पर्यटक बढेसंगै मानहुँकोटमा फोहोरको थुप्रो, घुम्न जानेले फोहोर व्यवस्थापन नगर्दा समस्या(फोटो सहित)

पर्यटक बढेसंगै मानहुँकोटमा फोहोरको थुप्रो, घुम्न जानेले फोहोर व्यवस्थापन नगर्दा समस्या(फोटो सहित)

Manahunkot Fohor Mainp

किरण श्रेष्ठ, तनहुँ । पर्यटक बढेसंगै मानहुँकोटमा फोहोर समेत बढेको छ । दैनिक सयौको संख्यामा आन्तरिक पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको मानहुँकोटमा दैनिक जाने पर्यटकले आफुले लागेको खानेकुराबाट निस्कने फोहोर व्यवस्थापन नगर्दा फोहोरको थुप्रो बढ्न थालेको हो ।

सूर्योदय, बादलले ढाकिएको सुन्दर दृश्य र हिमाल हेर्नको लागि मानहुँकोटमा आउने क्रम पछिल्लो दिनमा बढिरहेको छ ।

दिँउसो घुम्न जाने तथा जाडो महिना सुरु भएसंगै रात्रि बसाई (क्याम फायर)का लागि मानुङकोटमा बस्ने समुहले लैजाने खानेकुरामा निस्कने गरेको प्लास्टिक जन्य, सिसाका बोतल लगाएतका फोहोरको थुप्रो देखिने गरेको छ ।

आफुले लागेको सामग्रीबाट निस्कने फोहोरको उचित व्यवस्थापन नगरिदिदा मानहुँकोटमा फोहोरको थुप्रो थुप्रिन थालेको छ ।

पछिल्लो समय सामाजिक संजाल फेसबुक, टिकटक, युटुबदेखि विभिन्न माध्यमबाट मानहुँकोटको प्रचारप्रसार भईरहेको छ । मानहुँकोटमा पर्यटकको भिड लागेको छ ।

मानहुँकोटबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिने भएकाले यस क्षेत्रमा विशेषगरी बिहान र साँझ पर्यटकको भिड लाग्ने गरेको छ ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ ।

मानहुँकोटबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

दमौलीबाट करीब ८ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।

सदरमुकाम दमौलीबाट नजिकै रहेर पनि ओझेलमा पर्दैआएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षण बन्दै गएको छ । अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिँड्नुपर्दैन ।

मानहुँकोट सरसफाई

सोमबार बिहान व्यास-४ दमौलीमा रहेको व्यास युथ क्लबले मानहुँकोटमा सरसफाइ गरेको छ । मानहुँकोट सफा र सुन्दर बनाईराख्न सरसफाई गरिएको क्लबले जनाएको छ ।

यसअघि पनि विभिन्न संघसस्थाहरुले पटकपटक सरसफाई गर्दै आएका छन् । सरसफाई गरेको केहि दिन भित्रै पुन: फोहोरको थुप्रो हुने गरेको छ । त्यसैले आफुले गरेको फोहोर घुम्न/बस्न जाने आफैले व्यवस्थापन गरे मानहुँकोट सधै सफा रहन्थ्यो ।

मानहुँकोटबाट के के देखिन्छ ?

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ ।

मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन छैन ।

कसरी पुग्ने ?

तनहुँको सदरमुकाम दमौली बजारबाट पृथ्वी राजमार्ग हुँदै पोखरा जाने क्रममा व्यास नगरपालिका-५ चापाघाट आउँछ । चापाघाट हुँदै मानहुँकोट पुग्न सवारी साधानमा २० देखि २५ मिनेट समय लाग्छ ।

मानुङकोट पुग्न दमौलीबाट जीप पनि पाईन्छ । दमौलीदेखि करिब ८ किलोमिटरको दुरीमा रहेको मानहुँकोटको सडक १.५ किलोमिटर कालोपत्रे र बाँकी कच्ची रहेको छ ।

सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करीब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडी बढाउन लागिएको व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले बताए । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds