बहुमतीय सरकार गठनको समय घर्किंदै: ओली र नेपालबीच भेटवार्ता जारी, प्रचण्ड र देउवा पनि छलफलमा, महन्थले आफ्ना सांसद रिसोर्टमा लगे

बहुमतीय सरकार गठनको समय घर्किंदै: ओली र नेपालबीच भेटवार्ता जारी, प्रचण्ड र देउवा पनि छलफलमा, महन्थले आफ्ना सांसद रिसोर्टमा लगे

kp madhav

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्न दिएको समयावधि सकिनैलाग्दा राजनीतिक भेटवार्ता तीब्र भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न दिएको समयावधि बिहीवार राति ९ बजे सकिँदैछ । बहुमतीय सरकार गठनका लागि पहल भए पनि हालसम्म नयाँ सरकार गठनमा सहमति जुट्न सकेको छैन ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठस्थित एक व्यपारीको घरमा वार्ता भइरहेको छ । यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठ पुगेका छन् ।

क्याप्टेन रामेश्वर थापाको घरमा ओली-नेपाल वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। मिडिया उद्यमी एवम् सिम्रिक एयरका मालिक समेत रहेका क्याप्टेन रामेश्वर थापाको चपली हाइटस्थित घरमा ओली-नेपाल वार्ता केही बेरअघि सुरु भएको हो। दुई नेताबीच वार्ता सुरु भएको पुष्टि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका छन्।

नेकपा एमालेको आजै बालुवाटारमा बसेको स्थायी कमिटीको बैठक माधव नेपालसहित चार नेतामाथि गत चैतमा गरेको कारबाही फुकुवा गरेपछि दुई नेताबीच वार्ता सुरु भएको हो।

ओली पक्षले लचिलो भएको संकेत गरेपछि नेपाल पक्षमाथि दबाब परेको छ। नेपाल पक्ष ओली पक्ष २०७५ जेठ २ मा फर्किन तयार नभएको अवस्थामा आजै ४ बजे आफ्ना सांसदहरुलाई राजीनामा गराएर विपक्षी दललाई बहुमत पुर्‍याइदिने योजनामा छ।

बालुवाटारको निर्णयलाई लिएर माधव पक्षमा पनि विवाद भइरहेको छ। भीम रावल र रघुजी पन्तसहितका नेता जेठ २ मा नफर्केसम्म सम्झौता नहुने पक्षमा छन् भने गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डेहरूले यसलाई सकारात्मक भनेका छन्। उनीहरुले अब वार्ताबाट सहमतिमा पुग्नुपर्ने मत राखेका छन्।

गत फागुन २३ मा नेकपा खारेज गर्दै सर्वोच्च अदालतले साविककै एमाले र माओवादी फर्काइदिएको थियो। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिएपछि एमालेमा देखिएको विवाद मिलाउन ओली-नेपालबीच भएको चौथो वार्ता हो।

यसअघि दुई नेताबीच चैत २ गते धुम्बाराहीस्थित पार्टी कार्यालयमा र वैशाख ७ र ९ गते नागपोखरीस्थित होटल मेरियटमा वार्ता भएको थियो। तर ती तीनवटा वार्ताबाट नेताहरुले सहमति जुटाउन सकेका थिएनन्।

देउवा निवास बूढानीलकण्ठमा प्रचण्ड

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुगेका छन् । उनी केहीबेर अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटन् उनको निवासमा पुगेका हुन् । भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागि रहेको स्रोतले जानकारी दियो ।

नेताहरुले भेटवार्ता तीव्र पारेका छन् । बिहानमात्रै देउवा निवासमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो पुगेका थिए ।

महन्थ ठाकुर पक्षका १६ सांसदहरु भक्तपुरको एक रिसोर्टमा

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतको सरकार बनाउन दिएको समयसीमा सकिन केही घन्टामात्र बाँकी छँदा जनता समाजवादी दलका महन्थ ठाकुर पक्षीय सांसदहरु बिहीबार भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।

सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका १६ सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्ट पुर्‍याएका हुन्।

रिसोर्टमा पुगेका एक सांसदले नाम उल्लेख नगर्ने गरी देशसञ्चारसँग भने, ‘हामी अहिले यो रिसोर्टमा आइपुगेका छौँ, खाना खाँदै छौँ, अब छलफल गर्छौँ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कम्मर कसेर लागेका छन्। यद्यपि जनता समाजवादी दल सरकार निर्माणमा महत्त्वपूर्ण कारक बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds