मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा सोमबारदेखि यार्तुङ महोत्सव, तयारी पूरा

मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा सोमबारदेखि यार्तुङ महोत्सव, तयारी पूरा

yartung

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवामा सोमबारदेखि हुने चार दिवशीय यार्तुङ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव हुन लागेको हो ।
सोमबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले समुद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । हिमाली संस्कृतिको जीवन्तता र यस क्षेत्रको पर्यटन प्रवद्र्र्धन गर्न महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरूङले बताए । महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल, सेवेन ए साइड फुटबल प्रतियोगिता लगायतका कार्यक्रम राखिएको छ ।

महोत्सवमा गाउँपालिकाभित्रका १९ वटा गाउँको परम्परागत भेषभूषा प्रदर्शनका साथै त्यहाँका विविध संस्कृति देखाइने छ । महोत्सवमा करिब १० हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ । हिमाली क्षेत्र र त्यहाँका प्राचीन संस्कृतिको पर्यटकीय विकासका महत्वपूर्ण आधार भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए ।

https://www.facebook.com/gandaknews/videos/2122884268016732/

उनका अनुसार मुक्तिनाथमा हुने यार्तुङ महोत्सवसँगै त्यस क्रममा गरिने विविध सांस्कृतिक कार्यक्रम र साहसिक पर्यटनका खेलले यहाँको पर्यटकीय विकासमा अहम भूमिका निर्वाह गर्नेछ । प्राचीन संस्कृतिको जगेर्नामा पनि महत्वपूर्ण सहयोग पुग्ने थपलियाले विश्वास व्यक्त गरे ।

के हो त यार्तुङ

हिमाली क्षेत्रमा बर्खायामको अन्त भई हिउँद याम सुरु हुने समयका रुपमा रमाइलो तरिकाले मनाउने पर्व हो यार्तुङ । बर्खायाममा पर्ने अविरल वर्षाको अन्त्यसँगै रमाइलो दिन आउने भन्दै यसलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । यार्तुङका अवसरमा हिमाली क्षेत्रमा विभिन्न किसिमका परम्परागत झाँकी, घोडा दौड र मीठो–मीठो परिकार बनाएर खाने परम्परा छ । यार्तुङमा नयाँ र राम्रो लुगा लगाउने परम्परा छ । महोत्सवका क्रममा हुने विभिन्न प्रतिष्पर्धात्मक खेलका लागि ठिनी, जोमसोम, स्याङ लगायतका गाउँमा युवाहरूले तयारी तीव्र बनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ