तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन चार कम्पनीद्धारा बोलपत्र पेश

तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन चार कम्पनीद्धारा बोलपत्र पेश

Tanahu_Hydro_dam

तनहुँ । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका ४ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतबार ४ कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । दातृ निकाय एसियाली बिकास बैक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आहन गरिएको थियो ।

बोलपत्र पेश गर्ने कम्पनीहरुमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम/कालिका कन्ट्रक्सन,नेपाल जेभी रहेका छन् ।

कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए ।

‘प्राविधिक बोलपत्रको मूल्याङकन आगामी भदौको दोस्रो साता (अगस्ट २०१९)भित्रमा सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउँछौं, एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं’ उनले भने । ‘कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको थियो ।

सुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएकोमा बोलपत्र पेश गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो ।
निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्ने छ ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एसियाली विकास बैक (एडीबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ ।

सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds