तनहुँमा पहिरो : व्यास र म्याग्देका २ जनाको मृत्यु, १० जना बेपत्ता

तनहुँमा पहिरो : व्यास र म्याग्देका २ जनाको मृत्यु, १० जना बेपत्ता

Vyas1

किरण श्रेष्ठ, तनहुँ । रातिदेखी परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा २ जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएका छन । त्यस्तै व्यास-९ माझफाटको पहिरोमा परी ५ जना बेपत्ता भएका छन ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको मृत्यु भएको म्याग्दे-६ का वडाअध्यक्ष बसन थापाले जानकारी दिए । ‘पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएछन्’, वडाध्यक्ष थापाले भने, ‘भाग्न नपाउदै पुरिएर एक जनाको ज्यान गयो ।’

यस्तै, म्याग्दे खोलाले तुरतुरेमा एक घर बगाएको छ । जनजागृती मोटरमार्गको मोटरेवल पुल पनि भासिएको छ । त्यस्तै म्याग्दे–७ घुम्तीमा म्याग्दे र स्याङदे खोलाले त्यहाँका घरहरु डुबानमा परेका छन् भने एउटा मोटरेवल पुल जोखिममा छ । कजवे बगाएको स्थानियले बताएका छन् ।

यसैगरी, व्यास नगरपालिका-९ माझफाटमा पहिरोले पुरिएर एक जना ७० वर्षीया बृद्धाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको व्यास-९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिए ।

त्यस्तै सोही स्थानका अन्य ५ जना भने बेपत्ता रहेको र खोजी हुँदै गरेको वडाअध्यक्ष थापाले बताए । उनले भने ‘दुई वटा घरमा क्षति पुगेको भन्ने खबर आएको छ, म घटनास्थल तिर जादै छु ।’

ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।

पहिरोमा परी घाईते एक जनाको उद्धार गरि उपचारको लागि भिमादतर्फ ल्याइदै छ । राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आनबहादुर थापाको घर बगाएको हो । पहिरोमा परि उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको ऋषिङ प्रहरी चौकीका प्रहरी नायव निरिक्षक क्षेत्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार आन बहादुरका अन्दाजी ३० वर्षका छोरा भेष बहादुर, ३० वर्षिय बुहारी नानुमाया र पाँच वर्षकी नातिनी अमिसासंगै अर्का छोरा २२ बर्षका महादेव र बुहारी मनिसा पनि बेपत्ता भएका छन् । घाइते आन बहादुरकी श्रीमती ५८ बर्षिया ज्योतीलाई उचपारको लागि भिमादतर्फ ल्याईदै छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीको लागि जेसीभी मगाइएको प्रहरी नायव निरिक्षक थापाले जानकारी दिए । ‘घर कहाँनिर थियो भन्ने पनि एकनि गर्न सकिन अवस्था छैन्’, उनले भने, ‘जनप्रतिनिधीसंगै स्थानीयको सहयोगमा खोजी भईरहेको छ ।’

ठाउँ ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध हुदा उद्धारमा समेत समस्या भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । श्रृंग पथको एक दर्जन बढि स्थानमा पहिरो खसेको उनले बताए । भिमादबाट मालेवगरतर्फ जाने बुडुवा खोलामाथिको मोटरेबल पुल समेत जोखिममा रहेको छ ।

शुक्लागण्डकी नगरपालिका ११ जरेबरमा बर खोलाले काठे पुल बगाएको छ ।

भिमाद नगरपालिका ८ जोड्ने उक्त पुल बगाएपछि खोला वारपार गर्न समस्या हुने भएको छ । खोलाले जरेबरको बस्तीतर्फ नदी कटान रोक्न हालिएको जाली ग्याबिन समेत बगाउँदा १० घर जोखिममा परेको स्थानियले जानकारी दिएका छन् ।

त्यस्तै, पृथ्वी राजमार्ग सहित अन्य सडक समेत पहिरोले गर्दा अवरुद्ध भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । खोला र नदिमा पानीको बहाब बढेको छ । तनहुँको सेती, मादी, बुल्दी, चुदी लगाएतमा पानी अहिलेसम्म कै उच्च भएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ