नेकपा एमालेको खनाल–नेपाल समूहले दुई नेतामाथि भएको कारबाही नमान्ने निर्णय गरेको छ । आज बसेको यो समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टीमा समानान्तर गतिविधिलाई कायमै राख्ने, तर अलग पार्टी नबनाउने निर्णय गरेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने यो समूहको निष्कर्ष छ ।
अध्यक्ष ओलीले सोमबार मात्र नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसको भोलिपल्ट मंगलबार बसेको नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ । ‘यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरितको कार्यको हामी भर्त्सना गर्दर्छौं ।’
अध्यक्ष ओली आफैं पार्टी विधान विपरित चलेको भन्दै नेपाल समूहले उनले गरेको कारबाही नमान्ने बताएको छ । ‘हामी उहाँले जतिसुकै मान्छेलाई कारबाही गरेपनि त्यो हामी मान्दैनौं । किनकी उहाँले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले भनेका छन् ।
आफूहरुको सांगठनिक र वैचारिक गतिविधि विना रोकटोक कायम रहने उनले जानकारी दिए । यद्यपि नयाँ पार्टी नबनाउने ज्ञवालीले प्रष्ट पारेका छन् ।
‘सांगठनिक जीवनमा अलगअगग ढंगले क्रियाकलाप अगाडि बढेका छन् । तर त्यो फुटको तहसम्म पुगेको छैन,’ उनले भने, ‘भविष्यमा के हुन्छ भन्ने केपी ओलीजीका क्रियाकलापमा भरपर्छ ।’

सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने