परिवार सबै गुमाएकी अर्धचेत् सपना; ‘घर किन्छु भन्दा घरबार नै दैवले चुँड्यो’

परिवार सबै गुमाएकी अर्धचेत् सपना; ‘घर किन्छु भन्दा घरबार नै दैवले चुँड्यो’

sapana

पौडेर बाँच्न सफल सपनालाई सम्हाल्दै आफन्त । उनले २ छोरा र पति गुमाईन् ।

पोखरा । बेगनासतालमा शनिबार गैंडाकोटबाट परिवारसहित ससुराली आएका रवी खनालले चलाएको डुंगा दुर्घटना भयो । त्यस डुंगामा १० जना सवारमध्ये उनकी श्रीमती सपना र निशा पौडेल मात्र बाँचे । अरु ८ जनाको ज्यान बचेन ।

नवलपरासी गैंडाकोटकी सपना खनाल, श्रीमान रवि र छोराहरु शिव, शंकरका साथ पोखरा आईन् । नेपाल आर्मीमा जागिरे रवीको भर्खैरै बढुवा भएको थियो । बढुवा भएको खुसीयालीमा पोखरा घुमघाम गर्ने, आफन्तसँग भेट्ने र पोखरातिरै घर किन्ने भनेर खनाल परिवार पोखरा आएको थियो । तर घर माइततिरै घर किन्ने सपना बोकेर आएकी सपना सबै परिवार नै गुमाएर बेघरबार बनिन् ।

शनिबार दिउँसो मोहोरियास्थित एक घरमा रुवावासी चलिरहेको थियो । दुर्घटनापछि पौडी खेलेर तालबाट निस्केकी सपना खनाल आफन्तलाई अंगालो हाल्दै रोइरहेकी थिइन् । भक्कानिँदै उनले भन्थिन् ‘मैले नजाउँ त भनेकै थिएँ, मेरो बाबा मलाई छोडेर जानु रै्छ र जिद्धि गर्नुभयो ।’

सपनाका अनुसार, यसअघि रवीले कहिल्यै पनि डुंगा चलाएका थिएनन् । ससुराली जाँदा बेगनासतालमा एकपटक आँफैले डुंगा चलाएर ताल घुम्ने रहर सुनाएका थिए रवीले ।

रवीकै जोडबलमा, डुंगा आफैले लिएर जाने योजना भयो । आफूसहति ९ जना भएपछि उनले डुंगा अगाडि बढाएका थिए । पाहुनालाई एक्लै डुंगामा छोड्न नसकेर कमल अर्को डुंगा लिएर पछि लागेका थिए । सपना कमलकी साढुकी छोरी हुन् । पोखरामै घर किन्ने भनेर रवीले २ दिन पहिला गैंडाकोटको घर बेचेका थिए । घर बेचेर लिएको चेक पनि रवीकै खल्तीमा थियो । ‘घर किन्छु भन्दा मेरै घरबार नै दैवले चुँड्यो,’ अर्धचेत अवस्थामा सपनाले भक्कानिँदै भन्थिन् ।

लिब्दी किनार आउन सय मिटरजति बाँकी थियो । अब त पार हुन लागियो भनेर सपनाले ढुक्कको सास फेरेकी थिइन् । त्यतिबेलासम्म डुंगाको पिँधमा पानी भरिएको थियो । पानी पसेपछि केटाकेटी चल्न थाले । ठाउँ छाडेर उनीहरु उठे ।

पानीले पिँध भरिएको देखेपछि रवी पनि आत्तिए । खियाउन छाडेर बच्चाबच्ची सम्हालन पुगे । यत्तिकैमा डुंगा कोल्टिहाल्यो । पानीले डुंगामा भरियो । सपनाले छोराहरु शंकर र शिवलाई दुबै हातले च्यापिन् । उद्धार गर्ने कोहि नहुँदा छोराहरु गुमाउनुपरेको सपनाले रुँदै बताईन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिएँ, उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के,’ सपना बोल्न सकिनन् ।

जसोतसो पौडी खेलेर उत्रने कोसिस गर्दा अनिता हिमाली, दिलकुमारी जलारी लगायतका किशोरीले उनको गुहार सुनिन् । बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ ।

डुंगा चलाएको अनुभव नभएका ज्वाइँले डुंगा चलाउने रहर गरेपछि कमलराज कँडेल उनीहरुको पछि पछि अर्को डुंगा लिएर पुगेका थिए । तर केही पर पुगेपछि डुंगा पल्टेको देख्नेबित्तिक कमल आफूले चलाएको डुंगामै बेहोस भएका थिए ।

यो पनि पढ्नुहोस् (क्लिक गर्नुहोस्)

रेजिनाको बिलौना, मामाघर गएका आमा र भाइ बेगनास तालमै गुमाईन्

[अपडेट] यसरी भयो बेगनासमा डुंगा दुर्घटना

स्थानीयले कमल कँडेल (गणेश), कृष्णकुमारी बजगाईं, जमुना कँडेल गैह्रै र निशा पौडेललाई उद्दार गरी अस्पताल पु¥याएका थिए । जमुनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नपुग्दै र बजगाईंको लेखनाथ लायन्स सामुदायिक अस्पतालमा मृत्यु भएको हो । कमल र निशाको लेखनाथमै उपचार गरिएको छ ।

५ जना मात्र चढ्नुपर्ने डुंगामा सानाठूला गरी १० जना थिए । उनीहरु बेगनास गाउँका कमल र शोभा कँडेलको घरमा गरिएको दर खाने कार्यक्रममा आएका थिए । केहीबेर डुंगामा सयर गर्नेक्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा पोखरा–२८, कालिकाकी कृष्णकुमारी बजगाईं र तनहुँ, भिमाद ५ की जमुना कँडेल गैह्रै सहित गैंडाकोट–४ का सपनाका पति ३२ वर्षीय रवि खनाल र २ छोराहरु ८ वर्षीय शिव र ७ वर्षीय शंकर, पोखरा कालिका घर भई बागलुङ बसपार्क बस्ने १८ वर्षीया मनिषा बजगाईं, जमुनाका छोरा ५ वर्षीय रंजित गैह्रे र निशाका छोरा ५ वर्षीय प्राचीन पौडेलको मृत्यु भयो । ६ जनाको शव आइतबार विहान साढे १० देखि १२ बजेसम्ममा तालबाट निकालिएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

यसअघि, ६ वर्ष पहिला बेगनासतालमा परिवारसहितको डुंंगा डुबेको थियो । डुंगामा यात्रारतमध्ये लाइफ ज्याकेट लगाएका बाँच्न सफल भए । ज्याकेट नलगाएका ५ जनाको डुबेर मृत्यु भयो । त्यसपछि जिल्ला प्रशासन कास्कीले बेगनास र फेवामा लाइफ ज्याकेट अनिवार्य र्गयो । व्यावसायिक डुंगामा त यो नियम लागु भयो । तर घरायसी प्रयोगका डुंगालावालाले यो नियमलाई बेवास्ता गर्दै आए ।

शनिबार बेगनासतालमा यस्तै घटना भयो । चुहिने डुंगा, सिकारु चालक र बिना लाइफ ज्याकेटको यात्राका कारण यस्तो दुःखद घटना भयो । पोखरा ३१ बेगनासको लिब्दीदेखी सय मिटर पर डुंगा दुर्घटना भएको थियो ।

  • लेखनाथ पत्रकार स्मिता अधिकारीको सहयोगमा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ