वडाध्यक्षको चिनारी सफल किसान : बाख्रापालनबाट वार्षिक ७० लाख आम्दानी

वडाध्यक्षको चिनारी सफल किसान : बाख्रापालनबाट वार्षिक ७० लाख आम्दानी

Bakhara Palan Tyson Malla

किरण श्रेष्ठ, तनहुँ । घर नजिकैको छेउमा आधुनिक गोठ छ । जहाँ हुल बाख्रा घास खाइरहेका छन । एक हुल बाख्रा बीच एक अजंगको बोका पनि छ । जुन बोका केहि समय अघि मात्रै अष्ट्रेलियाबाट ल्याइएको हो । यो दृश्य हो तनहुँको भानु नगरपालिका–५ नाबरुङका कृषक एवं सोहि वडाका वडाअध्यक्ष प्रकाश मल्लको प्रकाश एग्रिकल्चर प्रालिको ।

भानु नगरपालिका–५, का प्रकाश मल्ल सोही वडाका अध्यक्ष हुन् । तर उनको परिचय वडा अध्यक्षमा मात्रै सीमित छैन । उनले आफूलाई किसानको रुपमा पनि चिनाउँदै आएका छन् ।

०६९ सालमा प्रकाश एग्रिकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय सुरु गरेका मल्लले १ सय ५० रोपनी क्षेत्रफलमा घाँस खेती समेत गरेका छन् ।

वार्षिक एक करोड बराबरको बाख्रा,बोका र पाठापाठी बिक्रि हुने मल्लले बताए । ‘कर्मचारीको ज्याला, तलब र बाख्राहरुको दाना औषधि गरेर वार्षिक ३० लाख लाग्छ,’ मल्लले भने,’७० लाख जति वार्षिक आम्दानि हुन्छ ।’

अहिले पाचँ वटा समुहमा ५० जनाको टिम बनाएर भानु ५ र ६ नम्बर वडा लाई बाख्राको पकेट एरिया बनाउन लागेको वडा अध्यक्ष मल्लले बताए । बाख्रा, बोका तथा पाठापाठीहरु बिक्रि गर्न कुनै चिन्ता नरहेको मल्ल बताउछन । नेपालभरका व्यवसायिक किसानहरु आफ्नै घरमा बाख्रा लिन आउने मल्लले बताए । किसान लाई सस्तो होस् भनेर बाख्राको स्रोतकेन्द्र बनाएको मल्लले जानकारी दिए । ५० प्रतिशत सम्मको लागि १ हजार, ७५ प्रतिशत लाई २ हजार र ८७ प्रतिशत लाई २५ सय र १०० प्रतिशत लाई ३ हजार प्रति केजीमा बिक्रि गर्ने गरेको मल्लले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्केर बाख्रापालन सुरु गरेका उनी अहिलेको आम्दानीबाट सन्तुष्ट छन् । ‘बाख्रापालन सुरु गरे, सुरुका दिनमा अलि बढी दुःख गर्नुपर्‍यो, तर बिस्तारै बाख्रा पनि राम्रो हुँदै गयो । अहिले पाँच-छ जना कर्मचारीलाई रोजगारीसमेत दिएको छु मल्लले बताए । छोरालाई पनि भेटेनरी डाक्टर बनाउन पढाइरहेको छु । जसले गर्दा बाख्रापालन व्यवसायमा समेत छोराको सहयोग पुगोस् ।

कर्मचारीलाई मासिक ७२ हजार रुपैयाँ खर्च हुने श्रीमती लक्ष्मी मल्लले बताइन् । उनले भनिन् ‘श्रीमान्ले बिहान–बेलुका बाख्रा, मौरी, कुखुरालगायतको काम आफैँ गर्नुहुन्छ, त्यसपछि खाना खाएर वडा कार्यालय जानुहुन्छ । उहाँ गएपछि मैले नै बाख्राको स्याहारसुसार गर्छु ।’ घरनजिकैको जमिनमा उनले घाँस खेती लगाएका छन् । बडहरे, डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राईखनियो, नेपिएर, किम्बुलगायतका विभिन्न घाँस लगाइएको छ । बाख्राका लागि चारवटा छुट्टाछुट्टै खोरको व्यवस्था मिलाइएको छ । फार्ममा हालसम्म ३ करोड रुपैयाँ लगानी गरिएको छ ।

अहिले कृषक मल्लको फार्ममा बाख्रासँगै मौरी, कुखुरा र दुईवटा अस्ट्रिचसमेत छन् । फार्म अवलोकन गर्न आउनेहरूलाई त्यहाँको मनोरम दृश्यमा रमाउन आफैँले होमस्टेको समेत व्यवस्था मिलाएका छन् । ककफाइट नाम दिएर दुई वर्षअघिदेखि पर्यटक भित्र्याउन बसोवासको व्यवस्था मिलाएका हुन् ।

फार्ममा अस्ट्रेलियन र अमेरिकन जातको बाख्रापालन गरिएको छ । उनी बिहान–बेलुका कृषिमा तल्लीन हुन्छन् भने दिउँसो स्थानीयको सेवामा रहन्छन् । फार्ममा हाल १ सय ५० बाख्रा र ५० पाठापाठी छन् ।

मल्ल व्यवसाय गरेर आम्दानी मात्र नभई स्थानीयका लागि उदाहरणीयसमेत बनेका छन् । सोहीकारण मल्लले युवा स्वरोजगार पुरस्कार, गट मिसन पुरस्कार र ०७४ मा राष्ट्रपति पुरस्कार समेत पाइसकेका छन् ।

बाख्रा संगै होमस्टे र माछा पालन

बाख्रा पालन सुरु गरेपछि बाख्रा देशका विभिन्न टाढा टाढा स्थानबाट बाख्रा अवलोकन गर्न आउने र उक्त स्थानमा व्यवस्थित रेस्टुरेन्ट तथा लाजहरु नभएको हुँदा होमस्टे समेत संचालन गरेको मल्लले बताए । अहिले सामुदायिक होमस्टेमा १८ घर रहेको र आफ्नो छुट्टै होमस्टे समेत रहेको मल्लले जानकारि दिए । विदेश जानुपर्दैन यहि आफ्नै ठाउँमा पसिना बगाउने हो भने यहि पैसा कमाउन सकिन्छ वडाअध्यक्ष मल्ल बताउछन ।

कृषि लाई नै मुख्य प्राथमिकतामा राखेको वडाअध्यक्ष मल्लले बताए । कृषि र पर्यटन नै नेपालको मुख्य आर्थिक स्रोतको माध्यम भएको हुदाँ यसलाई मुख्य जोड दिएको मल्लले बताए । पानिको सदुयोग गर्दै मावर जातको १ हजार माछा पालेको मल्लले बताए ।

दुध दुहुने बाख्रा

मल्लले आफ्नो फर्ममा दुध दुहुन मिल्ने अर्थात अन्य सामान्य बाख्रा भन्दा बढि दुध दिने बाख्रा समेत पालेका छन । दैनिक एउटा बाख्राबाट ३ लिटर सम्म दुध दोहेको र उक्त दुधबाट चिज बनाउने गरेको मल्लले बताए ।

‘मेरो मुख्य उद्देश्य भनेकै एग्रो टुरिजम हो,त्यसले गर्दा बाख्राको दुधको चिजहरु बनाउन थालेको हो’, मल्लले भने,’नेपालको चित्लाङ्गमा अशोक सेन ठकुरीले गरेको र त्यसपछि आफुले पनि उक्त कार्य गरेको हो ।’ अन्य बोर बाख्रामा पाठापाठी लाई दुध नपुगेको खण्डमा उक्त दुध खुवाउने गरेको उनले बताए । दुध एकदमै मिठो र स्वास्थ्य लाई समेत राम्रो हुने मल्लले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ