भारतीय पक्षबाट आएको पत्रको कडा जवाफ नेपालले पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको भन्दै पत्र पठाएको छ । जुलाई १४ मा भारतको उत्तराखण्ड राज्यको धारचुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ फर्काउँदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट नै भएको बताउँदै ती भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको प्रतिक्रिया दिएको हो ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ, ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली(महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ ।’
पत्रमा अगाडि लेखिएको छ, ‘ती नेपाली भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशानुसार गराउन चाहन्छु ।’

भारतका तर्फबाट उपजिल्ला अधिकारीले नेपालको दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रको उत्तर सोहि तहका सहायक प्रमुख जिल्ला अधिकारीले नै फर्काएका छन् ।
भारतीय पक्ष भन्छः हाम्रो क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागे
गत जुलाई १४ मा धारचुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतीय क्षेत्र भन्दै यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको पाएको उल्लेख गरी यसबारे सूचना दिन नेपाली पक्षलाई आग्रह गरेका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधिकारीले ’नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका थिए ।

यी समूहले मिडियाको ध्यान आकृष्ट गरी दुवैतिरका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको पनि पत्रमा लेखिएको थियो । भारतले अतिक्रमण गरेका यी क्षेत्रलाई समेटी नेपालले केही समयअघि नयाँ नक्सा प्रकाशित गरिसकेको छ । यी भूभाग समेटिएको नक्साअंकित निसान छाप पनि प्रयोगमा आइसकेको छ ।
भारतले नेपाली भूमि कालापानी र लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो बनाएपछि दुई देशबीच सीमा विवाद बढेको हो ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण