माछापुच्छ्रेको आँगनमा विश्वकै मनमोहक क्रिकेट मैदान, पिपिएलका लागि तयार

माछापुच्छ्रेको आँगनमा विश्वकै मनमोहक क्रिकेट मैदान, पिपिएलका लागि तयार

Pokhara_Cricket_Ground

file photo

पोखरा – १२ वर्ष अघि । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी (एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो । खिचेका थिए फोटो पत्रकार सुदर्शन रन्जितले।

अहिले समय फेरिएको छ । मैदान बनेको छ । सुनसानप्राय: हुने पोखरा रंगशालाको क्रिकेट मैदानमा यतिखेर हराभरा छ । पिचमा केही कामदार रोलर लगाइरहेछन् । कोही आउटफिल्डको लेभल मिलाइरहेका भेटिन्छन् । दर्शक बस्ने अस्थायी प्यारापिट थपक्क राखिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) को स्वागतमा पोखरा तम्तयार छ । पोखरावासी कात्तिक ९ देखि २० सम्म हुने क्रिकेट कुम्भको प्रतीक्षामा छन् ।  जुन प्रतियोगितालाई क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ ।

सन २००७ अघि पोखरा रंगशालामा क्रिकेट मैदान थिएन भन्दा फरक पर्दैन । पत्रकार सुदर्शन रन्जितको फोटोले अवार्ड जितेपछि क्रिकेटप्रतिको क्रेज ह्वात्तै बढेको थियो । २००७ को फोटोले दिलाएको अवार्डले पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनायो । आम खेलकुदप्रेमीको चाहना क्रिकेट मैदान बनाउनुपर्छ भन्ने दबाव रह्यो । अनि शुरु गरियो मैदान निर्माण । तत्कालिन क्यानका अध्यक्ष विनयराज पाण्डेको सक्रियता, कास्की जिल्ला क्रिकेट संघका ततकालिन अध्यक्ष डा. विरेन्द्रसिंह गुरुङको पहलमा बर्तमान क्रिकेट मैदान बनाउन शुरु गरियो ।

https://youtu.be/DhXb7czANQw

‘पिपिएल पोखराको ब्राण्ड हो । आईसिसीले मान्यता दिएको छ । हरेक खेललाई आईसिसीले अपटेड गर्छ । गेमलाई प्रत्यक्ष नियाल्छ,’ पोखरा प्रिमियर लिगका आयोजक क्विन्ट इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले भने, ‘त्यो ब्राण्ड पोखराबासीसँगै हुन्छ । हामी त आयोजना र व्यवस्थापन मात्रै गर्ने हो ।’

पिपिएलको पहिलो संस्करण सबैलाई चासो छ । त्यही अनुसारको तयारी गरिएको छ । प्रबन्ध निर्देशक लामा पोखराको पिच अन्तर्राष्ट्रियस्तरको बनाएको बताउँछन् । नेपालभरि नै यत्तिको राम्रो मैदान पाउन गाह्रो भएको उनले सुनाए । ‘हामीले बनाएको पिचमा स्पाइक जुत्ता लगाएर खेल्न मिल्छ,’ उनको दाबी छ, ‘राजधानीबाहिर यस्तो पिच पहिलो हो ।’ तीन महिनाअघि र अहिलेको मैदानमा पूरै परिवर्तन भएको उनको दाबी छ । क्रिकेटका अन्य लिगमा देखिएका कमजोरी नदोहोर्‍याउने गरी तयारी गरेको उनले बताए ।

‘आईसीसीका म्याच अफिसियल्स र स्टाफलाई दिने खर्च मेनटेन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘फ्रेन्चाइजलाई दिने होटलको व्यवस्थापन हामी आफैंले गरेका छौं ।’ क्रिकेटरका फ्यानलाई प्रतियोगितामा संलग्न गराइराख्न फेन्टासी प्रिमियर लिग गर्ने भएकोले अन्यभन्दा पीपीएल फरक भएको उनी बताउँछन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्का घरेलु प्रतियोगिता भइरहँदा स्थानीयले अवसर पाउने बताउँछन् । ‘पीपीएलले गर्दा नै मैले पाँच वर्षपछि पोखरा आएर क्रिकेट खेल्दै छु,’ चितवन राइनोजका मार्की प्लेयर उनले भने, ‘यसले आगामी वर्षमा पनि यहाँ आएर खेल्ने ढोका खुल्छ ।’

क्विन्सका प्रबन्ध निर्देशक लामा पीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै अवलोकन गर्ने भएकोले महत्त्वपूर्ण रहेको बताउँछन् । उनले पीपीएल पछि अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुन सक्ने सम्भावना औंल्याए । ‘माछापुच्छ्ेर र अन्नपूर्ण हिमशृंखलालाई पृष्ठभूमि राखेर क्रिकेट खेल्न पाउनु चानचुने कुरा होइन,’ उनले भने, ‘यसपछि यहाँका खेलाडीले पनि गुणस्तरीय मैदान पाउनेछन् ।’

राष्ट्रिय क्रिकेट खेलाडी, विदेशी खेलाडीसँग घरेलु खेलाडीले पनि सहभागिता जनाई एक्पोजरको मौका पाउने छन्। पिपिएल स्पोर्टस टुरिज्मको पहिलो खुडकिलो भएको पर्यटन व्यवसायीको ठम्याई छ ।

राउन्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा प्लेअफ हुँदैन । लिगमा पहिलो हुने टिम फाइनलमा पुग्छ । दोस्रो र तेस्रो हुने टिमबीच हुने खेलको विजेता पनि फाइनल पुग्छ ।

पीपीएलको खेल तालिका सार्वजनिक भइसकेको छ । प्रतियोगितामा ६ टिम सहभागी छन् । पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदै छ । चितवन राइनोज, बुटवल ब्लास्टर्स, काठमाडौं रोयल्स र एक्सपर्ट धनगढीले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

पीपीएलमा एउटा टिमले न्यूनतम १५ देखि अधिकतम १८ खेलाडी राख्न पाउने प्रावधान छ । प्रत्येक क्लबले अक्सनबाट १० खेलाडी आफ्नो टिममा आबद्ध गरिसकेका छन् । टिमले दुई स्थानीय र दुई विदेशी खेलाडी राख्नैपर्छ ।

सन्दर्भ सामाग्रीः कान्तिपुर र नागरिकबाट प्रकाशित समाचार

तस्विरः सुदर्शन रञ्जित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ