मुक्तिक्षेत्रमा बृहत यार्तुङ महोत्सव हुने

मुक्तिक्षेत्रमा बृहत यार्तुङ महोत्सव हुने

Yartung (1)

मुस्ताङ । सदियौं देखि मनाईंदै आएको परम्परागत यार्तुङ महोत्सव यसवर्ष देखि बृहत रुपमा सन्चालन गरिने भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

विगत वर्षहरुमा मुक्तिनाथ रानीपौवा पुराङको जनप्रिय युवा क्लवले संञ्चालन गर्दै आएको यार्तुङ महोत्सव यसपटकदेखि गाउँपालिकाको अगुवाईमा हुन लागेको हो । बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, जनप्रिय युवा क्लव, गाउँपालिका भित्रका १९ वटै गाउँका मुखिया, पुराङ रानीपौवाबासी र सरोकारवालाहरुको उपस्थिती थियो । उनीहरुले यार्तुङ महोत्सवलाई भव्य र सभ्य रुपमा संम्पन्न गर्न अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा ७१ सदस्यीय मुल आयोजक समिति समेत गठन गरेका छन् ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यातुङ महोत्सवलाई यसपटक बृहत रुपमा सञ्चालन गर्ने योजना रहेको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । उनका अनुसार गाउँपालिका भित्रको सांस्कृतिक विविधता प्रर्दशन, गाउँ गाउँ बिचका युवाहरुको सम्वन्ध प्रगाढ बनाउन यार्तुङ महोत्सव लाभदायी हुने विश्वास लिईएको छ । मेलामा स्थानीय उत्पादनको प्रर्वद्धन, धर्मसंस्कृतिको र परम्परा संरक्षणमा यार्तुङ मेलाले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गुरुङको भनाई छ ।

यसपटक ब्यापक जनसहभागितामा यार्तुङ महोत्सव हुने जनाईएको छ । यसका लागि जनप्रिय यूवाक्लव ,पुराङबासी तथा १९ वटै गाउँका यूवा प्रतिनिधि सम्भिलित उपसमिति समेत गठन हुने गाउपालिकाले जनाएको छ । यस पटक गाउपालिका भित्रका सबै गाउहरुले यार्तुङ महोत्सवमा सास्कृतिक झाँकी, घोडा दौड र परम्परागत मौलिक सम्भाव्यता पस्कने बताईएको छ ।

मुस्ताङको मुक्तिक्षेत्रमा हुने यार्तुङ महोत्सव बर्षेनी जनैपूर्णिमा अवसरमा संञ्चालन हुने गर्छ । यारको अर्थ हो बर्खा र तुङ अर्थ पर्व हो । यो समयमा खेतीपातीको सबै कामकाज सकेर आपसमा खुसी साट्न यार्तुङ मनाईने गरेको हो । महोत्सवको मुख्य आर्कषणको रुपमा घोडा दौडलाई लिने गरिन्छ ।

प्रतियोगितात्मक घोडा दौड र अतिरिक्त सो प्रर्दशन घोडा दौड हुने गर्छ । यसका अलवा फुटबल, तारो हान्ने खेल र विविध साँस्कृतिक कार्यक्रम हुने गर्छ । महोत्सवमा चर्चित ख्यातीप्राप्त कलाकार निम्त्याएर कन्सर्ट र साँस्कृतिक कार्यक्रम गरिने गरिएको छ । यार्तुङहरु मुस्ताङ लगायत डोल्पा, मनाङ लगायत देश विदेशमा रहेका मुस्ताङी पूख्यौली थलो फर्कन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ