‘विक्रम संवत हाम्रो मौलिक होइन, यही मितिमा पनि २४ दिन ढिला भएका छौं’

‘विक्रम संवत हाम्रो मौलिक होइन, यही मितिमा पनि २४ दिन ढिला भएका छौं’

BS
  • सुनिल उलक

आईतबारबाट बिक्रम सम्वतको नयाँ वर्ष २०७६ लाग्दैछ । धेरैलाई लाग्न सक्छ, यो सम्बत् नै हाम्रो मौलिक र परम्परा देखिचल्दै आएको सम्बत् हो । तर होइन, यो सम्बतको आजको प्रारुपको शुरुवात त चन्द्रशम्शेरले देशमा ज्योतिषहरूको ठूलो सम्मेलन गराई बि.सं. १९६१ मेष संक्रान्तीलाई नयाँ वर्षको शुभारम्भ गराउँदै यसै सम्वतलाई राष्ट्रिय सम्वतको रूपमा स्विकार गर्ने निर्णय गरिएको थियो । सो समय देखि बिक्रम सम्वतले मात्र पूर्ण मान्यता पाउँदै आएको छ ।

बिक्रम सम्बत वास्तवमा भारत उज्जैनका राजा बिक्रमादित्य (वास्तविक नाम राजा बिक्रम) ले शुरुवात गराएका थिए । नेपालमा समय समयका शिलालेख तथा ताम्रपत्रहरुमा बिक्रम सम्वतको उल्लेख भएको भेटिएपनि आधिकारिक रुपमा उपत्यकाका कुनै पनि राज्यले आफ्नै सम्बतको रुपमा बिक्रम सम्वतलाई स्विकारेका थिएनन् ।

नेपालमा शक सम्वत् र नेपाल सम्वतको प्रचलन भने प्रायः भइरहेकै थियो । राणाकालको शुरुबाट नै बिक्रम सम्बत् चलाउन थालिए पनि यसमा धेरै अप्ठेराहरु थिए । चन्द्रमासको आधारमा शुरु गरिएको बिक्रम सम्वतमा चन्द्रमासका शुक्ल पक्षका दिनहरुलाई सुदि १ देखी १५ सम्म तथा कृष्ण पक्षका दिनहरुलाई वदि १ देखी १५ भनिन्थ्यो । जसले गर्दा साल केवल ३६० दिनको हुने गर्दथ्यो । हरेक तिन वर्षमा बन्ने पुरुषोत्तम मासले गर्दा कर्मचारीलाइ १३ महिनाको तलव दिनु पर्ने बाध्यता हुन थाल्यो । जसले गर्दा चन्द्रशम्शेरले देशभरिका प्रमुख ज्योतिषहरुको भेला गराएर सहज निर्णय गर्न लगाए । जसको फलस्वरुप ज्योतिषिय निर्णयलाई सर्वस्विकार्य बनाउदै बिक्रम सम्बतको नयाँ प्रारुप तयार गराए । सूर्यचक्रलाई राशी अनुसार बिभाजन भएकै ज्योतिषिय पद्धति स्विकार्दै बाह्र राशिका बाह्र महिना बिभाजन भए ।

जस अनुसार हरेक सालको पहिलो दिन बैशाख १ गते मेष राशीमा प्रबेश गर्ने दिनबाट गणना गर्ने गरि नवबर्षको घोषणा गर्ने भयो भने महिनाका दिनहरु थपघट हुने गरि मिलाइयो । कार्तिक देखि फागुनसम्मका महिना २९ वा ३० दिन हुने । चैत र बैशाख ३० वा ३१ दिनका हुने । जेठ देखि भदौसम्मका महिना ३१ वा ३२ दिनका हुने र असोज ३० वा ३१ दिनको हुने गरि चन्द्र मासका अप्ठेराहरुलाइ सहज बनाइयो ।

चन्द्रशम्शेरको समयमा बनाइएको बिक्रम सम्बत नै अध्यावधी चलिरहेको छ । तर पनि हामी २४ दिनले ढिला भएका छौँ । केही ज्योतिषहरुको सुझावमा २०६६ सालको चैत्त महिना हटाउने प्रतिवेदन सरकारलाई बुझाइए पनि सो कार्यान्वयन हुन सकेन । अहिले हामी २४ दिन २ घण्टा ढिला छौँ । वास्तवमा हामीले चैत्र ७ गते नै नयाँवर्ष मनाइसक्नु पर्ने थियो ।

इश्वी सम्वतमा पनि आएको यस्तै समस्या निराकरण गर्न पादरी ग्रेगरी जुलियनले सन् १५८२ अक्टोवर ५ लाई १५ बनाइदिएका थिए । यसको बिरोध भए पनि पछि बिस्तारै स्विकार्न थालियो । जसको फलस्वरुप ब्रिटिस सरकारले सन् १७५२ सेप्टेम्वर ३ लाई १४ बनाइदिए । आशा छ नेपालमा ज्योतिषिय गणित बुझ्न सक्ने मन्त्री बनेछन् भने यो समस्याको निराकरण एक दिन अवश्य हुनेछ । त्यतिञ्जेल हामी बुझौँ, हामी २४ दिन ढिला आफ्नो जन्म दिन मनाईरहेका छौँ । २४ दिन ढिला हामीले नयाँ वर्ष मनाईरहेका छौँ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds