स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

More than 4,000 students appear in SEE in Syangja

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट ४ हजार २ सय ७५ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अनुसार नियमिततर्फ ३ हजार २ सय २१ र ग्रेडवृद्धितर्फ १ हजार ५४ जना विद्यार्थी परीक्षा दिनेछन् ।

चैत्र १९ गतेबाट सुरु हुने परीक्षामा यसपटक छात्रको संख्या छात्राभन्दा बढी देखिएको छ । कुल २ हजार १ सय ७४ छात्र सहभागी हुँदा छात्राको संख्या २ हजार १ सय १ मात्र रहेको छ । यसअनुसार छात्र संख्या ७३ जनाले बढी छ ।

प्राविधिक धारतर्फ जिल्लाका ६ विद्यालयबाट १ सय १६ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । त्यसैगरी, संस्कृत तथा वेदविद्याश्रम धारतर्फ १६ जना विद्यार्थी परीक्षा दिने तयारीमा छन् ।

जिल्लाभर ११ स्थानीय तहमा गरी २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रत्येक केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक वा सहायक प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइने व्यवस्था गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यका अनुसार परीक्षा तयारीलाई तीव्र बनाइएको छ । केन्द्राध्यक्षसँग छलफल, केन्द्रको अनुगमन तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । टाढाका केन्द्रमा उत्तरपुस्तिका पुर्‍याइसकिएको र बाँकी केन्द्रमा क्रमशः पठाइँदैछ ।

जिल्लामा सबैभन्दा धेरै ५ वटा परीक्षा केन्द्र वालिङ नगरपालिकामा छन् भने पुतलीबजारमा ३ वटा केन्द्र तोकिएका छन् । भीरकोट, गल्याङ र चापाकोट नगरपालिकामा २/२ केन्द्र छन् भने कालीगण्डकी गाउँपालिकामा पनि २ केन्द्र छन् । अन्य गाउँपालिकामा भने १/१ केन्द्र राखिएको छ ।

गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी संख्या घटेसँगै परीक्षा केन्द्र पनि घटाइएको छ । अघिल्लो वर्ष ४ हजार ९ सय ९२ विद्यार्थी सहभागी भएकोमा यस वर्ष ७ सय १७ जनाले कमी आएको हो । सोही आधारमा २५ बाट घटाएर २१ वटा मात्रै परीक्षा केन्द्र कायम गरिएको जनाइएको छ ।

कार्यालयका अनुसार न्यूनतम विद्यार्थी संख्या नपुगेका केन्द्रहरू खारेज गरिएका हुन् । यस वर्ष सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन आदर्श मावि, पुतलीबजारमा रहेका छन् भने संस्थागततर्फ पायोनिअर्स मावि, वालिङमा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ