पुलमाथि राजनीति ! शक्ति प्रदर्शनका साथ काँग्रेस बुल्दी पुल उद्घाटन गर्न पुग्यो

पुलमाथि राजनीति ! शक्ति प्रदर्शनका साथ काँग्रेस बुल्दी पुल उद्घाटन गर्न पुग्यो

cogress tanahu

तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन राजनीतिक प्रतिष्ठाको लडाईं बनेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकै हातबाट तनहुँ काँग्रसले पुल उद्घाटन गर्ने अडान लिँदा हिजो पृथ्वीराजमार्ग नै तनहुँ सडकखण्डमा रणभूमि झैं बन्यो । निषेधाज्ञा जारी भयो । टायर बले, अश्रुग्याँस खाए, ढुंगा हानाहान भयो । प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई नै पक्राउ गर्यो ।

पुलिसको डण्डाबाट पेलिएर करङ दुख्यो भनेका पौडेल अहिले आफै भिडको नेतृत्व लिएर पार्टी कार्यालय ब्यास ३ बाट पुलतर्फ अघि बढेका छन् ।

हजारौं काँग्रेसीजन सहभागी छन् । प्रशासनलाई सुरक्षा कायम राख्न हम्मे हम्मे परेको छ । हिजो नेकपा निकट युवा संघका कार्यकर्ता सांसद किसान श्रेष्ठकै हातबाट उद्घाटन हुनुपर्छ भन्दै पौडेललाई रोक्न पुगेको थियो । त्यसैकारण पनि विवाद उत्कर्षमा पुगेको हो ।

विधि र नियमकानुन मिचेर पुल उद्घाटन गर्न लागेको भन्दै युवा संघको विरोध र जसरी पनि पुल उद्घाटन गर्ने पौडेल नेतृत्वको कांग्रेसको हठका कारण बुधबार व्यास नगर तनावग्रस्त बन्न पुगेको थियो । प्रशासनले पनि तत्काल पुल उद्घाटनको कार्यक्रम रोक्न पत्र काटे पनि कांग्रेसले उद्घाटनको कार्यक्रम अगाडि बढाएपछि विरोधमा उत्रिएको युवा संघबीच झडप नै हुन सक्ने भन्दै प्रशासनको निषेधाज्ञा जारी गरेको थियो ।

पौडेल नेतृत्वको कांग्रेसले निषेधाज्ञा तोडेपछि अवस्था झन बिथोलिएको थियो । पौडेलसहित केही नेताहरु प्रहरीले प्रक्राउ गरी निषेधाज्ञाको समय सकिएपछि रिहा भएका थिए ।

वरिष्ठ नेता पौडेलसहित स्थानिय नेताहरुमाथि सरकारले अधिनायकवादी शैलीमा धरपकड र दमन गरेको भन्दै विरोधमा ११ बजे विशाल प्रदर्शन गरे र त्यही जुलुससहित हिजो अधुरो रहेको पुल उद्घाटन सपना अहिले पूरा गर्ने तयारी कांग्रेसको छ ।

कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारी, प्रदीप पौडेल, ध्रुव वाग्ले लगायत काठमाडौंबाट दमौली आएका छन् ।

संघीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) नै हुन् चुनावमा रामचन्द्र पौडेललाई हराएका । उनी अहिले काठमाण्डौ छन् । त्यसैकारण पनि नेकपा नरम बन्न पुगेको छ । नत्र किसानले यहीँ प्रतिष्ठाका लडाईंका रुपमा लिएर अघि बढेको भए झनै स्थिति खराब बन्ने आँकलन स्थानियलाई छ ।

तत्कालीन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत बुल्दीखोलामा २०७३ वैशाखमा पुल निर्माणको काम सुरु भएको थियो । दुई करोड ५४ लाख रुपैयाँ लागतमा २०७५ कात्तिकमा पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज छ । तर पुल बनेको दुई वर्षपछि एकाएक राजनीतिक विवादको विषय बन्न पुगेको छ ।

अघिल्लो दिन मंगलबार नै कांग्रेस वरिष्ठ नेता पौडेलले सेती नदीमाथिको सुँडे पुलको उद्घाटन गरेका थिए । १० करोड लागतमा वैशाखमा निर्माण सम्पन्न भएको पुल पौडेलले उद्घाटन गरेपछि संघीय सरकारको समन्वयबिना पुल उद्घाटन कार्यक्रम राखिएको भन्दै सांसद श्रेष्ठ किसानले जसरी पनि कार्यक्रम रोक्न सिडिओलाई भनेका थिए । त्यसपछि निषेधाज्ञा जारी गर्नेसम्मको अवस्थामा प्रमुख जिल्ला अधिकारी सागर आचार्य पुगे ।

तर, व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने पनि पौडेल समूहका छन् । त्यसैले विकास निर्माणको उद्घाटन गरी पौडेललाई जनतासँग पुनः जोड्ने मनसाय पौडेल निकट काँग्रेसहरुको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ