लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ

पक्राउ

लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ

bhansar jomsom

तस्बिरः सुशीलबाबु थकाली/रासस

नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।

कोरलानाकाबाट शंकास्पद रूपमा भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को तलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो । कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए ।

शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो । अवैध रूपमा भेप लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप रहेको जनाएको छ । उक्त संख्याका आधारमा दुई वटा ट्रकमा करिब एक लाख २० हजार बढी भेप रहेको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयले हाल स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायको रोहवरमा बरामद गरिएका भेपको परिमाण र अनुमानित मूल्यको भन्सार मुचुल्का गर्ने तयारी गरिहेको जनाएको छ ।

दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

कन्टेनरका चालक लामा र तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । कोरलास्थित स्रोतका अनुसार अवैध रूपमा ल्याइएका दुई वटा कन्टेनर नेपाल–चीन कोरलानाकाको २४ नं सीमास्तम्भ नजिक दुई दिनसम्म शंकास्पद रूपमा रोकिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ