वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

Waling Community School starts banana plantation

स्याङ्जाको वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले वर्षौंदेखि प्रयोगविहीन रहेको जमिनलाई उत्पादनसँग जोड्दै केराखेती सुरु गरेको छ । जिल्लाकै नमुना विद्यालयका रूपमा परिचित यस विद्यालयले करिब १० रोपनी आफ्नै जग्गामा ‘जी नाइन’ जातको केरा रोपेको हो ।

विद्यालयले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, स्याङ्जा प्राविधिक शिक्षालयसँग सहकार्य गर्दै व्यावसायिक उत्पादन कार्यक्रमअन्तर्गत यो खेती सुरु गरेको प्रधानाध्यापक दीपक लम्सालले जानकारी दिए । उनका अनुसार लामो समयदेखि बाँझो रहेको जमिन अब उत्पादनशील बनेको मात्र नभई विद्यार्थीका लागि सिकाइको माध्यमसमेत बनेको छ ।

“अब कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान पढ्ने विद्यार्थीले बारीमै गएर अभ्यास गर्न पाउने भएका छन्,” लम्सालले भने, “पढ्दै कमाउँदै कार्यक्रममार्फत यसलाई अगाडि बढाएका हौं ।”

केराखेतीका लागि कुल ५ लाख ६५ हजार ३ सय रुपैयाँ लागत लागेको छ, जसमा ७५ प्रतिशत रकम कार्यालयले र २५ प्रतिशत विद्यालयले व्यहोरेका छन् । विद्यालयका शिक्षक तथा विद्यार्थीले खेतीको रेखदेख र संरक्षणमा सक्रिय भूमिका खेल्ने जनाइएको छ ।

स्थानीय बजारमा केराको उच्च माग रहेकाले उत्पादन बिक्रीमा समस्या नआउने विश्वास विद्यालयले लिएको छ । साथै, उत्पादित केरालाई विद्यार्थीका लागि दिवा खाजामा प्रयोग गर्ने योजना पनि बनाइएको छ ।

चितवनबाट एक हजार बेर्ना ल्याएर रोपिएको उक्त खेतीका लागि माटो र हावापानी उपयुक्त देखिएकाले यो काम अघि बढाइएको कृषि विषयका शिक्षक गोविन्द गैह्रेले बताए । उनका अनुसार बारीमै आधारित सिकाइले विद्यार्थीको ज्ञान व्यवहारमा उतार्न सहयोग पुग्नेछ ।

विद्यालयसँग प्रशस्त जमिन रहेकाले आगामी दिनमा अन्य बाँझो जमिनसमेत उपयोग गर्ने योजना बनाइएको छ । यसअघि पनि यहाँ तरकारी, च्याउ तथा गड्यौले मल उत्पादनजस्ता गतिविधि सञ्चालन भइसकेका छन् भने अब कागती खेतीको तयारीसमेत भइरहेको छ ।

यसैबीच, केराखेतीको सुरुआतका क्रममा वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारीले ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ