लमजुङमा शैक्षिक अन्तरक्रिया: सरोकारवाला भन्छन्, ‘पढाउनुपूर्व शिक्षकले विद्यार्थीलाई पढ्नु आवश्यक’

लमजुङमा शैक्षिक अन्तरक्रिया: सरोकारवाला भन्छन्, ‘पढाउनुपूर्व शिक्षकले विद्यार्थीलाई पढ्नु आवश्यक’

edcational interaction prgrm

श्यामशितल परियार, लमजुङ । शिक्षकले सबैभन्दा पहिले विद्यार्थीलाई पढ्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सुन्दरबजार नगरपालिका वडा नं ६ मा रहेको सयपत्री आवसीय माविमा आयोजित एक शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले विद्यालयमा सबैभन्दा पहिले शिक्षकले विद्यार्थीलाई पढी उनीहरुलाई पढाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै सुन्दरबजार नगरपालिकाका प्रमुख जनकरा मिश्रले विद्यालयमा शिक्षकले पहिले विद्यार्थीलाई पढ्नु जरुरी रहेको बताए । ‘शिक्षकले विद्यार्थीको मनोभावना बुझ्नु जरुरी छ । उसको मनोभावना बुझी पढाउन सके मात्रै पढाईप्रति विद्यार्थीको ध्यान खिच्न सकिन्छ,’ उनले भने ।

शिक्षकले प्रविधिको उच्चतम प्रयोग गरी शिक्षण गराउनुपर्नेमा समेत उनले जोड दिएका छन । अव विस्तारै नगरमा रहेका सबै मावि विद्यालय आवसीय रुपमा जानुपर्ने अवस्था आएको पनि उनले बताएका छन ।

विकासको मुख्य जड नै शिक्षा रहेकाले नगरमा शिक्षाको विकासका लागि नगरपालिकाले दिल खोलेर लगानी गर्नेसमेत बताए । ‘शिक्षा क्षेत्रमा लगानी गरिनेछ । तर त्यसको आशातित परिणाम आउनुपर्छ । यसका लागि सबै एक भई अघि बढ्नु आवश्यक छ,’ उनले भने ।

विद्यालयको समग्र पक्षको विकासको विषयमा केन्द्रीत विद्यालयले सरोकारवालाबीचमा शनिबार शैक्षिक अन्तरक्रिया गरेको हो । कार्यक्रमकै अवसरमा बोल्दै सामाजिक अभियन्ता एवम् सर्वोदय श्रेवाआश्रमका अध्यक्ष कृष्णराज ओलियाले विद्यालयले विद्यालयमा विद्यार्थी झिकाउने, टिकाउने, सिकाउने र बिकाउने खालको शिक्षा दिनु अत्यावश्यक रहेको बताए ।

यसैगरी, विद्यालयका प्रिन्सीपल ज्ञानेन्द्र शर्माले सयपत्री मावि सार्वजनिक शैक्षिक गुठीमा दर्ता भई सञ्चालन भएको बताए । विद्यालयको शैक्षिक स्तर माथि उकास्नका लागि विद्यालयले योजना बनाएको र ती योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पक्षमा विद्यालय रहेको समेत उनले जानकारी गराए ।

‘आचारसंिहता निर्माण गरिनेछ । प्रिन्सीपलसंग व्यवस्थापन समिति र शिक्षकसंग प्रिन्सीपलले वार्षिक शैक्षिक करार सम्झौता गर्नेछन् । वर्षभरी आफुले गरेका शैक्षिक प्रतिवद्धता पुरा गर्ने दिशामा हामीहरु दत्तचित्त भई अघि बढ्नेछौँ,’ उनले भने ।

शैक्षिक सामग्रीसहितको नियमित शैक्षिक क्रियाकलाप अघि बढाईने समेत उनले बताएका छन । विद्यालयका नवअध्यक्ष विष्णुकुमार श्रेष्ठले विद्यालयलाई प्रगतिपथमा लैजान सबैसंग सहकार्य र सहमतीका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै सरोकारवालाहरुले बोल्दै नगरपालिकामा शिक्षाको स्तर माथि उकास्नका लागि सामुदायिक र नीजि दुवै विद्यालयबीच सहकार्यका साथै स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शैक्षिक विकासका लागि सबै जुट्नुको विकल्प नरहेको समेत उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ