पोखरा, प्लाष्टिक र विकल्प !

पोखरा, प्लाष्टिक र विकल्प !

plastic

रञ्जन अधिकारी,  पोखरा । [अर्काइभ १३ चैत २०७२ / तीन वर्षअघि पोखरा नगरमा सडक व्यापार गर्न रोक लगाईयो । पोखरा उपमहानगरपालिका कार्यालयको यो निर्णयले सडक व्यवसायीहरु आन्दोलित भए । अन्ततः सडक व्यवसायीलाई विकल्प दिएर फुटपाथ व्यापार हट्यो । अहिले कहिँकतै सडकमा साना व्यापारी देखिन्छन् तर पोखराको फुटपाथ फेरि कब्जा हुन पाएको छैन । यसअघि, पोखरालाई वातावरणमैत्री नगर बनाउने अभियान स्वरुप २०६७ सालबाटै यहाँ कालो रंगको प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लाग्यो । प्लाष्टिक उद्योगले समेत कालो प्लाष्टिक उत्पादन गर्न छाडेपछि स्वतः कालो प्लाष्टिक मुक्त नगर भयो ।

अब आगामी वर्षको सुरुवातीसँगै पोखरा नगरलाई प्लाष्टिक मुक्त बनाउने अभियानमा नगरपालिका एकचित्त भएर लागेको छ । तीन वर्षअघिदेखि नै पुर्ण प्लाष्टिक मुक्त नगरी बनाउने योजना यसपटक जसरी लागु गर्ने कार्यकारी अधिकृत झलकराम अधिकारी बताउँछन् । स्थानीय स्वायत्त शासन ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, पोखरा उपमहानगरपालिकाद्वारा जारी प्लाष्टिकजन्य वस्तु निषेध कार्यविधि २०७२ एवं पोखरा उपमहागनरपालिकाको २० औं नगरपरिषद्को निर्णय बमोजिम अब २०७३ वैशाख १ गतेबाटै कार्यान्वयन हुने गरी नगरपालिका अघि बढेको छ ।

पटक पटक स¥यो घोषणा मिति

पोखरालाई २०७० मंसीर मै प्लाष्टिक मुक्त नगर बनाईने तयारी थियो तर आवश्यक तयारी नभएपछि सोहि वर्ष माघ १ मा मिति सारियो । तर, २०७१ साउनमा पनि हुन सकेन र २०७१ असोजमा घोषणा गर्ने भनियो । अन्ततः आवश्यक तयारी विनै अघि सारिएको यो महत्वाकांक्षी योजना पुरा हुन सकेन । यसबीचमा अभियान सुरु गरेका कार्यकारी अधिकृत अधिकारीको स्थानमा महेश बराल र उदय रानामगर आए । प्लाष्टिकमुक्त नियन्त्रण अभियान पनि सेलायो ।

यही मंसीरमा दोस्रोपटक कार्यकारीका रुपमा पोखरा सरुवा भएर आएपछि अधिकारीले आफ्नो अभियानलाई जसरी पुरा गर्ने अठोट लिएका छन् । सहसचिव वा सो सरहपदमा माग भएको १२ जनामध्ये लोकसेवा आयोगले लिखित परीक्षामा सहभागी १९३ जना मध्ये अन्तर्वाताका लागि १६ जनाको नाम छनौट गरेकोमा अधिकारी पनि परेका छन् । त्यसैले उनी पोखराबाट सरुवा हुनुअगावै आफ्नो योजना कार्यान्वयन गर्ने मनशायमा छन् । गर्नुपर्ने काम धेरै भएपनि सस्तो लोकप्रियताका लागि हचुवाको भरमा अभियान घोषणा गरिएकाले पनि कार्यान्वयन गर्न नसकिएको नगरपालिकाकै कर्मचारीहरु बताउँछन् । केहि महिनाअघिसम्म नगरपालिका भित्रकै क्यान्टिनमा प्लाष्टिककै गिलासमा चिया पाउने गरिन्थ्यो । पोखरामा प्लाष्टिक प्रयोगमा प्रतिबन्धपछि विकल्प के त ? यसको आवश्यक तयारी नै नभएको सरोकारवालाले बताईरहँदा अधिकारी २०७३ वैशाख १ मै प्लाष्टिक मुक्त नगर बनाउने निर्णयमा अडिग छन् ।

विकल्प विना सम्भव छ ?

अन्तर्राष्ट्रिय शहरहरुमा प्लाष्टिक झोलाको प्रयोग गरेको पाईंदैन । बजारमा समेत पर्यटकहरुले साना प्लाष्टिक झोला सकेसम्म बोक्दैनन् । उनीहर झोला नै बोकेर हिँड्छन् र सामान आफ्नै झोलामा कोच्छन् । तर, नेपालीहरु अधिकांश झोला बोकेर बजार निस्कदैंनन् । यो व्यवहारले पनि प्लाष्टिक झोलाको विकल्पका बारेमा बढि चासो लिएको हो । विकल्प विना घोषणा मात्र गरेर पोखरा प्लाष्टिक निषेधित नगर त बन्ला । प्लाष्टिक मुक्त नगर बन्ला त ? जंक फुड लगायतका अधिकांश उपभोग्य वस्तु प्लाष्टिकमै प्याक भएर आउँछन् । तरकारी तथा मासुजन्य पद्धार्थ ओसारपसारमा प्लाष्टिक नै बढि प्रयोग हुन्छ । प्लाष्टिक मुक्त कसरी हुन सक्छ भन्ने एकाथरी छन् । तर नगरपालिकाले प्लाष्टिकका झोला र गिलास मात्र प्रतिबन्ध लगाउन लागेको स्पष्ट पारेको छ । तयारी पुगेकै हो त ? कार्यकारी अधिकृत अधिकारी भन्छन् – ‘हामी व्यवस्थित कार्ययोजना सहित अघि बढिरहेका छौं । सबै वडाहरुलाई क्रमशः प्लाष्टिक निषेधित घोषणा गर्दै समग्र नगरपालिकालाई निषेधित क्षेत्र बनाउँछौं ।’

यही चैत १५ गतेभित्र आ–आफ्ना मौज्दातमा रहेका प्लाष्टिक झोला तथा गिलासहरु तत्काल व्यवस्थापन गर्न र अन्यथा निषेधित वस्तु फेला परेमा कडा कारवाही गर्ने भन्दै नगरपालिकाले प्रचारप्रसार गरिरहेको छ । यस मिति पश्चात् प्लाष्टिकजन्य झोला तथा गिलास उत्पादन, विक्री वितरण तथा उपयोग गरेको पाईएमा कानुनतः दण्डनीय हुने भएकाले सो नगर्न नगराउन सार्वजनिक अपिल गर्दै कार्यालयले वातावरणमैत्री नगर बनाउन सबैको सहयोगको अपेक्षा पनि गरेको छ । अनुगमन संयन्त्र नै गठन गरी अघि बढ्ने र स्थानीयप्रशासनसँग साझेदारी गर्दै दण्डनीय काममा संलग्नलाई कारवाही गरेरै छाड्ने अधिकारीले प्रष्ट पारे । मानवस्वास्थ्यमा पारेको असर सम्बन्धमा जनचेतनालाई तीब्रताका साथ अघि बढाएका जनाउँदै उनले सञ्चारमाध्यममार्फत पनि सुसूचित कार्य भईरहेको जनाए ।

पोखरामा प्लाष्टिक उद्योग व्यवसायको विकल्प सम्बन्धमा भने अधिकारीले कडा जवाफ फर्काए। ‘जुन वस्तुले वातावरणमा प्रतिकुल प्रभाव पार्छ । उर्वरा शक्ति घटाउँछ । पोखरा नगरको शहरी सौन्दर्यतालाई नकरात्मक प्रभाव पार्छ भने त्यसलाई तत्काल निषेध गर्नुपर्छ । अब ति उद्योगहरुले अहिलेसम्म हामीले प्लाष्टिकका झोला उत्पादन गरेर वातावरणमा यति धेरै असर पा¥यौं । हामीलाई दुःख छ । क्षमा दिनुहोस् भनेर हामीसँग माफी माग्नुपर्छ ।’ अधिकारीले भने– ‘उहाँहरुले वातावरणमा पारेको कुप्रभावका बारेमा लेखाजोखा गर्ने हो भने उद्योगहरुले असाध्यै महंगो मुल्य चुकाउनुपर्छ । अहिलेसम्म वातावरण बिगार्नका निमित्त योगदान गर्नुभयो । विकल्पका रुपमा बहस गर्न हामी तयार छैनौं । चार उद्योगीलाई हेरेर आठ लाख नगरबासीको भावनामाथि खेलबाड गर्न पाईंदैन । ’ उद्योग बन्द गर्न, स्थानान्तरण गर्न वा नयाँ वस्तु उत्पादनमा लाग्न उनले उद्योगी व्यवसायीलाई सुझाव समेत दिए ।

प्लाष्टिक उद्योगमा १० करोड लगानी

यहाँ चार प्लाष्टिक उद्योगहरु सञ्चालनमा छन् । ग्लोबल प्लाष्टिक उद्योग मुस्ताङचोक, एभरग्रिन प्लाष्टिक उद्योग पृथ्वीचोक, जया प्याकेजिङ र गण्डकी प्लाष्टिक विजयपुर छन् । यी चार उद्योगमा १० करोड लगानी रहेको छ । ग्लोबल प्लाष्टिक उद्योगकका प्रबन्ध निर्देशक राजेश्वर आचार्यले आफुहरु वातावरणमैत्री नगरका रुपमा पोखरालाई देख्न चाहेको तर हचुवाका भरमा आवश्यक तयारी नै नगरी नगरपालिका अघि बढेकोमा आपत्ति जनाए । ‘कार्यकारी अधिकृत एकोहोरो रुपमा अघि बढ्न्भएको छ । चार दिनदेखि हामी भेट्न खोजिरहेका छौं । आज मात्रै पनि समय दिने भनेर दिनभरी मोबाईल स्वीच अफ गरी बस्नुभएको छ ।’ आचार्यले शुक्रबार भने– ‘अब आईतबार हामी यस विषयमा पत्रकार सम्मेलन गर्छौं । आफ्ना धारणाहरु सार्वजनिक गर्छौ ।’ उनले प्लाष्टिकको प्रयोगले क्यान्सर हुन्छ भनेर अफवाह फैलाईरहेकाले यसबारेमा विज्ञले पुष्टि गरे क्यान्सर लाग्ने प्लाष्टिक आफुहरुले उत्पादन नगर्ने बताए ।

आचार्यकै संयोजकत्वमा पोखरा प्लाष्टिक सरोकार संघर्ष समिति नै गठन भएको छ । खुद्रा व्यापार, तरकारी, फलफुल, मासु लगायतका व्यवसायीहरु समितिमा रहेका छन् । उनीहरुले प्लाष्टिकजन्य पद्धार्थको विकल्प के हो ? प्लाष्टिकका सट्टामा अन्य झोला सुपथ मुल्यमा उपलब्ध गराईदिन माग पनि गरेका छन् ।

पोखरा प्लाष्टिक व्यवसाय समितिका अध्यक्ष राजेश्वर श्रेष्ठले पोखरा नगरमा मात्र प्लाष्टिक मात्र बेच्ने १२० व्यवसायी रहेको बताउँछन् । दैनिक ३ हजार किलो बढि प्लाष्टिक खपत हुने उनको अनुमान छ । अन्य किराना लगायतका पसलहरुमा पनि प्लाष्टिक बेच्ने गरेको भएपनि प्लाष्टिक बेच्ने व्यवसायीले अबको विकल्प के ? भन्ने अन्यौलमा रहेको उनी बताउँछन् । ‘व्यवसायीहरुले घरेलु भ्याटमै दर्ता गरी कर तिरेर प्लाष्टिक नै बेच्न भनेर अनुमति लिएका हुन् ।’ श्रेष्ठले भने– ‘झोला र गिलासको प्रयोगले पोखरा प्लाष्टिक मुक्त सम्भव छैन । सबै सामानहरु प्लाष्टिकमै आउँछन् । यो त ओसारपसारको साधन हो । बरु फोहोर झनै बढ्ने देखिन्छ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा सर्वपक्षीय छलफलमा जोड दिन्छन् । ‘एकतर्फी हिसाबले भएन । व्यवसायीलाई पनि हतोत्साही नगरौं । सर्वपक्षीय छलफल गरी अघि बढौं ।’ थापाले भने– ‘उपभोक्तालार्य पनि सहज कसरी हुन्छ सोचे अघि बढ्नुपर्छ । प्लाष्टिक मुक्त भन्दा पनि न्युनिकरण गर्दै अघि बढे निकट भविष्यमै हामी सबैको सहमतिमा पोखरालाई प्लाष्टिक मुक्त बनाउन सक्छौं ।’

अध्यक्ष थापाले पोखरामा रहेका चार उद्योगबाट १० प्रतिशतमात्र बजार धान्ने भएकाले यहाँका उद्योगी व्यवसायीको मात्र सवाल नरहेकाले भित्रन नदिने वा यहाँका उद्योगबाट पनि अहिले उत्पादन भईरहेका भन्दा बाक्लो ठुलो स्तरीय प्लाष्टिक उत्पादन गर्ने विकल्पबारे पनि सोच्न आग्रह गरे । थापाले यससम्बन्धमा उद्योगी व्यवसायीका साथै नगरपालिकासँग पनि धेरै छलफल भईसकेको जनाउँदै उद्योगी व्यवसायीले पनि कानुनसम्मत ढंगबाटै स्वीकृति लिएकाले उनीहरुको विकल्पका बारेमा पनि सोच्नुपर्ने बताए ।

मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने २० माईक्रोनभन्दा पातलो प्लाष्टिक, कालो प्लाष्टिकहरु रिसाईकल तथा रियुज नहुने भएकाले यसलाई पूर्ण प्रतिबन्ध लगाउँदै धेरै समयसम्म प्रयोग गर्न सकिने प्लाष्टिकलाई प्रयोगमा ल्याउने गरी निर्णय गर्न पनि सकिने थापाको भनाई छ। उनले भने– ‘हामीले कहिल्यै पनि प्लाष्टिकमुक्त अभियानलाई सहयोग गर्दैनौं भनेका छैनौं । धेरै व्यवसायीहरुसँग यस बिषयमा छलफल गर्नुपर्ने हुन्छ, नगरपालिकाले वैकल्पिक व्यवस्था गरिदिन्छ भने सबै व्यवसायी तयार हुन्छन् । नगरपालिकाले योजना बनाएर छलफलका लागि बोलाउनुपर्यो ।’

घरेलु उत्पादनले बजार पाउने

प्लाष्टिकको विकल्पमा अब कागज, कपडा, काठ लगायतबाट बन्ने झोला नै हो । पोखराको मागलाई धान्ने गरी यहाँ यस्ता घरेलु उद्योगहरु छैनन् । पोखरा उद्योग वाणिज्य संघका घरेलु तथा साना उद्योग प्रवद्र्धन उपसमिति संयोजक समेत रहेकी पद्मावती हस्तकला उद्योगकी प्रोप्राईटर हिरा भट्टराई भन्छिन् – ‘प्लाष्टिक रहित नेपाली कागजको ब्याग, पत्रिकाका थुंगाहरु हामी बनाउन सक्छौं । झोला बनाउने लगायतका तालिम प्रदान गर्न सक्छौं ।’ भट्टराईले नगरपालिकाले यस्ता उद्योग तथा संस्थालाई पनि आर्थिक भौतिक सहयोग बढाउँदै महिलाको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने कामतर्फ ध्यान दिए अभियान सफल हुने बताईन् । कास्की पोखरा हस्तकला संघ, महिला सीप विकास केन्द्र लगायतका संस्थाहरु मार्फत विकल्पका झोलाहरु तयार हुने र यसबाट महिलाहरु प्रत्यक्ष लाभान्वित हुने अवसर पनि छ । उन लगायतका कपडा व्यवसायीहरु पनि फाईदा लिने समुहमा पर्छन् ।

पोखराका वडा नं. २, ३, ६, ७, १२, १३ र २६ वडा प्लाष्टिक झोला एवं गिलास मुक्त घोषणा भईसकेका छन् । पोखरा ७ की सचिव यशोदा बरालले प्लाष्टिकमुक्त पोखरा अभियानले पोखरा सुन्दर र सफा रहनुका साथै सीप भएका महिलाहरुले वैकल्पिक झोला बुन्ने र बजार पाउने भएकाले यो पनि फाईदाको विषय भएको बताईन् । कार्यकारी अधिकृत अधिकारीले पनि व्यापारिक संस्था बाहेक टोल विकास संस्था, महिला समुहरु सामुहिक रुपमा आएमा सहयोग गर्ने, सहकार्य गर्ने नीति अवलम्वन गरिसकेको जनाए ।

पेट्रोलको वाइप्रोडक्ट इथाइलिन नामक पोलिमर नै प्लाष्टिक बनाउ“दा प्रयोग गरिने प्रमुख तत्व हो । इथाइलिन पोलिमर ४० प्रतिशत र अन्य ६० प्रतिशत डाइ,मोडीफायर—पिलेट, कम्प्याटिवीलीटी, फिलर, स्टावीलाइजर, एडीटीभ जस्ता वस्तुहरु मिसाएर प्लाष्टिक बनाइन्छ । बजारमा उपलब्ध कालो झोला उच्च घनत्व भएको इथीलिन हो भने कपडा बेर्न प्रयोग गरिने साधा प्लाष्टिक कम घनत्व भएको इथीलिनबाट बनाइएको प्लाष्टिक हो । बजारमा अहिले पुनः प्रयोग वा रिसाइकल गर्न नमिल्ने,बलियो ५,८ माइक्रोनका झोला उपलब्ध छन् ।

प्लाष्टिक मानव स्वास्थ्यका लागि घातक

प्लाष्टिकको झोला र गिलास मात्र मानव स्वास्थ्यका लागि खतराजनक भने होईन । पोलिथिनका झोला उत्पादन गर्न डाइअक्सिन नामक स्वास्थ्य तथा पर्यावरणलाई हानी पु¥याउने रसायन प्रयोग गरिन्छ । जसबाट वातावरणमा वनस्पतिको क्षय हुने, पशुपंक्षीको छाला, कलेजो र मृगौला सम्बन्धी विविध रोगहरु यसबाट हुने गर्दछ । क्यानाडामा अफ्रिकी हरियो बा“दरमा गरिएको परीक्षण अनुसार प्लाष्टिकका भाडावर्तन बनाउन प्रयोग गरिने वी.पी.ए.– विष्फेनोल ए नामक रसायन मानव मस्तिष्कलाई कमजोर पार्न जिम्मेवार रहेको वैज्ञानिक बताउ“छन् । वी.पी.ए. ले सिकाइ र बुझाई क्रियालाई प्रभावित पार्छ । विचार,क्रिया र भावमा समन्वय नरहने मानसिक रोगहरु सिजोफ्रेनिया,अल्जिमरस तथा डिप्रेशनको कारक हुन सक्छ ।

स्विडीस वैज्ञानिक तथा वातावरणविद्हरुले प्लाष्टिकमा रहेका फथेलेटस, गह्रौ धातु र नोक्सानी पु¥याउने पदार्थहरुले स्वास्थ्यमा घातक असरका साथै भु्रणमा असर पारी भु्रणको लिंगमा समेत परिवर्तन ल्याउन सक्ने बताएका छन् । प्लाष्टिकले बनेका जुत्ता, चप्पल, पाउदानमा गरिएको खोजमा पी.वी.सी. प्लाष्टिकलाई मुलायम बनाउन उपयोग गरिने फथेलेटसोले स्वास्थ्यमा घातक असर पार्दछ । जनावरमा गरिएको प्रयोगमा फथेर्लेप्सोले भ्रुणमा समेत असर पारेको तथा भ्रुणको लिंगमा समेत बदलेको देखिएको थियो । यसले कोषीकाहरु पनि नष्ट गर्दछ । क्यान्सर निम्त्याउँछ ।

प्लाष्टिक मुक्त बनाउने अभियान पोखरामा मात्र होईन । राजधानी सहितका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा पनि धमाधम अघि बढिरहेको छ । संसदको बातावरण संरक्षण समितीले २०७१ भदौ ९ गते सरकारलाई प्लाष्टिक झोला मुक्त गर्न र बिकल्प दिन निर्देशन दिएपछि विज्ञान,प्रविधी र वातावरण मन्त्रालयको अगुवाईमा काठमाण्डौ उपत्यका २०७२ बैशाख १ गतेबाट प्लाष्टिक झोलामुक्त घोषणा गरिसकिएको छ ।

ठीक एक वर्ष अघि चैत १२ कै दिन नेपाल प्लाष्टिक उत्पादन संघले प्लाष्टिक उत्पादनसँग आबद्ध भएर काम गर्ने मजदुरकोे रोजीरोटीमा समस्या भएको र सरकारले आफूहरूलाई उपयुक्त विकल्प नदिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश समेत जारी गरेको छैन । सर्वाेच्चमा परेको रिटमा समेत अदालत सकारात्मक भईदिएपछि घोषणाले मुर्त रुप पायो । मुद्धा विचाराधिन अवस्थामा छ । तर निषेध भएपनि प्लाष्टिकका झोलाहरु उत्पादन र प्रयोग पनि भईरहेका छन् ।

पोखरामा पनि उचित विकल्प र आवश्यक तयारी विना घोषण भए नाम मात्रमा सीमित हुनेछ । त्यसैले, नगरपालिकाले विज्ञ सहितको उपस्थितिमा सरोकारवाला सबै पक्षहरु प्लाष्टिक उद्योगी, व्यवसायी, राजनीतिकद दल, उपभोक्ता, वडा प्रतिनिधिहरु सहित सर्वपक्षीय बैठक बसेर कार्ययोजना बनाई अघि बढे पोखरा साँच्चै प्लाष्टिक मुक्त नगर बन्न सक्छ । सफा, सुन्दर र वातावरणमैत्री नगर बनाउने अभियान सबैको सहमति विना सम्भव छैन । पोखरालाई राम्रो बनाउने अभियानमा सबैको साथ सहयोग जरुरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ