‘दिदीलाई घरमा हेला, भाइ पराई भूमिमा…’ यस्तो पो तीज गीत (भिडियो सहित)

‘दिदीलाई घरमा हेला, भाइ पराई भूमिमा…’ यस्तो पो तीज गीत (भिडियो सहित)

Rajkumar

भाञ्जाभाञ्जी जन्मेका छन्, हुर्काउँला, बढाउँला,
राम्रोसँग मावलीमै राखी पढाउँला ।
सबले भन्छन् दुःखपछि एक छिन सुख आउनेछ
पीर नगर भगवानले बाटो लाउनेछ ।

तीज पर्व चेलीबेटीकै हो । आमाबाबुलाई छोरी र दाजुभाइलाई दिदीबहिनीको अभाव यस पर्वमा भईहाल्छ । तीजतिहार लगायतका चाडपर्वमा माईतिकै आँगन टेक्ने रहर हरेक चेलीबेटीलाई हुन्छ । परापूर्वकालदेखिको हाम्रो तीज संस्कृति अहिले विकृत भईरहेको छ । कसैको मनभित्र बास बस्न नसकेपनि तीजे पर्वमा मात्र रत्यौली भाकामा कथित गीत निकालेर युट्युबमा बास बस्ने जमात् बढ्दैछ ।

यो विकृत जमातले संस्कृतिमाथि ठाडो प्रहार गर्दा लोकसंस्कृतिका खम्बा बनेर अघि बढ्नेहरु टुलुटुलु हेर्न बाध्य छन् । किनभने युट्युबमा पैसा कमाउनेहरु उनै छन् । कथित् हिट गीत बनिहाल्छ, आफै मख्ख छन् । वर्षदिन हराउँछन् । तीजमा रत्यौली पारामा गीत निकाल्छन् । नेपाली समाज अपाच्य हर्कत गर्ने दुई चार जना नाम चलेका कथित मोडल राख्छन् । चिलायो, कनायो, पिलो, गिलोले गीतमा भ्यु बढ्छ । अनि उनीहरु नै भन्छन्ः ‘चलेकै यस्तै छ । किन हेर्नु त ?’, एक किसिमले हो भने सही पनि हो । हेरिदिनेले त्यही हेरिदिएपछि तर ‘तीजगीत भनेर नजोडीकन बजारमा निकाले भयो नि’ भन्नेहरुको जवाफले उनीहरुको प्रतिक्रियालाई माथ गरिदिन्छ ।

केहि यस्ता युवा गायकहरु छन् । जो विशुद्ध लोकसंस्कृतिको जगेर्ना हेतु संगीतकर्ममा होमिएका छन् । यसैमध्ये एक ठिटो हुन् राजकुमार बानियाँ । भर्खरै दुई दशक उमेर नाघेका यी धादिङे ठिटोले दर्जनौं गीतहरु बजारमा ल्याईसकेका छन् । विदेशिएका भाइ र घरमा हेला भएर दुःख पाएकी दिदीबीचको फोन वार्तालापलाई यति मिठो भाकामा उनले तीजे गीत बनाएर उनेका छन् ।

हेर्नुहोस् गीत:

यस्तो गीत न त युट्युबमा धेरैले हेर्लान् न त तीजे महोत्सवमा गाउन नाच्न नै मिल्छ तर राजकुमारले यही गीत रोजे । निकै मिठो स्वरका धनी राजकुमार बिहानदेखि राति दुई बजेसम्मै लोकसंगीतकर्ममै छन् । यही हो आफू चिनिने, आफू बाँच्ने क्षेत्र । त्यसैले आफू नरहँदा पनि सम्झिरहोस् भन्ने चाहन्छन् । हिजो चिलायो, कनायो, आज पिलो गिलो गीतहरु हराउँछन्, बिर्सन्छन् यस्ता गीतहरु सधैं रहिरहन्छन् । जसरी प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानेका ऊबेलाका दिदीभाइ तीजगीत सम्झेर अहिले यस गीतलाई पनि उस्तै हो भन्न सक्छौं । राजकुमार भन्छन्ः “चल्नु र राम्रो हुनु फरक हो । चल्तीमा म नरहूँला, तर राम्रो हुने प्रयासमा सधैं रहन्छु । एकपटक चलेको सधैं चल्दैनन्, राम्रो सधैं राम्रो भईरहन्छ ।”

यस गीतमा राजकुमारलाई साथ दिएकी छिन् जस्सु अधिकारी (सम्झना) ले । यसका लय र शब्द पनि राजकुमारकै हो । गाउँमा आमा हजुरआमाले गाउने भाकामा बुनिएका शब्दहरु निकै पीडादायी छन् । तीन भाइका एक दिदी, माईतमा रहुन्जेल पनि छोरा जस्तो सुख नपाएको (छोराछोरी भेदभावको शिकार), बाबुआमाले अन्माएर दिएको घर पनि ईज्जतका कारण छाड्न नसक्ने, सासु ससुराको कठोर व्यवहार, वर्षदिनको चाडपर्वमा पनि छुट्टी नपाएको, लोग्ने सधै रक्सीमा टिल्ल परेको अवस्थालाई गीतमा समेटिएको छ ।

उता, परदेशमा रहेको भाइलाई दिदीबारे सबै जानकारी भएपनि फोनमा बोल्नुबाहेक गर्न सक्ने सामथ्र्य केहि नरहेको, अब भाञ्जाभाञ्जीलाई मामाघरमै राखेर बढाउने पढाउने भन्दै माया गर्ने दिदीलाई ढाढस दिएर दुःखको साथी बनेका छन् ।

आफ्नै जलेश्वरी म्युजिक रहेको राजकुमारले यस गीत गोर्खा चौतारी म्युजिकबाट उत्पादन तथा वितरण गरेका छन् । भिडियोको सशक्त पक्ष भनेको दिदीको भूमिकामा रहेकी शोभा त्रिपाठी हुन् । लोकगीत सम्बन्धित कार्यक्रमबाट रेडियो र टिभीबाट आफूलाई स्थापित गरेकी उनले आफ्नो भूमिकालाई न्याय गरेकी छिन् । भाइको भूमिकामा सुनिल लामिछाने छन् । राजन बानियाँ लगायत भाइका भूमिकामा छन् । भिडियोको निर्देशन कपिल लामा, सम्पादन सुजन शाहीले गरेका छन् । रितेश गुरुङको प्रस्तुतिमा रहेको सो गीतको भिडियो छायांकन हरिश महराले गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ