बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा अभियुक्त दिनेश घट्टका बुवाले एक महिनापछि आएर विवादस्पद कुरा बाहिर ल्याएका छन् । अभियुक्त दिनेश भट्टका बुवाले छोरालाई जबरजस्ती हत्या स्वीकार गर्न लगाइएको र आफ्नो छोरा निर्दोष भएको बताए ।
सुधार गृहमा रहेका छोरालाई भेटेपछि उनका बुवा दीपकले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै बलात्कार र हत्या नगरेको दाबी गरेका हुन्। शुक्रबार आफ्ना काका शंकर भट्टलाई फोनमा अभियुक्तले यस्तो भनेपछि, बुवासहितका आफन्त शनिबार सुधार गृह गएका थिए।
‘भागरथीको हत्या र बलात्कार गर्ने व्यक्ति मैंले चिनेको छु, विद्यालयबाट आउने बेला मैले बलात्कार गरिरहेको देखे। छोराको भनाइ उद्धृत गर्दै दीपकले भने, ‘कसैलाई भनिस् भने तेरा बुवा र भाइलाई पनि मारिदिन्छु भन्दै चक्कु देखाएर धम्की दिएपछि अपराध स्वीकारेको हुँ।’
यसअघि अभियुक्त किशोरले प्रहरी, सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधीशलाई दिएको बयानका बेला दीपक पनि सँगै थिए। त्यतिबेला उनले बुवाकै सामुन्ने भागरथीको हत्या र बलात्कार आफैंले गरेको बयान दिएका थिए। हत्या र बलात्कारमा वडा कार्यालयका कर्मचारी संलग्न रहेका भन्दै नामै किटेर पत्रकार सम्मेलनमा बताए।
उनले भनेका छन्, ‘मेरो छोरा निर्दोष छ । उसलाई स्थानीय वडाका कर्मचारीले घाँटीमा चक्कु राखेर आफू र बुवालाई समेत मारिदिने धम्की दिएको र अपराध स्वीकार गर्न भनेकाले डरले उसले अपराध मैले गरेको हो भनेको रहेछ । तर सुधार केन्द्रमा ल्याइसकेपछि उसले ३ जना बडीगार्ड (प्रहरी कर्मचारी)का सामुन्ने घटनामा आफ्नो संलग्नता नभएको बताएको छ ।’
‘उसले (छोराले) एकजना वडा कार्यालयका कर्मचारीलाई चिने भन्छ, अर्को दारी पालेको तर मास्क लगाएको हुनाले चिनिन भन्छ’, उनले भने। भागरथी हत्यापछि दीपक बैतडीको दोगडाकेदार गाउँपालिका–७ बाट कञ्चनपुरको महेन्द्रनगरस्थित भाइको घरमा सरेका छन्। छोराको सुरक्षा सुनिश्चित गरेर फेरि घटनाको अनुसन्धान हुनुपर्ने दीपकको भनाइ छ।
आफ्नो छोरालाई धम्काएको कल रेकर्डसमेत भएको दाबी गरेपनि पत्रकारले सुनौँ न त भन्दा अहिले सुनाउन नमिल्ने बताए । ‘ती व्यक्ति को हुन् त रु’ भनेर पत्रकारले बारम्बार प्रश्न गरेपनि आफ्नो सुरक्षाको ग्यारेन्टी भएपछि मात्रै उक्त व्यक्तिबारे बोल्ने बताए । यद्यपि उनले पटकपटक स्थानीय वडाकै कर्मचारी हो भन्न चाहिँ छुटाएनन् ।
तर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी भने अब बयान फेर्नुको कुनै औचित्य नरहेको बताउँछन्। ‘प्रहरीको अनुसन्धान सकिएर मुद्दा जिल्ला अदालतमा विचाराधीन छ, अब सबै कुरा अदालतको हातमा हुन्छ’, उनले भने।
प्रहरी अधिकारीहरुले त्यसलाई ‘सामान्य आत्मसन्तुष्टि मात्रै हो’ भन्ने जवाफ दिएका छन् । ती अधिकारीले भने, ‘परिवारका सदस्यले छोरालाई जोगाउन खोज्नुलाई अन्यथा भन्न मिल्दैन । किनभने परिवारमा केही गर्न सक्ने व्यक्ति ऊ मात्रै थियो । तर ऊ पनि अपराधमा मुछिएपछि परिवारमा परेको चोटलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसबाहेक केही व्यक्ति वा समूह ती परिवारलाई उचालेर राजनीतिक र सामाजिक लाभ लिन खोज्ने पनि हुनसक्छन् । त्यसकारण त्यसलाई सामान्य ढङ्गले बुझ्नुपर्छ । तर यो विषय अदालतमा पुगिसकेको कारण मैले थप केही बताउन मिल्दैन ।’
अभियुक्त यतिबेला दिपायलस्थित बाल सुधार गृहमा छन् । अभियुक्तले आफ्नै बुवाको अगाडि जिल्ला न्यायाधीशसमक्ष गरेको बयानमा पनि बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए । यो मुद्दा अहिले जिल्ला अदालत बैतडीमा विचाराधीन अवस्थामै रहेको छ ।

सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण