बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेसँगै मौसम प्रतिकूल बन्ने भएको छ। सम्भावित भारीदेखि अति भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले विभिन्न क्षेत्रमा चेतावनी जारी गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
चक्रवातको प्रभावका कारण आगामी शनिबारसम्म देशका विभिन्न भूभागमा वर्षा हुने तथा केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रमा केन्द्रित छ। उक्त मौसमी प्रणाली जमिनतर्फ प्रवेश गर्ने क्रममा रहेकाले त्यसको आंशिक प्रभाव नेपालमा पनि देखिन थालेको हो।
उनका अनुसार नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको छ भने लुम्बिनीका एक–दुई स्थानमा बिहानीपख हल्का वर्षासमेत भएको छ।
चक्रवात जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर बन्दै भारतको आन्तरिक भूभाग हुँदै अघि बढ्ने अनुमान गरिएको छ। आगामी कात्तिक १३ गतेसम्ममा यो प्रणाली नेपाल नजिकको भारतीय भूभाग उत्तर प्रदेश र बिहार आसपास आइपुग्ने महाशाखाको पूर्वानुमान छ। कमजोर अवस्थामा रहे पनि यसको प्रभावले नेपालमा मौसम बदली र वर्षाको सम्भावना बढाएको छ।
सातै प्रदेशमा वर्षाको सम्भावना
महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
भोलिदेखि शनिबारसम्म भने वर्षाको मात्रा र क्षेत्र विस्तार हुने अनुमान गरिएको छ। सातै प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ।
यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले मेघगर्जन, चट्याङ र असिनापानीको जोखिमसमेत रहेको मौसमविद्हरूले बताएका छन्।
हिमाली क्षेत्रमा ‘रेड अलर्ट’, अन्य क्षेत्रमा पनि सतर्कता
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै महाशाखाले आइतबार बिहानसम्मका लागि चेतावनी नक्सा जारी गरेको छ।
चेतावनीअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा रातो रङ अर्थात् ‘रेड अलर्ट’ जारी गरिएको छ। ती क्षेत्रमा सम्भावित विपद्बाट जोगिन आवश्यक तयारी गर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी कोशी प्रदेशका पहाडी क्षेत्र, मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्र, लुम्बिनीका पहाडी तथा पूर्वी तराई क्षेत्र र कर्णाली तथा सुदूरपश्चिमका हिमाली भूभागमा सुन्तला रङ अर्थात् ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ।
अन्य भूभागमा पहेँलो रङमार्फत सचेत रहन आग्रह गरिएको छ।
कृषि र पर्वतारोहणमा सावधानी अपनाउन आग्रह
मौसम प्रतिकूल रहने पूर्वानुमानका कारण कृषि कार्य, पर्वतारोहण तथा अन्य बाहिरी गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ। भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन आग्रह गरिएको छ।
विशेषगरी हिमाली क्षेत्रमा यात्रा तथा पर्वतारोहणको योजना बनाएकाहरूले मौसमको अवस्था बुझेर मात्र अघि बढ्नुपर्नेछ। सम्भावित जोखिम रहेका स्थानमा अनावश्यक यात्रा नगर्न र विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ