रिया सरल बन्दै गएको देखिन्छ । यसरी चुनढुंगे ग्राबेलसहितको कङ्लोमेरेट चट्टान र ग्राबेल आफै पनि पानीसँगको रासायनिक प्रतिक्रियास्वरूप खिइँदै गएको कुरा सेती नदी गहिरिँदै जाने र यो नदीको पानी सेतो हुने कुराले पनि पुष्टि गरिरहेको छ ।

सेती नदी गहिरिँदै जाने, जमिनमुनि रहेको चट्टान र ग्राबेल पनि खिइँदै जाने र भित्रभित्रै गुफा बन्ने प्रक्रिया पनि यथावत् रहँदा यहाँको भौगर्भिक संरचना अति नै संवेदनशील हुँदै गएको छ । यस्तो भौगर्भिक संरचना भएको ठाउँमा गरिएको अव्यवस्थित सहरीकरण र भौतिक संरचनाहरूको निर्माणले यहाँको जमिनमा थप नकारात्मक चाप पर्न गएको छ ।

जमिन भित्रभित्रै बनेका यस्ता भ्वाङले गर्दा माथिल्लो सतहमा रहेका चट्टान र माटोलाई दिने सपोर्ट टुट्न जान्छ र जमिनको सतह नै असन्तुलित हुन जान्छ र यो भासिन्छ । यसमा हामीले बनाएका संरचनाका अतिरिक्त चापले यसरी जमिन भासिने प्रक्रियालाई उकास्न सक्छ जुन अहिले पोखरामा देखिएको छ । यसको मतलब यस्तो स्थानमा सहरीकरण गर्नै हुन्न, मानिस बसोबास गर्नै हुन्न र भौतिक संरचना निर्माण गर्नै हुन्न भन्नेचाहिँ कदापि होइन । तर, सकेसम्म कमजोर जमिनलाई अझै कमजोर बनाउन सक्ने क्रियाकलापचाहिँ घटाउनै पर्छ ।

प्रतिकूल भौगर्भिक बनोट र प्रक्रिया हाम्रोमा मात्र होइन अन्यत्र पनि हुने गर्छ । तर, त्यस्ता भविष्यमा आउनसक्ने समस्यालाई समयमै बुझेर समाधानमा लाग्नेहरूले नोक्सानी व्यहोर्नु पर्दैन । समय निकै ढल्किसकेको, सहरीकरण भैसकेको, भौतिक संरचनाहरू निर्माण भैसकेका अहिलेको अपस्थामा कत्ति पनि ढिलो नगरी अनुसन्धानमा लागिहाल्नुपर्ने देखिन्छ । पोखरा उपत्यकाभरि एकैनासको भौगर्भिक बनोट छैन र भित्रभित्रै चट्टान खियाउने प्रक्रिया पनि उस्तै छैन ।

यसमा भौगर्भिक बनोटसँगै भूमिगत पानीको तह, मात्रा र बग्ने दिसासम्बन्धी अनुसन्धान पनि अपरिहार्य छ । किनकि, भित्रभित्रै भ्वाङ पर्न र गुफाहरू ठूलो हुँदै तथा जेलिँदै जानुमा भूमिगत पानिको पनि ठूलो भूमिका रहन्छ । चट्टान खिइएर उत्पादन भएको लेदोलाई पानीले बगाउन सक्दैन भने समस्या त्यति जटिल बन्दैन र जमिन भासिने वा भ्वाङ पर्ने सम्भावना पनि कम हुन्छ । साथै, भूमिगत पानीको भण्डार सुक्नुले पनि जमिन भासिने प्रक्रियालाई बढावा दिनसक्छ । त्यसो हुन नदिन भूमिगत पानीको लागि रिचार्ज र डिस्चार्जको बीचमा सन्तुलन कायम गर्नु जरुरी हुन्छ । अन्यथा भूमिगत पानी ओभरड्राफ्ट हुनगइ पानीको स्रोत सुक्दै जाने र पानीको अभावमा जमिनमाथिका संरचनाको चाप र जमिनको आफ्नै चापलाई पनि धान्न नसकी भासिन सक्छ ।

हालैको विनाशकारी भूकम्पले हल्लाउँदा पोखराको संवेदनशील भौगर्भिक बनोटलाई अझै प्रतिकूल असर परेको हुन सक्छ । यहाँका गुफाहरूभन्दा माथिल्लो भागको माटोको तह पातलो भइसकेको अवस्थामा भुइँचालोको कम्पनले जमिन भासिनु अस्वाभविक होइन । उक्त भूकम्पका कारण जमिन नै तल–माथि भइसकेको पनि हुन सक्छ । यस्तो असरलाई पनि आवश्यक अनुसन्धान गरी समयमै सत्यतथ्य पत्ता लगाउनु जरुरी छ ।

Pic. Google/Social site

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ