पोखरामा तिब्बती शरणार्थीलाई नागरिकता सिफारिस प्रकरणः वडाध्यक्ष छुटे, कर्मचारी हिरासतमै

पोखरामा तिब्बती शरणार्थीलाई नागरिकता सिफारिस प्रकरणः वडाध्यक्ष छुटे, कर्मचारी हिरासतमै

Ran bahadur thapa

पोखरा । शरणार्थीलाई नेपाली नागरिकताका लागि सिफारिस दिने पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापालाई महानगरको जमानीमा छोडिएको छ । जनताको दैनिक कामकाजमा असर पर्ने भन्दै उपमेयर मञ्जुदेवी गुरुङको जिम्मा जमानीमा उनलाई छोडिएको हो । ‘गम्भीर केस परेन । उसले प्रमाण नष्ट गर्दैन । भाग्दैैन र मुद्धामा पनि असर पर्दैन,’ कास्की प्रहरी प्रबक्ता डीएसपी राजन केसीले भने, ‘महानगरले अनुरोध गरेपछि हाजिर जमानीमा छोडिएको हो । सरकारी वकिलको पनि यसमा समर्थन छ ।’ थापाले तलमाथी गरे त्यसको जिम्मेवारी जमानी बस्नेले लिनुपर्ने उनको भनाई छ ।

कार्यवहाक मेयर मञ्जुदेवी गुरुङले आजैदेखि थापाले वडाध्यक्षको जिम्मेवारीअनुसार काम गर्ने बताईन् । ‘वहाँ आरोपित मात्रै हो । पूरै प्रमाणका आधारमा सिफारिस दिने मान्छे दोषी हुन सक्दैन । प्रमाण नपुगेर पनि सिफारिस दिएको भए सीधै कारबाही हुन्थ्यो । यसमा हामी केही भन्दैनथ्यौं,’ उनले भनिन्, ‘नाम र थरसँग मतलवको बिषय होईन । सबै प्रमाण लिएर आएको मान्छेलाई सिफारिस दिनु वहाँको गल्ती होईन । त्यसैले जनताको काम रोकिएको कारण छुटाउन आग्रह गरेको हो । वहाँ भाग्नुभयो भने त्यसको जिम्मेवारी म लिन्छु ।’

शरणार्थीलाई नागरिकतामा सिफारिस गरेको भन्दै थापालाई साउन ३१ गते पक्राउ गरिएको हो । उनलाई तोकिएको मितिमा उपस्थित हुने गरी फौजदारी संहिता बमोजिम नै छाड्न अनुमति दिईएको सरकारी वकिल कार्यालय कास्कीका न्यायधिबक्ता गुरुप्र्रसाद वाग्लेले जानकारी दिए । तर उनीसँगै पक्राउ परेका पञ्जिकाधिकारी राजेन्द्र पौडेल भने हिरासतमै छन् । वडासदस्य ज्ञानबहादुर थापा पनि हिरासत मुक्त भएका छन् ।

कर्मचारीलाई भित्रै राखेर जनप्रतिनिधि मात्रै निकाल्न महानगरले पठाएको पत्र नै शक्तिको दुरुपयोग भएको श्रोत बताउँछ । ‘एउटै घटनामा पक्राउ परेका कर्मचारी चाहीँ दोषी हुने, जनप्रतिनिधि चाहीँ दोषी नहुने भन्ने हुन्छ ? जन्मेदेखि त्यही ठाउँमा हुर्केको मान्छेले नचिनेको मान्छे कर्मचारीले कसरी चिन्छन्,’ श्रोत भन्छ, ‘यो सरासर कर्मचारी फसाउने र आँफू उम्किने खेल हो । सत्ताको दुरुपयोग भयो ।’

पोखरा २५ हेमजास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका सरु थापामगर र तासी आङ्मो थापामगरलाई आफ्नो छोरी बनाई सराङकोटका लेखबहादुर थापाले नागरिकता बनाईदिएका थिए । नागरिकता लिने २ युवतिसहित त्यसमा सनाखत गर्ने बाबु, सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने ५ जना सहित ८ जनालाई साउन २४ गते पक्राउ गरेको छ । उनीहरु अहिले पनि हिरासतमै छन् ।

प्रशासनका कर्मचारी फरार

नागरिकता बनाउँदा हस्ताक्षर गर्ने शाखा अधिकृत ऋषिराम आचार्य फरार छन् । पक्राउ पुर्जी जारी गर्नुअघि नै उनी विदामा थिए । पक्राउ पुर्जी जारी गरेपछि खोज्दा फरार भैसकेको कास्की प्रहरीले जनाएको छ । ‘पक्राउ पुर्जी जारी गर्नु अघि नै उनी फरार भैसके छन् । अहिले खोजी भैरहेको छ,’ कास्की प्रहरीले भन्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ