कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित छैन : कांग्रेस नेता पौडेल

कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित छैन : कांग्रेस नेता पौडेल

Ram chandra Paudel Buldipul

तनहुँ । कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित नभएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको दाबी छ । उनले भने ‘लोकतन्त्र सुरक्षित गर्ने आन्दोलनको सुरुवात भएको छ ।’

बिहिबार व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

दुई तिहाइको सरकारको क्रियाकलापले मुलुकको लोकतन्त्र लज्जित भएको नेपाली कांग्रेसका नेता पौडेलले बताए ।

कांग्रेस नेता पौडेलले शक्ति प्रदर्शन गर्दै बुल्दी खोला पुल उद्घाटन गरेको हो । नेता पौडेलले कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराई, आमन्त्रित केन्द्रिय सदस्य धुर्व वाग्लेसहित हजारौ कार्यकर्ताका बीच पुल उद्घाटन गरेका हुन् ।

सरकारको निर्देशनमा आफु र आफ्नो पार्टिका नेतामाथी भएको धरपकडले नागरिक अधिकारमाथि कम्युनिष्ट सरकारको नाङ्गो हस्तक्षेप भएको नेता पौडेलले बताए ।

हिजो निषेधाज्ञा गर्ने प्रशासन आज शीर निहुर्‍याएर लज्जित भएर हिँडेको नेता पौडेलले बताए । कम्युनिस्ट सरकारका नाममा भएको हिजोको घटनाले लोकतन्त्र र गणतन्त्र नै लज्जित भएको पौडेलको भनाइ थियो ।

‘पुलिसको डण्डाले करङ पेलेका कारण हिजो दिउँसोभन्दा साँझ र साँझभन्दा आज बढी दुखेको नेता पौडेलले बताए । देशमा लोकतन्त्र आइसकेपछि पनि डण्डाको पेलान सहनु परेकाले लोकतन्त्र साकार पार्नै बाँकी रहेको पौडेलले बताए ।

प्रजातन्त्रवादीहरु सडकमा उत्रिएर आन्दोलित हुन पुगेका छन्,’ पौडेलले भने, ‘अबको आन्दोलनले ठूला माछाहरु संरक्षण गर्ने र साना माछा खाँदै हिँड्ने अख्तियारका विरुद्ध पनि हुन्छ ।’

स्थानीय तह आइसकेपछि निर्वाचन क्षेत्रमा बजेट दिन आवश्यक नै नभएको बताउँदै उनले केपी ओलीले षड्यन्त्र गरेको बताए । संसद कोषले संघीयता र स्थानीय तहको अधिकारलाई एकातिर पन्छाएको पौडेलले बताए । सुँडेको पुल आफ्नै पहलमा बनेको र उद्घाटन गरेको बताउँदै नेता पौडेलले तनहुँबाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’लाई मास्दीमा पुल बनाएर देखाउन चुनौती दिए । उनले भने ‘त्यहाँ पुल बनाए सिधै देवघाट पुग्न सकिन्छ ।’

पौडेल बिहीबार कांग्रेसका हजारौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।

बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई जिल्ला छोड्न भन्दै नारा लगाएका थिए ।

नेपाली कांग्रेस फेरि सरकारमा आउछ : केन्द्रीय सदस्य भण्डारी

नेपाली कांग्रेस फेरी सरकारमा आउने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बताए । उनले भने ‘भोलि नेपाली कांग्रेस फेरि सरकारमा आउनेछ ।’

उनि अगाडी थपछन् ‘यो कुरा प्रशासन र कर्मचारीले बिर्सनु हुदैन ।’ तरुण दलले गृह सचिवको तीन पुस्ते विवरण राखेको केन्द्रिय सदस्य भण्डारीले बताए ।

त्यस्तै कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो साथ रहेको भन्दै पार्टीको नेतृत्व गर्न भण्डारीले नेता पौडेललाई आग्रह गरे ।

अब सीडीओलाई तनहुँ बस्ने अधिकार छैन : प्रदीप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँका सीडीओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिएका छन् ।

केन्द्रिय सदस्य पौडेलले इदि अमिन र प्रधानमन्त्री केपी ओलीमा कुनै फरक नभएको बताएका छन् । तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले ओलीले संविधान कानुन सबै आफै हुँ भन्ने अहम् देखाउन थालेको भन्दै इदि अमिन र उनीमा कुनै फरक नभएको बताए ।

सीडीओ आचार्यसँग सीडीओ हुने योग्यता नपुगेको आरोप लगाउँदै पाैडेलले भने, ‘सीडीओ साव अब तनहुँमा नबस्नुहोला । रामचन्द्र पौडेल जत्तिको मान्छेलाई मैले पुल उद्घाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन । हिजो पुल उद्घाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको ? जनसागर देखेर डराउनुुभयो । त्यसैले तपाईसँग सीडीओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’
उनले तनहुँका सांसद किसान श्रेष्ठ पञ्चायत र गणतन्त्रमा पनि नलडेको व्यक्ति भएकाे दावी गरे ।

त्यस्तै केन्द्रीय सदस्य गोविन्द भट्टराईले एउटा पुल उद्घाटन गर्न खोज्दा निषेधाज्ञा गरेर निषेधाज्ञा भन्ने शब्दकै ठूलो बेइज्जत भएको बताए । कम्युनिस्टसँग लड्नैपर्ने भएकाले कांग्रेससँग लड्नुको विकल्प नभएको नेता भट्टराईको भनाइ छ ।

यसो भन्छन उपभोक्ता समितका अध्यक्ष अधिकारी

गत मङ्सिर १५ गते सोमबार बसेको उपभोक्ता समितीको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा बुल्दी खोला मोटरेबल पुल उद्घाटन गर्ने सर्वसम्मत निर्णय गरेको तालघरे दुम्सीचौर पोख्रेलफाट मार्ग उपभोक्ता समितिका अध्यक्ष खड्क बहादुर अधिकारीले बताए ।
‘समितिमा नेकपा निटक ५ जना र कांग्रेस निटक ६ जना छौं । अध्यक्ष अधिकारीले भने ‘अस्ति बैठकले सर्वसम्मत निर्णय भएको थियो ।’

बुधबार भएको झडपको विषयमा आफु अनविज्ञ रहेको अध्यक्ष अधिकारी बताउछन । उनले भने ‘म त अचम्ममा परे, हाम्रो नेतालाई ल्याएर पुल उद्घाटन गर्छु भन्दा निषेधाज्ञा पो भन्छन ।’

बुधबार झडप हुन सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । ‘पूर्वाधार विकास कार्यालयले पुल उद्घाटन स्थगित गर्न अनुरोध गरेको थियो’ साहायक प्रजिअ बरालले भने ‘बुधबार उपभोक्ता समितिलाई पत्र काटिएको थियो।’

‘आज भने उद्घाटन कार्यक्रम रोक्न आदेश नआएको हुँदा अवरोध गरिएन ।’ सहायक प्रजिअ बरालले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ