सात अस्पताल चहार्दा चहार्दै अन्तत: गण्डक अस्पतालमा मृत्यु भएकी युवतीमा काेराेना पुष्टि

सात अस्पताल चहार्दा चहार्दै अन्तत: गण्डक अस्पतालमा मृत्यु भएकी युवतीमा काेराेना पुष्टि

birgunj lama

वीरगञ्जमा मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार राति उपचारका क्रममा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार ती युवतीको शुक्रबार राति सवा १ बजे मृत्यु भएको थियो। मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो। श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि गण्डक अस्पताल भर्ना गरिएको थियो।

वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए । वीरगन्जका ७ वटा अस्पताल चहार्दा कुनैले पनि उनलाई भर्ना लिन मानेनन् । दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएकी उनलाई अक्सिजन पाइप लगाइदिन अस्पतालसँग अनुरोध गर्दा पनि कसैले नमानेको उनकी भाउजूले गुनासो गरिन् । उनको ज्वरो बिहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । चार वर्षीया छोरीसहित वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति करिब ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्‍याइयो ।

‘त्यहाँ भर्ना लिन नमानेपछि बहिनीलाई नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लग्यौं,’ विष्णुकी भाउजू अञ्जु तामाङले भनिन्, ‘अस्पतालले भर्ना नलिएपछि रिक्सामा गण्डक नजिकैको नारायणी बयोधा अस्पताल पुग्यौं । बयोधाले पनि भर्ना लिएन ।’ बयोधामा भर्ना नलिएपछि तराई हस्पिटल हुँदै नेशनल मेडिकल कलेजसम्म पुगेको अञ्जुले बताइन् । उनका अनुसार सुरुमा नेशनलका स्वास्थ्यकर्मीले बेड खाली भएको जानकारी दिएका थिए ।

‘बिरामीमा ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि बेड त के भुइँमा पनि ठाउँ खाली नभएको भन्दै फर्काए,’ उनले भनिन्, ‘पछि नारायणी अस्पताल लग्यौं, आकस्मिक कक्षमा रहेका चिकित्सकले कोरोनासँग मिल्दो लक्षण देखिएकाले कोरोना अस्पताल लैजान सुझाए ।’ त्यसपछि हालै नारायणी अस्थायी कोरोना अस्पतालका रूपमा सञ्चालित वीरगन्ज हेल्थ केयर पुर्‍याउँदा त्यहाँ पनि भर्ना नलिएको उनले बताइन् । ‘कोरोना अस्पतालमा संक्रमण पुष्टि भएकाको मात्र उपचार हुने गरेको भनेपछि फेरि नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लिएर गयौं ।’

फेरि बिरामी लगेपछि भने अस्पताल भर्ना गर्न तयार भयो तर जब रिक्साबाट विष्णुलाई अस्पतालको स्ट्रेचरमा राख्न थालियो तब उनको सास गइसकेको थियो । ‘११ देखि २ बजेसम्म वीरगन्जका सबै निजी अस्पताल पुग्यौं, कसैले भर्ना गरेनन्,’ अञ्जुले भनिन्, ‘कम्तीमा अक्सिजनको पाइप त लगाइदिनुस् भन्दा पनि चिकित्सक छैनन् भने । उपचारै नपाई बहिनी बितिन् ।’ बिरामी लिएर सातवटा अस्पतालमा चक्कर लगाउँदा पनि अस्पताल र चिकित्सकको लापरबाहीले उपचार नपाई दिदीको ज्यान गएको उनले गुनासो गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ