मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

राजनीति

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

पदभार ग्रहणका क्रममा भक्कानिइन्

Sita-Badi-mantri

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन् । उनी सुर्खेत वीरेन्द्रनगर नगरपालिका—११, झुप्रा खोलाकी बासिन्दा हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ दलित कोटाबाट उनलाई सांसद बनाएको हो ।

बालेन शाहको नेतृत्वमा बनेको मन्त्रिपरिषदमा उनले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीको शपथ लिएलगत्तै उनले पनि शुक्रबार मन्त्रीको शपथ लिएकी छिन् ।

वादी पदभार ग्रहणका क्रममा भक्कानिइन्। मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनी भावुक बनेकी हुन्। सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री वादीका आँखा भरिएका थिए। केही समय भक्कानिएकी उनले पछि आफूलाई सम्हाल्दै कर्मचारीहरूको स्वागत ग्रहण गरेकी छिन्।

सीमान्तकृत समुदायबाट मन्त्री बनेकी वादीको यो भिडियो र तस्बिर सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ।

उनको परिवार झुप्राखोला किनारमा बालुवा जम्मा पारेर बेचेर गुजारा गर्थ्यो । उनको बाल्यकाल पनि बालुवा चालेरै बित्यो । हुर्कदै जाँदा उनले आफ्नो समुदायमाथिको विभेद बुझ्दै गइन् ।

सीताका आमाबुवा सरकारी स्कुल पनि पढाउन सक्ने अवस्थामा थिएनन् । “वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ । वादी समुदायका छोरीहरुको अवस्था अन्धकारमय छ,” उनले भनिन् ।

आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनाले भरिएको बताउँदै उनले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झिइन् । करिब १५ वर्ष अगाडी उनी एक गैरसरकारी संस्थाको सहयोगमा घरपरिवार छाडेर काठमाडौं पढ्न आइन् ।

१० कक्षा पास गरेपछि उनले उक्त संस्थामै काम सुरु गरिन् । स्नातक सकेपछि उनी संस्थाबाट बाहिरिइन् । र, स्वतन्त्र रुपले अन्य काममा लागिन् । उक्त संस्थाप्रति उनी सधै कृतज्ञ छिन् ।

एक संस्थाको सहयोगमा उनी काठमाडौंमा एक छात्रावासमा बसेर अध्ययन गर्दै आएकी थिइन् । सामाजिक अभियन्ताका रुपमा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी उनले राजनीतिशास्त्रमा स्नाताकोत्तर गरेकी छिन् ।

दलितभित्रको पनि दलित र अति विपन्न वादी समुदाय भूमि अधिकारबाट पनि वञ्चित छन् । यस समुदायले आफ्नो अधिकार र आत्मसम्मानका लागि पश्चिम नेपालबाट काठमाडौँसम्म आएर महिलाहरूले २०६४ सालमा प्रदर्शनसमेत गरेका थिए ।

वादी महिला यौन पेशामा छन् भन्ने आम समुदायमा रहेको धारणाले उनलाई बिझायो । यस समुदायको आफ्नै अस्तित्व, भाषा, कला रहेको छ भन्ने कुराको प्रचार नभएको उनको बुझाइ छ ।

उनका धेरै सपना छन् । त्यसमध्ये आत्मसम्मानपूर्वक जिउन पाउनु पर्ने हो । गैरसरकारी संस्थाहरूले सहयोग गरेपनि वादी समुदायको बारेमा गतल धारणा स्थापित गरिदिएकोमा उनलाई दुःख लाग्छ । वादी भएकै कारणले धेरैपटक अवहेलना, बेइज्जती र हिंसाको सामना गर्नुपरेको अनुभव उनीसँग छ ।

बुढानीलकण्ठस्थित चुनिखेलमा उनको हस्तकला व्यवसाय छ । ‘वादी सस्टेन मल्टिपर्पोज’ नामक हस्तकला व्यवसायबाट हुने नाफाबाट उनले आफ्नै समुदायका केही बालबालिकालाई पढाउँदै आएकी छिन् ।

महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त वादीले आफ्नो समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताइन् । संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने काम गर्दै आएकी स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्ने बताइन् ।

उनका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उनले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताइन् । समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उनको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उनको योजना छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds