आफ्नै जवानबाट हैरान कास्की प्रहरी: जहाँ जाने उतै पैसा माग्ने, यौन व्यवसायी समेत छाडेनन्

आफ्नै जवानबाट हैरान कास्की प्रहरी: जहाँ जाने उतै पैसा माग्ने, यौन व्यवसायी समेत छाडेनन्

Police

प्रतिकात्मक चित्र

शनिबार बेलुका एक प्रहरी जवानलाई प्रहरीले नै पक्राउ ग¥यो । ती थिए वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी जवान किरण भुजेल ।भुजेल पहिलोपटक पक्राउ परेका भने होइनन् । उनी पक्राउ पर्नु जिल्ला प्रहरी कार्यालय कास्कीका लागि पनि नयाँ हैन ।

प्रहरीले नै उनलाई कहिले तास खेल्दै गर्दा पक्राउ गरेको छ भने कहिले महोत्सवमा पैसा असुली गरेको आरोपमा पक्राउ गरेको छ । केही समयदेखि उनले पोखरामा विभिन्न ठाउँमा यौन व्यवसायीसँग सादा पोसाकको प्रहरी हँु भन्दै पैसा उठाउँदै आएका थिए ।

कहिले संघीय प्रहरी कार्यालय त कहिले गण्डकी प्रदेश ४ प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी हुँ भन्दै उनले पैसा माग्दै आइरहेको पीडितले बयान दिएका छन् । उनले होटल अनुसार ३ हजारदेखि ५ हजारसम्म पैसा असुल्दै आएका थिए ।

शनिबार पनि पोखराको एक होटलमा उनले रक्सी पिएर पैसा तिर्ने बेला सादा पोसाकको प्रहरी हुँ भनेर पैसा मागेका थिए । सोही समयमा प्रहरीले नै उनलाई पक्राउ गरेको हो । प्रहरी जवान भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा राखिएको छ ।

गत माघ २९ गते भुजेलले पोखरा १ काँहु महोत्सवका केही स्टलबाट पैसा उठाएपछि प्रहरीले पक्राउ गरेको थियो । उक्त समयमा स्टलबाट उठाएको पैसाले भुजेलले रक्सी खाएर आयोजकलाई नै धम्की दिएपछि आयोजकले नै प्रहरीको जिम्मा लगाएका थिए ।

उक्त समयमा जिल्ला प्रहरी कार्यालय कास्कीले भुजेललाई सिल्दजुरेमा सरुवा गरेको थियो । त्यता पनि उनले स्थानीयसँग पैसा मागेको गुनासो आएपछि वडा प्रहरी कार्यालय रामबजार खटाइएका हुन् ।

भुजेलले पछिल्लो समय गरेको असुलीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनले भुजेल दोषी भेटिए विभागीय कारबाही गर्ने बताए ।

समाधान दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ